Logo
|
Friday 19th April 2024
Logo

epaper

रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेको पाइए कारवाही

औषधि व्यवसायी भन्छन्—‘रेम्डिसिभिर उपलब्धताका लागि समयमै पहल गर्नुस्’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले कोभिड—१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेको पाइएमा कारवाही गर्ने जनाएको छ ।

विभागका महानिर्देशक भरत भट्टराईले सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने जनाउनुभयो ।

उहाँले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गरिने बताउनुभयो ।

विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न नगराउन तथा तोकेको खुद्रा मूल्यभन्दा बढीमा खरीद नगर्न सबैमा आग्रहसमेत गरेको छ ।


अहिले सङ्क्रमण बढिरहेका अवस्थामा रेम्डिसिभिरलाई बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । रेम्डिसिभिरको एक मात्राका लागि करीब रु पाँच हजार पर्छ ।
यसैबीच औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले रेम्डिसिभिर केही व्यक्तिहरुले बजार मूल्य भन्दा धेरै लिई बिक्रीबितरण गरिरहेको जानकारी आएकाले सो कार्य नगर्न नगराउन सबैमा अपिल गरेको छ ।

औषधी व्यवस्था विभागको यो पहलको कदर गर्दै नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठले आगामी दिनमा कोविड—१९ लाई मध्येनजर राखी चिकित्सकीय परामर्शका आधारमा आवश्यक पर्ने औषधिहरूको उपलब्धताको लागि पनि समयमा नै विशेष पहल गरिदिन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्