Logo
|
Thursday 28th March 2024
Logo

epaper

क्यान्सरमा खानपान र जीवनशैली

क्यान्सरबाट बच्न कस्तो खानपान अवलम्बन गर्ने ?



क्यान्सर रोग विश्वभरनै चिन्ताको विषय बनेको छ । व्यस्त जीवनशैली, कम शारीरिक परिश्रम, अस्वस्थकर खानपान र तनावपूर्ण जीवनशैली यसका प्रमुख कारक तत्वहरु हुन । स्वस्थकर, सन्तुलित, पोषिलो एवं वनस्पतिजन्य खानेकुरा सेवन गर्दा ३० देखी ५० प्रतिशतसम्म क्यान्सर रोगबाट बच्न सकिने विभिन्न अध्यन अनुसन्धानले प्रमाणित गरेकोे छ । अमेरिकन इन्ट्च्यिुट अफ क्यान्सर रिसर्चको तथ्याङ्क हेर्दा सन् २०१८ सम्म विश्वभर १८.१ मिलियन क्यान्सरका नयाँ रोगीहरु पत्ता लागेका छन् । हालसम्म क्यान्सरका कारण ९.७ मिलियन मानिसले ज्यान गुमाइसकेका छन ।

क्यान्सरका प्रकार
क्यान्सरका बिभिन्न प्रकार छन । पाठेघरको क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर, प्रोस्टेट क्यान्सर, पाठेघरको मुखको क्यान्सर आदि प्रमुख रहेका छन । हरेक वर्षको फेब्रुअरी महिनालाई क्यान्सर सचेतनामुलक महिना रुपमा मनाइन्छ । नेपालमा वार्षिक १० हजार महिलालाई पाठेघरको क्यान्सर हुने तथ्याङ्कले देखाउँछ । महिलाहरु अझैपनि कतिपय रोग लुकाएर बस्छन् । असाध्यै गाह्रो वा जटिल स्टेजमा पुगिसेपछि मात्र अस्पताल जाने गर्छन । घरपरिवार र आफन्तले नराम्रो सोच्लान भनेर समयमा उपचार गराउन हिचकिचाउँछन् । जसले गर्दा क्यान्सर जटिल स्टेजमा पुगिसकेको हुन्छ । विकसित देशमा पाठेघरको मुखको क्यान्सर ६ प्रतिशतमात्र पाइएको छ । त्यसैगरी पाठेघरको क्यान्सरको अवस्था पनि उस्तै छ । करिब ३० देखी ६५ वर्षको उमेर समुहका महिलाहरुलाई पाठेघरको क्यान्सर हुने गरेको पाइन्छ । समयमै क्यान्सरको पहिचान र उपचार पाए यो ज्यानलेवा रोगबाट बच्न पनि सकिन्छ ।

अहिले विभिन्न अस्पतालहरुले समय समयमा निशुल्क क्यान्सरको स्क्रिनिङ गरिरहेका छन् । तर विडम्बना क्यान्सर स्क्रिनिङ निशुल्कै भएपनि मानिसहरु जचाउँन झर्को मान्छन । रोगले असाध्यै गाँजेर सिकिस्तै भएपनि मात्र अस्पताल जाने गर्छन ।


पाठेघरको मुखको क्यान्सर छ छैन भनेर प्याप स्मियर जाँच गरेर पत्ता लगाउन सकिन्छ । करिब ९० प्रतिशत महिलाहरुको प्यापस्मियर, लिक्विड टेस्ट र भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड (भिआइए) को जाँच गरेर प्रारम्भिक चरणमै क्यान्सर पहिचान हुन सक्छ । यो जाँच हरेक ३ देखी ५ वर्षमा १ पटक गर्नुपर्ने हुन्छ । यो जाँच २१ देखी ६५ वर्षको उमेर समुहका महिलाहरुले गर्न सक्छन । क्यान्सर रोगको उपचार शल्यक्रिया, केमोथेरापी र रेडियसन विधिबाट बिरामीको अवस्था हेरेर गरिन्छ ।

क्यान्सरबाट बच्न कस्तो खानपान अवलम्बन गर्ने ?
अत्याधिक मद्यपान, धुम्रपनपान, अस्वस्थकर खानपान र जीवनशैली, मोटोपना आदि क्यान्सरका कारक तत्वहरु हुन । हामीले आफ्नो दैनिक भोजनमा प्रयाप्त मात्रामा तरकारी, सागपात, मौसम अनुसारको फलफूल , वनस्पतिजन्य समुहको खानेकुरा समावेश गर्नुपर्छ । साथै सक्रिय जीवनशैली र तौल नियन्त्रणमा विशेष ध्यान दिनुपर्छ । त्यसैगरी धुम्रपान, मद्यपानबाट टाढा रहनुपर्छ । खानेकुरा एकैचोटी धेरै खानुहुँदैन । थोरै खाने बरु पटक पटक खाने बानी बसाल्नुपर्छ । खाना खाएपछि कम्तीमा ३ घण्टा सुत्नुहुँदैन । हामीले आफ्नो खानामा २ र ३ भाग तरकारी, फलफूल , सलाद्, रेसायुक्त अन्न , दाल , बिऊहरु, गेडागुडि, आदि समावेश गर्नुपर्छ । हप्ताको पाँच दिन दैनिक ३० मिनेट जति हिडडुल गर्नुपर्छ । त्यस्तै हप्तामा १५० मिनेट शारीरिक व्यायाम पनि गर्ने बानी बसाल्नुपर्छ ।

