Logo
|
Friday 27th December 2024
Logo

epaper

दृढ संकल्पले क्यान्सर जितेँ



पुजा कुँवर/ अध्यक्ष, नार्कोनन् नेपाल

पुजा कुँवर, नार्कोनन् नेपालकी अध्यक्ष हुनुहुन्छ । गत वर्ष उहाँलाई अप्रत्यासित देब्रे स्तनमा क्यान्सर देखियो । पुजाको परिवार (माइति) मा वंशाणुगत क्यान्सरको समस्या छ । क्यान्सरबाटै बुवा आमाको निधन भयो । दाइ, दिदी, भाउजु क्यान्सर सर्भाइभर हुनुहुन्छ । क्यान्सरपछि आफ्नो जीवनले खास मक्सद पाएको उहाँको अनुभूति छ । ‘जीवनलाई अझै बढी बुझ्ने र आफ्ना लक्ष्य पूरा गर्ने मौका पाएकी छु ।’—उहाँ भन्नुहुन्छ,—‘अहिले मसँग समय नै छैन जस्तो महसुस हुन्छ । भोलिलाई काम किन बाँकी राख्ने ? आजै सबै काम सकाऊँ जस्तो लाग्छ ।’ समाजसेवा गर्ने एउटा दृढ संकल्पले उहाँमा आत्मविश्वास बढाएको छ । जसले क्यान्सर जित्न पनि मद्धत गरेको छ । जनस्वास्थ्य सरोकारको यस अंकमा क्यान्सर सर्भाइभर पुजा कुँवरको क्यान्सर मुक्त हुँदाको यात्रा उहाँकै भाषामा प्रस्तुत गरेका छौँ ।

यसरी भयो क्यान्सर पहिचान
सन् २०१९ नोभेम्बर तिरको कुरा हो, अमेरिकामा नार्कोनन्को इडी (एक्जुकेटिभ डाइरेक्टर) सम्मेलन हुन लागिरहेको थियो । सम्मेलनमा भाग लिन र केहि समय छोराबुहारीसँग बस्ने योजना सहित एक महिने छुट्टी लिएर अमेरिका उडेँ । सम्मेलनकै क्रममा स्तनमा फेरि गाँठो आएको महसुस भयो । गाँठो पहिले जस्तै आफैँ हराएर जाला भन्ने लागेर यसबारे छोरा बुहारीलाई केहि पनि भनिनँ । उनीहरुसँग तीन हप्तासँगै बसेर स्वदेश फर्किएँ । नेपाल आउनेवित्तिकै फेरि काउन्सिलिङ टे«निङ तिर लागेँ । स्तनमा देखिएको गिर्खाबारे खासै ध्यान गएन । बेलाबेलामा हराउने गाँठा यस पटक लामो समयसम्म हराएनन् । एकदिन साथीलाई स्तनको गाँठाबारे अवगत गराएँ । उनकी छोरी पनि डाक्टरी अध्ययन गर्दै रहेकाले एकपटक छोरीलाई देखाउन आग्रह गरिन् । मैले साथीको छोरीलाई सबै यथार्थ बताएँ । छोरीले अत्तालिदैँ तुरुन्त चेकअपका लागि जान आग्रह गरिन् । त्यसपछि तालिम सकाएर परीक्षणका लागि जाने योजना बनाएँ । छोरीले एक्कासी शिक्षण अस्पतालका क्यान्सर सर्जन डा. वाइबी सिंहसँग अपोइन्टमेन्ट मिलाइसकिछन् ।

तुरुन्त ट्रेनिङ छोडेर चेकअपको योजना बनाउन अनुरोध गरेपछि शिक्षण अस्पताल महाराजगञ्ज गएँ । डा. सिंहलाई भेटेर एफएनएसी टेस्ट गराएँ । त्यसपछि वायोप्सी टेष्टका लागि ह्याम्स अस्पताल पुगेँ । बायोप्सी रिजल्टमा दोस्रो स्टेजको स्तन क्यान्सर देखियो।

