Logo
|
Friday 26th April 2024
Logo

epaper

एसईई दिँदै पहिलो टेष्टट्युब बेबी



नेपालको पहिलो टेष्टट्युब बेबी ओममणि तमाङ २०७८ साल जेठ महिनामा हुन लागेको एसईई तयारीमा जुटेका छन् । ओममणि गत फागुन २० गतेबाट १७ वर्षमा टेकेका छन् । सेन्ट जेभियर्स स्कुलमा अध्ययन गर्ने ओममणि निकै मेहनती छन् । जेहेन्दार विद्यार्थीका रुपमा चिनिन्छन् । बोल्छन् कम, हाँस्छन् बढी । अन्य सहपाठीको तुलनामा भलाद्मी देखिन्छन् । गत फागुन २० गते जन्म दिनमा उनको छेवर (ब्रतबन्ध) पनि भयो ।


‘ बाबु अध्ययनमा निकै राम्रो छ । छेवरको दिन ओममणि जन्मेदेखि अहिलेसम्मको समाचारमा आएका कुराहरु जस्ताकोतस्तै किताबको रुपमा निकाल्यौं र बाबुलाई उपहार दियौं । अहिले म निकै खुशी छु । खुशीको बयान गर्न सकिँदैन ।’—सन्ध्या तामाङ

०००० ००००
नेपालमा २०६१ साल फागुन २० गते ओम अस्पताल एण्ड रिसर्च सेन्टरको आईभीएफ सेन्टरबाट बाबु राजेन्द्र तामाङ र आमा सन्ध्याको कोखबाट पहिलो टेस्टट्युब बेबी ओममणि तमाङको जन्म भएको थियो ।

सन्ध्याको सन्तान सुखको कथा
‘मनले सोचेजस्तो सुख र खुसीले कहाँ बस्न पाइँदो रहेछ ? जहाँ गए पनि छोराछोरी कतिवटा भए ? कत्रा भए ? किन भएनन् ? विवाह भएको कति वर्ष भयो ? आदि–इत्यादि प्रश्नको ओइरो लाग्ने । सन्तान सुख नपाइने हो कि भनेर चिन्ता लाग्थ्यो । तर धेरै महिला निःसन्तान भएपनि खुसी र सुखी भएको देखेर धैर्य गर्थें । चित्त बुझाउथेँ । परिवार र आफन्तको करमा धामी झाँक्रीकहाँ जान पनि पछि परिनँ ।

ओममणि तमाङ


हाम्रो २०५५ सालमा बिवाह भएको हो । २०५६ सालमा गर्भवती भएँ । पुष महिनामा पाटन हस्पिटलले डेलिभरि समय दिएको थियो । तर ९ महिनाको बच्चा खेर गयो । गर्भमा छोरी थियो । २०५७ सालमा गर्भ बसेन । २०५८ सालमा गर्भ बस्यो । तर ३ महिनामा खेर गयो । त्यसपछि गरिएको लगातारको बच्चाको योजना २०६० सालसम्म पनि सफल हुन सकेन । त्यसपछि जँचाउन गएँ । फेलोपियन ट्युबमा ब्लड क्लट अड्किएर समस्या भएको जानकारी भयो । क्युरेट गर्दा यस प्रकारको समस्या हुने रहेछ ।


अब मेरो लागि टेष्टट्युब बेबी नै एक विकल्प थियो । ओम हस्पिटलमा टेष्ट ट्युब बेबी प्रविधिमा बसेँ । पहिलो ब्याचमा हामी १७ जना थियौं । १७ जनामध्ये ७ जनाको गर्भ बसेको थियो । ७ जनामध्ये ४ जनाको २—३ महिनामा मिसक्यारेज भयो । हामी ३ जनाले मात्र बच्चा जन्माउन सफल भयौं । तीमध्ये २०६१ साल फागुन २० गते मैले नेपालको पहिलो टेष्टट्युब बेबी जन्माउन सफल भएँ ।


टेस्टट्युबमार्फत गर्भधारण गरेपछि ९ महिना पूरै बेडरेस्टमा बसेँ । पहिले गर्भ गएका दुःखद अनुभवहरुले यसपटक बढी सतर्क भएँ । नौ महिनासम्म बहिनी ज्वाइँको घरमा गएर बसेँ । कान्छी बहिनी र ज्वाँइले धेरै सहयोग गर्नुभयो । यद्यपी निःसन्तान जोडीका लागि टेस्टट्युब बेबी वरदान साबित हुँदै आएको छ । आत्मविश्वास राखेर टेष्टट्युब उपचार गर्न शुरु गर्नुपर्छ । जीवनमा हरेश खान हुँदैन ।’

पहिलो जुम्ल्याहा टेष्टट्युब बेबी कत्रा भए ?
नेपालका पहिलो जुम्ल्याहा टेष्टट्युब बेबी युगोत्तम र युगेश्वर कोइराला फागुन २१ गतेदेखि १७ वर्षमा टेकेका छन् । उनीहरु २०७८ साल जेठमा हुन लागेको एसईई परीक्षामा सामेल हुँदैछन् । काठमाडौंको मण्डिखाटारस्थित काष्टमण्डप विद्यालयमा अध्ययन गर्ने उनीहरु अध्ययनमा निकै अव्वल छन् ।
२०६१ साल फागुन २१ गते वरिष्ठ दन्त विशेषज्ञ डा. सुशिल कोइराला र उहाँकी धर्मपत्नी कुमुदिनी कोइरालाको कोखबाट उनीहरुको जन्म भएको थियो । उनीहरुले टेष्टट्युब प्रविधिबाट नेपालको पहिलो जुम्ल्याहा टेष्टट्युब बेबीको रेकर्ड राखेका छन् ।

