Logo
|
Thursday 16th January 2025
Logo

epaper

बिरामीलाई निःशुल्क अक्सिजन दिने एम्बुलेन्स चालकविरुद्ध उजुरी दर्ता



जनस्वास्थ्य सरोकार । भारतको उत्तर प्रदेश राज्यस्थित जौनपुरको एउटा सरकारी अस्पतालबाहिर अक्सिजन अभावमा तड्पिरहेका बिरामीलाई आफ्नो एम्बुलेन्सबाट अक्सिजन दिने युवकविरुद्ध स्थानीय प्रशासनले उजुरी दर्ता गरेको छ।

जौनपुर कोतवालीमा एम्बुलेन्स चालक विक्की अग्रहरिविरुद्ध महामारी ऐनको दफा ३ र भारतीय दण्डसंहिताको दफा १८८ तथा २६९ अनुसार जाहेरी दर्ता गरिएको छ।

ती युवकले अस्पतालबाहिर अव्यवस्था उत्पन्न गरेको र स्वास्थ्यकर्मीलाई समस्या भएको भन्दै उजुरी दर्ता गरिएको प्रशासनको तर्क छ।

‘मैले बिरामीहरू अक्सिजन नभएर तड्पिरहेको देख्न सकिनँ। त्यसैले आफ्नै एम्बुलेन्सबाट सिलिन्डर निकालेर अक्सिजन दिएँ।’ विक्की अग्रहरिले भन्नुभयो-‘मसँग एम्बुलेन्समा दुईवटा सिलिन्डर थिए। दुई साताअघि मैले आफ्नी पत्नीको सुन बेचेर अन्य चार सिलिन्डर किनेँ।’

उहाँलाइ दुई सिलिन्डर मलाई दानमा प्राप्त भएको थियो । हालसम्म १०० जनाभन्दा बढीलाई अक्सिजन दिएर मद्दत गरिसकेको उहाँको भनाइ छ ।

बुधवार एकजना गम्भीर बिरामीलाई अस्पतालमा लिएर जाँदा त्यहाँ अक्सिजन नपाएर छटपटाइरहेका बिरामी देखेपछि आफूले एम्बुलेन्सको अक्सिजन दिएको र एक जनालाई अक्सिजन दिएपछि अन्य बिरामी पनि आएर भिड लागेको उहाँको दाबी छ।

सहयोग गर्ने युवकविरुद्ध जाहेरीले प्रशासनको छविप्रति नकारात्मक असर पर्न सक्ने हुँदाहुँदै किन जाहेरी दर्ता गरियो भन्ने प्रश्नमा डीएम मनीष वर्माले भन्नुभयो-‘मेरो जानकारी अनुसार ती युवक अस्पतालबाहिर बिरामीहरूलाई अक्सिजन दिएर भिडिओ बनाइरहेका थिए। त्यस बेला अस्पतालमा शय्याहरू उपलब्ध थिए। जसलाई बाहिर अक्सिजन दिइयो उनीहरू सबैलाई अस्पतालमा भर्ना गरिएको थियो।’

उहाँले कोरोनाभाइरसको दोस्रो लहरका बीच पनि जौनपुरमा स्थिति धेरै हदसम्म नियन्त्रणमा रहेको र अक्सिजन तथा शय्याको सङ्कट नभएको दाबी गर्नुभयो । बीबीसी

प्रतिक्रिया दिनुहोस्