Logo
|
Friday 29th March 2024
Logo

epaper

सन्तान सुखबारे डा. भोला रिजालको सुझाव !



जनस्वास्थ्य सरोकार । नेपालमा बिवाहित दम्पत्तिमध्ये १५ देखि २० प्रतिशतमा निःसन्तानको समस्या भएको विभिन्न अध्ययनहरुले देखएका छन् । १५ प्रतिशतमध्ये ८५ प्रतिशतको साधारण जाँच र उपचारबाट सन्तान लाभ हुन्छ । त्यसमा १५ प्रतिशत मात्र निःसन्तान हुने गर्छन् ।

नेपालमा पहिलो टेष्टट्युब बेबीको जन्म मेरै हातबाट भएको हो । उनको नाम ओम मणि तामाङ हो । उनी अहिले १७ वर्षको पुगिसके । यो मैले एक्लै भन्दा पनि टिमले गरेको थियो ।

बि.सं.२०३९ सालमा बंगलादेशको राजधानी ढाकाबाट पोष्ट ग्राजुएट गरेर नेपाल फर्किएँ । त्यति बेलादेखि म एकचित्त भएर जनचेतना फैलाउने दृष्टिकोणले भिजिटिङ कार्डको अगाडिपट्टी नै निःसन्तान तथा क्यान्सर रोगीको उपचार व्यवस्थापन (सेन्टर फर सब फर्टिलिटी एण्ड क्यान्सर म्यानेज्मेन्ट) लेखेर काम शुरु गरेको थिएँ ।

यसरी लाग्नुको कारण मैले ढाकामा काम गर्दाको अनुभूति नै हो । बंगलादेशको अवस्था हामी भन्दा धेरै कमजोर थियो । जनसंख्या धेरै थियो । तर, राजनीतिक अस्थिरताले सबै क्षेत्रको सूचक नराम्रो थियो । कहिले बाढी त कहिले हुरीले जनजीवनलाई सँधै तहस नहस पारिरहन्थ्यो । यसले गर्दा उनीहरुको प्रतिव्यक्ति आय तल थियो । फर्टिलिटी दर उच्च थियो ।

त्यो अवस्थाको अनुभूति पछि नेपाल फर्किएर फर्टिलिटीको क्षेत्रमा काम गर्न थालेँ । चिकित्सकले विरामीको साइकोलोजिकल ढंगले विश्वास जित्नुपर्छ । बिवाह भएको ३२ वर्षसम्म सन्तान सुख नपाएको दम्पतिको बच्चा भएको छ । सन्तान सुख दिन सफल भएको छु । फादर अफ टेष्टट्यूव बेवी पनि भन्ने गरेको पाएको छुँ । अहिले मलाई कतिपयले सन्तानेश्वर महादेव पनि भन्छन् ।

अहिलेको अवस्थामा निःसन्तान उपचारका लागि नियम कानुन छैन । कहाँ दर्ता गर्ने भन्ने पनि समस्या छ ।

समस्या के हो ?
सन् १९८४ तिर लैनचौरमा भएको परिवार नियोजन संघको कार्यालयमा हप्ताको २ दिन मंगलबार र बिहीबार जान्थेँ । त्यो बेला परिवार नियोजन सम्बन्धमा गलत सोचाई थियो । परिवारको संख्यामा कम गर्ने र सन्तान नहुनेलाई पनि सन्तान दिने उपाय गरेनौं भने परिवार नियोजन सफल हुँदैन । त्यसैले यसलाई सन्तुलनमा राखेर अघि बढ्नु पर्छ भन्दा त्यो बेलाकी संघकी अध्यक्षले पनि सहमति जनाउनुभयो ।

त्यो बेलादेखि नै निःसन्तानहरुको पीडाहरुलाई सम्बोधन गर्नुपर्छ भन्ने सोंच थियो । पहिलो काम त्यहीँबाट शुरु गरेँ । बिस्तारै यो प्रसूतिगृह, त्रि.बि. शिक्षण अस्पताल महाराजगञ्जमा बिस्तार हुँदै गयो । आज आएर अन्तिम उपाय भनेको टेष्ट ट्युब बेबी, त्यसबाट नभए सरोगेसी, सरोगेसीबाट पनि नभए एडप्सनलगायतका उपायमा सेवा शुरु भयो । नेपालमा पहिलो पटक टिकामाया विश्वकर्मा रिजालको बन्ध्याकरण गरेको ट्युब जोडेर रिक्यानलाइजेसन भएको पनि मेरै पहिलो हो । यसबारे नेपाल टेलिभिजनमा अन्तर्वार्ता पनि आएको थियो ।

