Logo
|
Thursday 28th March 2024
Logo

epaper

निःसन्तान पीडा र वर्तमान समस्या




जनस्वास्थ्य सरोकार । डा. स्वस्ती शर्मा निःसन्तानको क्षेत्रमा काम गर्नुभएको करिब ८ वर्ष भएको छ । सन् २०११—१२ तिर नेपालगञ्ज मेडिकल कलेजमा स्त्री तथा प्रसूतिमा एमडी अध्ययनरत छँदा कर्णालीको हुम्ला जुम्लाजस्ता विकट हिमाली जिल्लाबाट दम्पतीहरु निसन्तानको समस्या लिएर उपचार गर्न आउँथे । उनीहरुको पीडा दयनीय थियो । बच्चा नजन्मेपछि सम्पूर्ण दोष महिलालाई थोपरिन्थ्यो । यसमा पुरुष पनि दोषी हुन्छन् भन्ने धेरैलाई चेतना थिएन । सन्तान नभएपछि पुरुषलाई अर्को विवाह गर्न लगाइन्थ्यो । तर उपचार गर्नतिर ध्यान दिइन्थ्यो । यस खालका घटनाले डा.शर्मालाई सोंचमग्न बनायो ।उहाँलाई सस्तो र भरपर्दो शुल्कमा गुणस्तरीय सेवा मार्फत निःसन्तान दम्पत्तिको उपचार गरेर खाली काख भर्ने चासो बढ्यो । डा. शर्मा भन्नुहुन्छ— ‘त्यसपछि निःसन्तानको खाली काख भर्ने अठोट लिएँ ।’ विभिन्न ठाउँमा तालिम र अनुभव बटुलिसकेकी डा. शर्मा निःसन्तान र टेष्टट्यूब बेबी (आईभिएफ) उपचारमा सक्रिय हुनुहुन्छ । निःसन्तान उपचारबारे डा. शर्माले भनेका कुरा उहाँकै शव्दमा जानौं ।

घटना नं १
कतिपय अवस्थामा निःसन्तान दम्पतीलाई चाहेर पनि सन्तानसुख दिन नसकिने रहेछ । एकजना महिलाको पहिले गर्भपतन भएको रहेछ । राम्रो ठाउँमा उपचार गर्न नजाँदा सालनाल अड्किएर पाठेघर पातलो भएको थियो । जति कोसिस गरेपनि पाठेघर बाक्लो बनाउन सकिरहेका छैनौँ । हामीले जानेबुझेका सबै उपाय अपनाइसक्यौँ । दुइपटक टेस्टट्युव बेबी पनि गरिसक्यौँ । तर पाठेघरमा बच्चा ल्याउन सकेनौँ । म यसलाई ठूलो असफलता मान्छु । कतिपय मानिस निःसन्तान उपचारबारे जानकार छैनन् । उमेर गइसक्यो, अब उपचार सम्भव छैन भनेर यत्तिकै बस्छन् । उनीहरुलाई टेष्ट ट्युव वेवीबारे थाहा नै छैन । वास्तवमा महिलाको उमेर बढी भएपनि श्रीमान् श्रीमतिको सहमतिमा डोनर अण्डा लिएर श्रीमानको शुक्रकिट मिलन गराई भु्रण बनाउन सकिन्छ । यसबारे बुझ्न जरुरी छ ।

घटना नं २
केहि वर्षअघि ५० वर्ष कटिसकेका एक दम्पती निःसन्तान उपचारका लागि आउनुभयो । उहाँहरुको १८ वर्षिया छोरा मोटरसाइकल दुर्घटना परेर ज्यान गएको रहेछ । जवान छोरालाई गुमाउनुपर्दाको पीडा उहाँहरुको अनुहारमा प्रष्ट देखिन्थ्यो । बच्चाका लागि केही गर्न सकिन्छ भनेर सल्लाह लिनुआउनुभएको रहेछ । महिलाको उमेर ५० वर्ष कटिसकेको थियो । महिनावारी बन्द थियो । साथै मधुमेह रोगी पनि हुुनुहुन्थ्यो । उहाँको श्रीमानले पनि पहिल्यै स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) गराउनुभएको रहेछ । यस्तो अवस्थामा दुवैबाट बच्चा सम्भव थिएन । उहाँहरुले भन्नुभयो—‘हामी बाँच्न कसैको रगत, मिर्गौला लगायतका अंग प्रत्यारोपणका लागि दान लिन्छौं भने बच्चा पनि बाँच्ने आधार हो ।’ उहाँहरु आफ्नो जातसँग मिल्ने मेल डोनर र फिमेल डोनर खोजेर एम्ब्रियो (भ्रुण) बनाउन राजी हुनुभयो । अहिले उहाँहरुको दुइ वर्षको बच्चा छ ।

