Logo
|
Thursday 16th January 2025
Logo

epaper

मोतीविन्दुबाट हुने अन्धोपन विरुद्ध लड्न डा.सन्दुक रुइत र तेज कोहलीबीच सहकार्य

दुई वर्षमा करिव डेढ लाख मोतिविन्दु शल्यक्रिया गर्ने लक्ष्य



जनस्वस्थ्य सरोकार, काठमाडौं । विश्वको अति विपन्न समूदायमा व्याप्त उपचारको भेदलाई अन्त्य गरी अन्धोपन हटाउन तेज कोहली एण्ड रुइत फाउण्डेसन शुरु गरिएको छ । यस सहकार्यले वरिष्ठ आँखा विशेषज्ञ डा.सन्दुक रुइत र तेज कोहलीको लामो समयदेखिको उपचार गर्न सकिने अन्धोपन हटाउने अभियानलाई एकै ठाउँमा ल्याउनेछ । आज राजधानीमा आयोजित कार्यक्रममा डा. रुइत र तेज कोहलीबीच सहकार्यका लागि सम्झौतामा हस्ताक्षर भएको छ ।


फाउण्डेसनले डा.रुइत तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक विशेषज्ञता र कोहलीको विश्वव्यापी जनस्तर परियोजनाहरुको अनुभवलाई जोड्नेछ ।

डा.सन्दुक रुइत भन्नुहुन्छ—‘हामीले उपलब्ध गराउने सबैको पहुँचमा पुग्ने उपचारहरुको लागि विश्वमा ठूलो आवश्यकता रहेको छ । हामीसँग विशेषज्ञता, श्रोतहरु र उत्साह हुनेछ जसले यस समस्यालाई पूर्णरुपले नयाँ मापनसँग समाधान गर्नेछ । तेज कोहली र मेरो लागि यसमा सफलता हामीले कल्पना गरेर भन्दा ठूलो कुरा हाँसिल गर्नु हो । हामीले अहिल्यै नेपालमा वार्षिक ३० हजार र भारत लगायत दक्षिण एशियामा गरी ८० हजार बिरामीको शल्यक्रिया गर्ने व्यवस्था मिलाउने प्रण गरिसकेका छौँ ।’


फाउण्डेसनले आफ्नो पहिलो दुई वर्षमा करिव डेढ लाख मोतिविन्दु शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । यस कार्यको शुरुवातको रुपमा नेपालको लुम्बिनी, सोलुखुम्बु, गेटा आँखा अस्पताल धनगढी, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, राप्ती आँख अस्पताल दाङ्ग, फत्तेवाल आँखा अस्पताल वाँके, जानकी आँखा अस्पताल जनकपुर, सुर्खेत आँखा अस्पताल सुर्खेत गरी ६ ठाउँमा करिव २ हजार शल्यक्रिया सम्पन्न भइसकेको छ ।


‘यसको प्रभावकारीता मापन गर्नका लागि यी स्थानमा शल्यकृया लगायत नेत्ररोग विशेषज्ञ, नेत्र सहायक तथा प्राविधिक टोली लाई आवश्यक तालिम प्रदान गरी फाउन्डेशनको पाइलट प्रोजेक्टको विभिन्न आयाममा हामी भविष्यको दक्षता अभिवृद्धिको रुपमा समेत अध्ययन गरिरहका छौं ।’—डा.रुइत भन्नुहुन्छ—‘नेपालका साथै उत्तरी भारत, इन्डोनेसिया, म्यानमार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवाण्डा, तान्जानिया, लेवनान, भुटान, इराक, घाना, इथियोपिया, कम्वोडिया, नाइजेरिया र सिरिया लगायतका देशहरुमा शल्यक्रिया सञ्चालन गर्ने योजना रहेको छ ।

यद्यपी स्थानीय समुदायमा हजारौ विपन्नको उपचार गरी पुर्नज्योती प्रदान गर्नु फाउण्डेसनको लक्ष्य हो ।   यसका लागि फाउन्डेशनले विभिन्न संस्थाहरुसँग सहकार्य गर्नेछ ।
हरेक शल्यक्रियाले स्थानीय रुपमा पार्ने सामाजिक र आर्थिक प्रभावको आधारमा स्थानीय प्राविधिकहरुलाई प्रशिक्षण दिएर  स्थायी सामुदायिक आँखा अस्पतालको सञ्जाल विस्तार गरिने लक्ष्य लिएको छ । 

विश्वव्यापी चरम गरिबी निवारणको कमीले विश्वको सबैभन्दा गरिव देशहरुमा सरदर आयु र जनसंख्यामा वृद्धि भैरहेको छ । यद्यपी यसको अर्थ यो पनि हो कि उपचार नगरिएका मोतिविन्दुको संख्या एकदम छिटो बढिरहेको छ । अन्धोपनको प्रमुख कारण मोतिविन्दु हो । विश्वको कुल जनसंख्यामध्ये नौ करोडमा मोतिविन्दुको समस्या देखिएकोमा करिब एकतिहाइको मात्र शल्यक्रियामा पहुँच छ ।


करिव दुइ तिहाइ पहुँच नभएका मानिसहरु न्युन आय भएका देशहरुमा बसोवास गर्दछन् । मोतिविन्दुका कारण गम्भिर आर्थिक, मानसिक र सामाजिक समस्या निम्त्याउँछ । सानो समुदाय मात्र शल्यक्रिया गर्न सक्षम छन् किनकि ठूलो समुदायमा उपचारको लागि पहुँच वा स्वास्थ्य सेवा सम्बन्धी जानकारी नै छैन ।
तेज कोहली भन्नुहुन्छ—‘जब तपाईले कसैलाई पुनःदृष्टि दिनुहुन्छ, उनीहरुलाई दोश्रो जीवन प्रदान गर्नुहुन्छ । उनीहरु आर्थिक रुपमा सक्रिय हुन सक्छन् । आनन्द लिन सक्छन् र आफ्नो परिवारको हेरचाह गर्न सक्छन् । अझै विश्वमा लाखौ मानिस दृष्टिविहिन नै छन् किनकि उनीहरुसँग उपचारको पहुँच छैन । सन्दुक रुइतसँगको यो सहकार्य मार्फत हामीले सम्भाव्य रुपमा दश लाखभन्दा बढी मानिसहरुलाई सेवा पुर्याउने छौँ ।’
डा.सन्दुक रुइत र तेज कोहलीले सन् २०२६ सम्म विश्वका अति विपन्न समुदायमा मोतिविन्दुबाट दृष्टिविहिन चार लाखको शल्यक्रिया गर्ने तय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्