यसैगरी तेस्रो टेष्टट्युब बेबी निष्ट भट्टराई पनि २०७८ सालको एसईई परीक्षामा सामेल हुँदैछन् । उनी चैत महिनादेखि १६ वर्ष पूरा गरी १७ मा प्रवेश गरेका छन् । चलचित्र विकास वोर्डका निवर्तमान अध्यक्ष केशव भट्टराई र नीता भट्टराईको सुपुत्रका रुपमा उनको २०६१ साल चैतमा टेष्टट्युव प्रविधिबाट जन्म भएको थियो ।

प्रा. रबर्ट एडवार्ड्सले सन् १९५० देखि ७० सम्म अथक रुपमा गरेको अनुसन्धानको उपलब्धिस्वरुप सन् १९७८ मा पहिलोपटक टेस्टट्युब बेबीको जन्म सम्भव भएको थियो । विश्वकै पहिलो टेस्टट्युब बेबी बेलायतकी लुइस ब्राउन हुन् । उनको जन्म सन् १९७८ को जुलाई २५ मा भएको थियो । क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रबर्ट एडवार्ड्सले टेस्टट्युब बेबी विधिको सुरुवात् गरेर निःसन्तान समस्या हटाउन सफल भए । फलस्वरुप, उनी नोबेल पुरस्कारबाट समेत सम्मानित भएका थिए ।

भारतमा पहिलोपटक डाक्टर सुभाष मुखोपाध्यायले यस प्रक्रियाको प्रयोग गरेका थिए । आज यो प्रविधि निःसन्तान दम्पतीहरूका लागि एक नयाँ आशाको किरण भएको छ । भारतमा यो प्रविधिबाट जन्मेको शिशुको नाम दुर्गा राखिएको थियो । दुर्गा विश्वको दोश्रो टेष्ट ट्युब बेबी थिइन् । नेपालको पहिलो टेष्ट ट्युब बेबी ओममणि हो ।


बिवाहपछि हरेक दम्पतीले सन्तान सुखको चाहना राख्छन् । सन्तान सुख प्राप्त गर्नेहरु खुशी हुन्छन् । निःसन्तान हुनेहरु व्यक्तिगत र पारिवारिक खुशीबाट वञ्चित हुन्छन् । प्रायःदम्पतीले सामना गर्ने विभिन्न महत्वपूर्ण मेडिकल मुद्दाहरूमध्ये निःसन्तान प्रमुख समस्या हो । केही जोडीहरू सन्तान सुख प्राप्त गर्ने चाहनामा विभिन्न उपचारमा संघर्ष गरिरहेका हुन्छन् । ती मध्ये केहीले प्रजनन् उपचारपछि गर्भधारण गर्न सक्छन् भने केही उपचारको धेरै प्रयासपछि पनि असफल हुन्छन् । उनीहरुमा खाली काखको पीडा निकै जटिल समस्या बनेको छ ।


परिवार नियोजनका साधन प्रयोग नगरी दम्पत्तिबीच निरन्तर शारीरिक सम्बन्ध भएको एक वर्षसम्म पनि गर्भ रहन नसकेको अवस्थामा निःसन्तानको समस्या मानिन्छ । परिवार नियोजनको साधन प्रयोग नगरी यौन सम्बन्ध राखेको १ वर्षभित्र ८० प्रतिशत दम्पतीको बच्चा जन्मिसकेका हुन्छन् भने ९० प्रतिशतको विवाह गरेको दुई वर्षमा बच्चा जन्मिन्छन् । त्यसपछि पनि बच्चा नभएमा निःसन्तानको समस्या हो कि भन्ने शंका गर्नुपर्छ । जँचाएर कारण पत्ता लगाउनतिर लाग्नुपर्छ ।


आधुनिक चिकित्सा पद्धतिले सन्तान प्राप्तीका सन्दर्भमा आउने विभिन्न समस्याको समाधान सुल्झाएको छ । सन्तान सुखका लागि उपाय र उपचार धेरै छन् । तसर्थ सन्तान सुख पाउन तत्काल परामर्श लिएर उपचार गर्नु राम्रो हुन्छ । बेलैमा गरिएको उपचारले सन्तान प्राप्तीको आनन्द महसुस गर्न सकिन्छ ।


सन्तान नभएको समस्याका कारण परिवार र समाजको होच्याउने प्रवृत्तिले विवाहित दम्पत्तिहरुको मनमा ठूलो चोट पु¥याएको पाइन्छ । नेपाली समाजमा सन्तान जन्माउन नसक्नुमा धेरैजसो महिलालाई दोष लगाउने गरिन्छ । तर निःसन्तान हुनुमा पुरुषको पनि त्यत्तिकै ठूलो हात छ ।

प्रतिक्रिया दिनुहोस्