वर्तमान अवस्था
परिवारले थाहा पाउने डरका कारण खुलेर भन्न नसक्ने, उपचार गर्न जान सल्लाह दिँदा रिसाउने, उपचारका लागि खुलेर अस्पताल आउन नसक्ने, बच्चा नभएको ४—५ वर्षपछि श्रीमानले अर्को बिवाह गर्ने, राम्रो उपचार गर्ने ठाउँ पहिचान नगर्ने, उपचारका लागि आर्थिक अभाव, विशेषज्ञता हाँसिल गरेका सीमित डाक्टर, विदेशबाट इम्ब्रियोलोजिष्ट ल्याउनुपर्ने बाद्यता आदि रहेका छन् । निःसन्तानका लागि आवश्यक पर्ने हर्मोन, ल्याब सामाग्री निकै महँगो छ । सामान्य औषधि खरीद गर्न पनि गाह्रो छ । यसले गरीब दम्पती उपचार गर्नबाट बञ्चित भएको देख्दा दिक्क लाग्छ ।

सन्तान नहुनमा महिला मात्र दोषी ठान्ने गरिन्छ । तर पुरुष जोगिन्छन् । यो मेल डोमिनेटेड सोसाइटीको उपज हो जस्तो लाग्छ । अहिले पनि महिला दोस्रो दर्जाको नागरिक भएर बस्नुपर्ने बाद्यता छ ।

सँगै नबसेका कारण सन्तान नहुने समस्या बढ्दो छ । यसबारे धेरैले खुलेर भनेको पाइँदैन । बैदेशिक रोजगारीको सिलसिलामा धेरैका श्रीमानहरु विदेश बसेका हुन्छन् । कतिपय दम्पतीमा सामान्य परामर्शबाट पनि गर्भ रहने गरेको छ । सामान्य औषधिबाट पनि कतिको बच्चा भइरहेका छन् । टेष्टट्युवबाट जन्माएको बच्चा र सामान्य बच्चामा कुनै भिन्नता हुँदैन । यस विधिबाट जन्माउन केहि संकोच मान्नुपर्दैन । खाली बच्चा बन्ने तरिका मात्र फरक हो । महिलाको पाठेघरमा बन्ने कुरा ल्याबमा बन्छ । विभिन्न अध्ययनले आइभिएफ गरेर जन्मिएको बच्चा र सामान्य बच्चामा केही फरक नभएको बताएको छ । उनीहरुको तौल, उचाइ, बौद्धिकतामा केहि फरक नहुने पुष्टि गरिसकेको छ ।
वर्तमान समस्या
नेपालमा हाल करिब १२ जति आइभिएफ सेन्टर सञ्चालनमा छन् । ति मध्ये ९ वटा काठमाडौँ, एउटा बिराटनगर, एउटा हेटौँडा र एउटा पोखरामा रहेका छन् । नेपालमा अहिलेपनि एम्ब्रियोलोजिष्ट (ल्यावमा बच्चा बनाउने डाक्टर) को खाँचो छ । कतिपय आइभिएफ सेन्टरले अझैपनि भारतबाट ल्याउने गरेका छन् । राम्रो सिप र अनुभव भएको एम्ब्रियोलोजीष्टको माग बढ्दो छ ।

आइभिएफको औषधि आयातमा समस्या छ । थर्ड पार्टी पोलिसी सिस्टमले गर्दा मिडिया (ल्याबमा प्रयोग हुने औषधि) खरिद गर्न गाह्रो छ । मिडियाहरु इन्डियाबाट सोझै आयात गर्न सकिँदैन । सिधै स्वीडेन, अमेरिकाबाट मगाउनुपर्छ ।