परिवारका सदस्यमा क्यान्सर देखिनथालेपछि मलाई निकै डर लाग्दथ्यो । त्यसैले हरेक वर्ष क्यान्सर स्क्रिनिङ गराइरहन्थेँ । क्यान्सर स्क्रिनिङको क्रममा मेरा दुईवटै स्तनमा क्यान्सर गराउन सक्ने सिस्टहरु भेटिएका थिए । डाक्टरले सिफारिस नगरेपनि आफैँले एमआरआई गरेर देखाउँथे । कामको सिलसिलामा बेलाबेलामा अमेरिका जाँदा त्यहाँको डाक्टरसँग परामर्श लिइरहन्थेँ । बिनाइन ट्युमर भएकाले सर्तक रहन सुझाव दिनुहुन्थ्यो । कामको सिलसिलामा विभिन्न मुलुक गएको बेला हरेकपटक स्तन परीक्षण गराउथेँ । यसरी जाँच गराउँदा क्यान्सर देखिएको थिएन । स्तनमा कहिलेकाहिँ गिर्खा आइरहन्थ्यो । सो गिर्खा केहिसमयपछि आफैँ हराएर जान्थ्यो ।

उपचारका लागि इन्डिया
क्यान्सर पहिचानपछि शल्यक्रिया गर्नुपर्ने अवस्था सृजना भयो । डा. सिंहले आफैले शल्यक्रिया गर्ने बताउनुभयो । त उपचारका लागि भारत जाने निधो गरेँ । नेपालका डाक्टरहरु सक्षम हुनुहुन्छ । अपरेशन थिएटर पनि राम्रो छ । तर अस्पताल व्यवस्थापन भने राम्रो लागेन । शल्यक्रियापछि संक्रमण हुने हो कि भन्ने डर लाग्यो । उपचारका लागि सन् २०२० जनवरीमा भारतको म्याक्स अस्पताल भर्ना भएँ । शल्यक्रिया सफल भयो । शल्यक्रियापछि देब्रे स्तन काटेर निकालियो । अहिले स्वास्थ्य अवस्था ठिक छ ।

This image has an empty alt attribute; its file name is pooja3-768x576.jpg

मर्छु भन्ने लागेन
क्यान्सर लागेपछि आत्मबल बलियो बनाएँ । बाँच्दिन की भन्ने डर मनमा आउन दिइनँ । मेडिकल क्षेत्रमा भएका नयाँ प्रविधि र उपचार विधिले मलाइ मर्न दिदैँनन् भन्ने विश्वास पनि थियो । मरिन्छ कि भनेर आँखाबाट एकथोपा आँशु पनि आएन ।

‘जसरी पनि ठिक हुनुपर्छ’ भनेर दृढ संकल्प लिएँ किनकि मैले कुलतमा फसेका लाखौँ व्यक्तिलाई नयाँ जीवन दिनु छ । यदि मृत्युदेखि डराएको भए सायद क्यान्सरले जित्थ्यो होला ।

किमोथेरापी दिँदाको त्यो क्षण
उपचारको क्रममा ४ ओटा केमोथेरापी दिइयो । त्यतिबेला धेरै गाह्रो महसुस भयो । केमो दिएको ३-४ दिनसम्म बान्ता हुने, खान मन नलाग्ने, कमजोर महसुस भयो । शरीरमा ताकत थिएन । कहिलेकाँही राती सुतेपछि बिहान आँखा खुल्दैन कि जस्तो लाग्थ्यो । जब आँखा खुल्थ्यो तब नयाँ दिन सुरु हुन्थ्यो । फेरि परिवारलाई भेट्न पाउने भएँ जस्तो अनुभूति हुन्थ्यो । भगवानले मलाइ मर्न दिनुभएन । उहाँले समाजका लागि केहि गर्ने मौका दिनुभएको छ । यो मौकालाई यत्तिकै खेर जान दिन्नँ ।

क्यान्सरले समयको सदुपयोग गर्न सिकायो
क्यान्सरपछि मेरो जीवनमा ठूलो परिवर्तन आएको छ । जीवनलाई अझै बढी बुझ्ने र लक्ष्य पूरा गर्ने मौका पाएकी छुँ । पहिला समयको महत्व बुझ्न सकेको थिइनँ । धेरै समय घुमघाम मै बित्यो ।

‘आजको काम भोलि गर्छु’ भनेरै खेर फालियो । तर, अहिले आफूसँग समय नै छैन जस्तो अनुभूति हुन्छ । भोलिलाई काम किन बाँकी राख्ने ? ‘आजै सकाऊँ’ जस्तो लाग्छ । ‘समय यसै खेर फाल्न हुँदैन’ भन्ने पाठ सिकेकी छु ।