सोया प्रोटिन, टोफू स्तन क्यान्सर र मोनोपज (महिनावारी बन्द हुने) का लागी त वरदान नै हो । क्यन्सर नियन्त्रणका लागी अमेरिकन क्यान्सर अनुसन्धान संस्थाले प्रयाप्त फलफूल, तरकारी , रेसायुक्त, खानेकुरा, हरियो सलाद आदिको सेवन गर्न सुझाएको छ । प्रत्येक दिन कम्तीमा पाँच पटक सम्म हरियो सागपात, तरकारी , सलादको प्रयोगले मुखको क्यान्सर निको हुने अमेरिकन क्यान्सर अनुसन्धानले देखाएको छ ।


मुखको क्यान्सरको लागि, तरकारी, फलफूलको स्मुदिज (लेदो) ताजा सुप , मनतातो वा कोठाको तापक्रममा हुने गरी दिने, विभिन्न दालहरुको सुप,क्वाटि झोल, दही, मोही, ओटमिल्, , थोरै मात्रामा बदाम बिऊहरु, काजु, ओखर, सुर्यमुखीको बिऊ, आलस, आदि समावेश गर्नुपर्छ ।
वनस्पतिजन्य खाद्यपदार्थमा एन्टि अक्सिडेनट र एन्टि इन्फ्लामेन्टरी र भिटामिनहरु हुने भएकाले क्यान्सर रोकथाममा सहयोग गर्दछ । यिनीहरूमा प्राकृतिक फायटो कम्पाउन्ड जस्तै क्यारोटेनोइड र पोलोफेनोल भएकोले शरीरमा एन्टि अक्सिडेन्टको काम गर्छ । आफ्नो दैनिक भोजनमा रेसायुक्त अन्न ,तरकारी तथा फलफूल आदिको प्रयोग गर्नुपर्छ।


हामीले सकभर आफ्नै घरमा बनेका स्वस्थ खानेकुरा खाने बानी बसाल्नुपर्छ । बाहिरको खानेकुरामा कटौती गर्नु नै बेस हुन्छ । सकभर वनस्पतिजन्य पदार्थको बढी सेवन गर्नुपर्छ । रातो मासु, तयारी खानेकुरा, जंकफुड आदि कम खाने बानी बसाल्नुपर्छ । क्यान्सर निको भइसकेको बिरामीले पनि स्वास्थकर खानपानमा विशेष ध्यान दिनुपर्छ ।

वनस्पतिजन्य खाद्यपदार्थको आफ्नै रमाइलोपन छ । यसको कुनै नकारात्मक पक्ष वा हानी नोक्सानी छैन । हरेक पटकको खानामा बिभिन्न रङका खानेकुराको समिश्रण भोजनमा दैनिक रुपमा समाबेस गरेकोे खण्डमा झन नयाँ रेसिपी बनाएर त्यसको मज्जा लिन सकिन्छ ।
सधैं ताजा र कलरफुल खानेकुरा आफ्नो थालमा पस्किने बानी बसालौँ । सेतो रङ भएको खाना शक्तिवर्धक हुन्छन ।जस्तै खाना, रोटी, पास्ता, आदि । पहेँलो रङ भएको खानामा भिटामिन र खनिज पाइन्छ । जस्तै, ताजा फलफूल तरकारी, हरियो, सागपात, तरकारी आदि ।

This image has an empty alt attribute; its file name is AICR-NAP-Infographic-small.png

आफ्नो खानामा अत्याधिक मात्रामा पिरोको प्रयोग नगरौँ । किनकि बढी पिरोको प्रयोगले खानेकुरामा भएको पोषक तत्व नष्ट हुन सक्छ ।
आफ्नो उमेर, तौल, रुची, कामको किसिम हेरेर आफ्नो थाल वा पोरसन साइज कति, चाहिने हो, कति खाँदा हामी स्वस्थ हुने त्यो सबै बिचार पुर्याएर थालको छनौट गर्नुपर्ने हुन्छ । नयाँ अमेरिकन प्लेट जुन सबैका लागी अत्ति नै उपयोगी रहेको छ । जसमा बिभिन्न खण्डमा मनै लोभ्याउने कलरहरुको खानेकुराहरु समाबेस गरिएको छ । यो प्लेट हरेक वर्ग, उमेर समुहका लागी अत्ति नै उपयोगी रहेको छ ।


थप मात्रामा गुलियो पदार्थको प्रयोग जम्मा क्यालोरिको १० प्रतिशतमात्र उपयोगमा ल्याउन भनेको छ। हामी गुलियो अर्थात चिनिको प्रयोग खिर, डेजर्ट, हलुवा, सर्वत, क्यान्डी आदिमा प्रयोग गर्छौँ । तर अत्याधिक मात्रामा प्रयोग गर्दा मोटोपना र मधुमेह रोग लाग्ने सम्भवना रहन्छ । नियमित शारिरिक अभ्यास गर्ने, समय समयमा आफ्नो चिकित्सकको उचित सल्लाह लिने, औषधिको उचित तथा नियमित प्रयोग गर्ने, आफ्नो रोगको बारेमा चिकित्सकलाइ सबै जानकारी दिने, स्वस्थ रहने, तनावमुक्त रहने, समयमा खानेकुरा खाने र सुत्ने बानि बसाले क्यान्सर जस्तो घातक रोगबाट बच्न सकिन्छ । (पोषण विज्ञ शाह कीर्तिपुर वर्न अस्पताल र मार्क इन्टरनेशनल किड्नी सेन्टरमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्