अनुमान गरेर १५-२० दिन अघि नै अर्डर दिनुपर्छ । कहिलेकाहीँ मिडिया अभाव हुँदा काम गर्न अप्ठेरो पर्छ । सायद सरकारले आइभिएफ सेन्टरप्रति त्यति चासो दिएको जस्तो लाग्दैन । महिलाको स्वास्थ्य नीतिमा इफर्टिलिटीलाई समावेस गर्नसकेको छैन । यससम्बन्धि कुनै कार्यविधि बनेको छैन । आइभिएफ सफल नभएमा उपचारमा लागेको खर्च फिर्ता गर्न दवाव पनि आउने गर्छ । आइभिएफको सफलदर सत्प्रतिशत हुँदैन । भारतबाट ल्याइएका एम्ब्रियोलोजिष्टले एउटा उपचारको १० हजार देखि २५ हजार भा.रु. सम्म लिन्छन् । नेपालमा आइभिएफ सेन्टरहरुको नियमन र अनुगमन भइरहेको छैन । यसको जिम्मा स्वास्थ्य मन्त्रालयले लिनुपर्छ । कार्यविधि बनेमा काम गर्न सजिलो हुन्छ । यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।
भारतमा कस्तो व्यवस्था छ ?
भारतमा आईभिएफ उपचार विधिबारे मेडिकल काउन्सिल अफ इन्डियाको आफ्नै कार्यविधि छ । उनीहरुले टेष्ट ट्युव वेवी सेन्टरलाई प्राइमरी, सेकेन्डरी र टर्सरी गरी तीन भागमा विभाजन गरेका छन् । प्राइमरी सेटअपमा निःसन्तानको सामान्य जाँच, कारण पत्ता लगाउने र आइयुआई पर्छन् । सेकेन्डरी सेटअपमा टेष्ट ट्युव वेबीको उपचार पर्छ । पाठेघरको मुखमा मासु पलाएमा, सिस्ट भएमा र ल्याप्रोस्कोपिक सर्जरी गर्नुपरेमा टर्सरी सेटअपमा गरिन्छ ।
महिलामा निःसन्तानको समस्या
निःसन्तानका अन्य धेरै कारण छन् । तर हाम्रो क्लिनिकमा आउने अधिकांश महिलाहरुमा पोलिसिस्टिक ओभरी सिन्ड्रोमका कारण निःसन्तानको समस्या देखिएको छ । यस्ता महिलाहरुमा समयमा महिनावारी नहुने, मोटोपना, शरीरमा धेरै रौँ, दाह्री, जुङ्गा आउने, कपाल झर्ने र मानसिक समस्या (एन्जाइटी) देखिएको पाइन्छ । यो समयमा अण्डा नबन्दाको उपज हो । यस्ता महिलाहरुलाई अण्डा बनाउने डाइट, औषधिहरु सेवन गराइन्छ । साथै खानपानमा ध्यान पुर्याउन, योगा, एक्सरसाइज गर्न सल्लाह दिइन्छ । पुरुषमा शुक्रकीट कमी भएर पनि बच्चा नभएका धेरै उदाहरणहरु भेटिन्छ । उनीहरुलाई शुक्रकीटको मात्रा बढाउने औषधि दिलाइन्छ ।

विवाह गरेको एकवर्ष सम्म गर्भनिरोधक साधन प्रयोग बिना यौन सम्बन्ध राख्दा पनि बच्चा नभएमा निःसन्तानको शंका गरेर उपचारका लागि आउनुपर्छ ।

३५ वर्ष नाघेका महिलाको हकमा भने ६ महिना भित्रै उपचारका लागि आउनुपर्ने हुन्छ । ढिलाइ गरेमा सन्तान हुने सम्भावना टर्नसक्छ ।


किन बस्छ आकस्मिक गर्भ ?
हुन त कतिपयमा चाहना बिना नै गर्भ बस्ने गरेको पाइन्छ । उनीहरुमा सुरक्षित र असुरक्षित यौनसम्पर्कको विधिबारे ज्ञान नभएर हो । ओभुलेसन पिरियडमा यौनसम्बन्ध राख्दा गर्भ बस्ने गर्छ । आजकल कतिपयले ओभुलेसन पिरियडबारे जानकारी लिन मोबाइल एपहरु प्रयोग गर्छन् । ओभुलेसन महिनावारी साइकलमा निर्भर हुन्छ । त्यसकारण आफ्नो महिनावारी साइकल राम्रोसँग याद गर्नुपर्छ । ओभुलेसन भएको ठीक १४ दिनपछि महिनावारी हुन्छ । यसरी महिनावारी भएको १४ दिनपछिको समयमा असुरक्षित यौन सम्पर्क गर्दा गर्भ रहन्छ । ( डा. शर्मा होप फर्टिलिटी सेन्टरमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्