Logo
|
Thursday 28th March 2024
Logo

epaper

भेरी अस्पतालमा कार्यरत ७० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भेरी अस्पताल नेपालगन्जमा कार्यरत ७ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ओटी, इमर्जेन्सी, पारामेडिक, आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना लागेको हो । जसमा ७ जना इमर्जेन्सीमा कार्यरत चिकित्सक छन् ।

गत वर्ष कोरोना उपचारका लागि छुट्याइएका चिकित्सक तथा नर्सले निरन्तर काम गरिरहेका छन् । संक्रमित भएपछि आइसोलेसनमा बस्ने र निको भएपछि फेरि उनीहरू काममै फर्किने गरेका छन् । ‘अस्पतालभित्र काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सक ढिलोचाँडो संक्रमित हुने सम्भावना भइहाल्छ,’ कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्मा भन्नुहुन्छ, ‘बिरामी नछोएर उपचार सम्भव छैन । बिरामीलाई कसरी बचाऊँ भन्ने मनोविज्ञानले काम गरिरहेका हुन्छौं ।’ अस्पतालमा मास्क, पीपीई, पन्जालगायत सामग्री भने पर्याप्त छैनन् ।

अस्पतालमा भर्ना भएका कोभिडका बिरामीमध्ये ६० जना आईसीयूमा छन् भने १० जना भेन्टिलेटरमा छन् । बाँकेमा मंगलबारमात्रै ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । अस्पताल थप भर्ना लिन सक्ने अवस्थामा छैन । त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका ३० जना स्वास्थ्यकर्मी संक्रमित छन् । बेड अभावका कारण सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा बसिरहेका छन् । ‘एक चिकित्सक क्रिटिकल अवस्थामा रहेकाले अस्पतालमा उपचारमा हुनुहुन्छ,’ अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले भन्नुभयो ‘यो संख्या थप बढ्न सक्छ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा हाल ५० जना संक्रमित उपचाररत छन् । जसमध्ये २८ जनाको स्थिति गम्भीर अवस्थामा रहेको अस्पतालका उपनिर्देशक डा. श्रेष्ठले बताउनुभयो । ‘गम्भीर प्रकृतिका संक्रमित धेरै छन् । स्वास्थ्यकर्मी नै संक्रमित हुँदा थप चुनौती थपिएको छ,’ उहाँले भन्नुभयो । उक्त अस्पतालमा चिकित्सकसहित ५ सय ५० जना स्वास्थ्यकर्मी कार्यरत छन् । कोहलपुरमा हाल १ सय ५० बेडको कोभिड वार्ड बनाइएको छ भने अक्सिजनसहित सय बेड छन् ।

प्रतिक्रिया दिनुहोस्