नेपालीहरु रोजगारी र अध्ययनका सिलसिलामा विभिन्न देशमा छरिएर गएका छन् । अहिले पनि ७०—८० लाख युवाहरु मुलुकबाहिर छन् । यो क्रम अझ बढ्दै छ । रोजगारीको अवसर खोज्न खाडी मुलुक, कोरिया, जापानलगायतका देशहरुमा गएका धेरैको अत्यधिक तापक्रमका कारण प्रजनन शक्ति कमजोर हुने गरेको छ । उनीहरुले ५० डिग्री सेन्टिग्रेडमा काम गर्नुपर्छ । अवैध यौन सम्पर्कका कारण यौन रोग बोकेर श्रीमतीलाई सार्नेहरुको पनि कमी छैन । नेपालमा क्षयरोगले पनि निःसन्तानको समस्या बढाइरहेको छ ।

हामीले सरोगेसी गरेका छैनौं । त्यो गर्दा पनि गर्दैनौं । गर्न पनि हुँदैन । सर्बोच्च अदालतले रोक लगाइसकेको छ । नेपालगञ्जको वादी समुदायमा अर्काको लागि बच्चा पाइदिने चलन पहिले पनि थियो । अहिले पनि प्रचलनमा छ । यदि पौराणिक काललाई स्मरण गर्ने हो भने कौरबहरु १ सय वटा घडाबाट नभई टेष्टट्युबबाट जन्मेको हुनुपर्छ ।

विगत जे जस्तो भए पनि नेपालीले नेपालीको लागि नेपालमै सरोगेसी सेवा पनि सञ्चालन हुनुपर्छ भनेर अनुरोध गरिरहेका छौं । बीचमा अपभ्रम्सहरु पनि भए । विदेशी दलालहरुले नेपालमा आईभिएफ सेन्टरहरु खोलेर सरोगेसीको बदनाम गरे । अनि हामीहरुले नै यो बन्द हुनुपर्छ भनेर कुरा उठायौं । सर्बोच्च अदालतको अन्तरिम आदेशबाट यो सेवा रोकिएको छ ।

फर्टिलिटी सोसाइटी अफ नेपाल (फेसोन) को अध्यक्षको नाताले आईभिएफ जस्तै सरोगेसीले पनि विधि विधान अपनाएर कानुनी मान्यता पाउनुपर्छ जस्तो लाग्छ । वास्तवमा यो सेवा नेपालीका लागि मात्र हुनुपर्छ । सन्तान सुख दिलाउन सामान्य उपचार, आईभिएफ, सरोगेसी, एडप्सनको उपाय अपनाउँदै आएको अवस्था छ । क्लोनिङ (अहिले ब्यान्ड) बाट पनि सन्तान हुनसक्छ । क्लोनिङ भनेको बच्चा जन्माउन सम्बन्धित व्यक्तिको छाला लिएर ल्याबमा लगेमा १ हजार व्यक्तिको जन्म हुन्छ ।

अहिले मुलुकमा १५ वटा आईभीएफ सेन्टर स्थापना भइसकेका छन् । पाँच वर्षमा मुलुकभर कम्तिमा ५० वटा जति बृद्धि हुने अपेक्षा गरिएको छ । सबैले आईभिएफ सेन्टर मात्र खोलेका छन् । निःसन्तानको सबै जाँच भनेर खोलिएका केन्द्र कम छन् । आईभिएफमा धेरै आकर्षण देखियो ।

सरकारले निःसन्तानका लागि ७ वटै प्रदेशमा निःसन्तानका लागि अस्पताल बनाइदिनुपर्छ । त्यहाँबाट सेवा पाउन नसकेका व्यक्ति मात्र केन्द्रमा आउने परिपाटीको विकास गर्न सकेमा यो वरदान सावित हुने थियो । सबैको पहुँच पनि पुग्थ्यो ।

अहिले साधारण जाँचका लागि काठमाडौं धाइरहनु पर्ने बाध्यता छ । मेरो क्लिनिकमा आउने ८५ प्रतिशत व्यक्ति साधारण जाँच गरेर औषधि मात्र दिएमा पनि गर्भवती हुन्छन् । त्यसमध्ये पनि शल्यक्रिया र टेष्टट्यूवबाट जन्माउनुपर्ने व्यक्ति त निकै कम छन् । अहिले मेरो स्पाइन सर्जरीले गर्दा आफैं डेढ वर्षदेखि बाहिर मुभमेन्ट गर्न सकेको छैन । त्यति हुँदा हुँदै पनि सेवा दिन म ह्याम्स हस्पिटल जान्छु । नेपाल मेडिकल कलेज पनि जान्छु ।
निःसन्तान हुनुमा भगवानको श्राप होइन । भगवानको श्रापले निसन्तान भएको महसुस गर्ने मानसिकताबाट मुक्त हुनुपर्छ । (डा. रिजाल ह्याम्स हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्