समाजसेवाबाट मिल्यो आत्मसन्तुष्टि
बुवाआमाले मलाई कहिलेपनि अभाव र दुःख महसुस गर्न दिनुभएन । मेरो पारिवारिक पृष्ठभूमि राम्रै थियो । सानै उमेरदेखि समाजसेवा गर्ने चाहना थियो । मेरो प्रहरीसँग बिहे भयो । जीवन सुखमय थियो । तर मनमा समाजसेवा गर्ने रहर भने कता कता खड्किरहन्थ्यो । श्रीमान्को पोष्टिङ भएर विभिन्न जिल्लामा जानुपथ्र्यो । म पनि उहाँसँगै जान्थेँ । त्यतिबेला जेलमा प्रौढ शिक्षा पढाउथेँ । श्रीमानले पनि मलाई साथ दिनुभयो । उहाँपनि समाजसेवा असाध्यै मन पराउनुहुन्छ । त्यसपछि सुधारकेन्द्र खोलियो । तब जीवनले खोजेको कुरा पाएँ जस्तो अनुभव भयो । समाजसेवाबाट मात्रै आत्मसन्तुष्टि मिल्यो ।

समाजसेवा ८४ व्यञ्जन भन्दा मिठो
मानिसहरु समाजसेवा गर्ने भन्दै शहर रोज्छन । वास्तवमा शहर पीडित बस्ने ठाउँ होइन । यहाँ बस्ने सबै शिक्षित हुन्छन् । पाँच मिनेटको दुरीमा अस्पताल छ । गाउँघरमा बसोबास गर्ने मानिसहरु क्यान्सर रोगबारे अनभिज्ञ छन् । उनीहरु वास्तवमै पीडित छन् । आर्थिक रुपमा कमजोर हुन्छन् दुरदराजका गरिबलाई रोगको पहिचान गरेर सकेको उपचार सहयोग गर्ने चाहना छ । सरकारले पनि एकलाख रुपियाँ सहयोग गर्छ । मैले पनि सकेजति सहयोग गर्छु । भविष्यमा एउटा ट्रष्ट खोलेर सेवा गर्ने योजना बनाएकी छु ।
परिवारै क्यान्सर पीडित
मेरो माइती परिवारमा क्यान्सर रोग पहिलादेखि नै व्याप्त थियो । बुबा आमा र ठुलीआमा पनि क्यान्सरबाटै बित्नुभयो । त्यस्तै जेठो दाइलाई प्रोस्टेट क्यान्सर, माइलो दाइलाई पेटमा ट्युमर र माइली भाउजुलाई ग्ल्यान्ड क्यान्सर भएको थियो । यता मेरो श्रीमानलाई पनि मिर्गौलाको ट्युमर देखियो । उहाँहरुको शल्यक्रिया गरेर समाधान गरियो । मलाई स्तन क्यान्सर पहिचान हुँदा दोस्रो चरणमा पुगिसकेको थियो ।
दिनचर्या
बिहान सबेरै उठ्छु । केही समय शारीरिक व्यायाम गर्छु । घरको सबै कामधन्दा सिध्याएर अफिस जान्छु । दिनभर अफिसकै काममा व्यस्त हुन्छु । बेलुका घर फर्किन्छु । अहिले घरमा श्रीमान र म मात्र छौँ । छोरा, बुहारी र नातिनी अमेरिकामा बस्छन् ।

सुझाव
मृत्यु सत्य र स्वभाविक हो । जन्मिएकै दिनबाट मृत्यु सुरु हुन्छ । कुनै पनि समय मृत्यु हुनसक्छ । त्यसैले हामी मृत्युसँग डराउन हुँदैन । कतिपय मानिस बूढेसकाल लागेपछि धर्म गरौँला, ध्यान गरौँला भन्ने सोच्छन् । धर्मकर्म गर्न पनि स्वस्थ शरीर चाहिन्छ । त्यसकारण कुनैपनि काम पछि गर्छु भनेर बाँकी राख्नहुँदैन । यदि मैले मृत्य देखि डराएको भए सायद मलाई क्यान्सरले जित्न सक्थ्यो होला । सधैँ सकारात्मक सोचाइ राख्नुपर्छ । रोग जित्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्