Logo
|
Sunday 5th May 2024
Logo

epaper

कोरोनासँगै अर्को एउटा लहर: ब्ल्याक फंगस



कोरोना भाइरस संक्रमणले देश नै आक्रान्त बनिरहेको बेला कालो ढुसी ‘ब्ल्याक फगंस’ को संक्रमणले अर्को समस्या ल्याउने जोखिम बढाइरहेको छ । यसलाई म्यूकोरमाइकोसिस भनिन्छ । छिमेकी राष्ट्र भारतमा यो महामारीको रूपमा घोषित भइसकेको छ । खासगरी गुजरात, महाराष्ट्र, र आन्ध्र प्रदेश जस्ता राज्यहरूमा झन्डै ९ हजार भन्दा बढीमा म्यूकोरमाइकोसिसको संक्रमण देखिएको बीबीसी इण्डियाले जनाएको छ । नेपालको बीरगञ्जमा पनि यो संक्रमण देखिन थालेको छ ।

तपाईंले गर्मी मौसमतिर ओसिलो वातावरणमा बासी पाउरोटी बाहिर राख्दा ढुसी परेको त पक्कै देख्नु भएको होला । हो म्यूकोर माईकोसिस अर्थात कालो ढुसी पनि त्यस्तै प्रकारको ढुसी हो । यो ओसिलो ठाउँमा बढी देखिन्छ । त्यसकारण कालो ढुसीको संक्रमण आँखा, नाक र ओठ वरपर बढी देखिन्छ । चिनी, गुलियो पदार्थले पनि म्यूकोरमाइकोसिस निर्माण गर्न मद्धत पु¥याउँछ ।

खासगरी मधुमेह रोगी र कोभिड–१९ संक्रमितको उपचारका क्रममा स्टेरोइड औषधिको प्रयोग गरिन्छ । स्टेरोइड प्रयोगपछि रगतमा चिनीको मात्रा बढ्ने समूहमा कालो ढुसीको संक्रमण देखिन सक्छ । यो एकदमै कम देखिने, कम हुने रोग हो ।

कालो ढुसीको संक्रमण एचआईभी संक्रमित, अनियन्त्रित मधुमेहका बिरामीलाई कहिलेकाहीँ देखिने गरेको थियो । तर कोरोना भाइरस र फंगल इन्फेक्सनको सम्बन्ध भने वैज्ञानिकहरूका लागि अध्ययनको बिषय बनेको छ । कोरोनाको पहिलो लहरमा पनि स्टेरोइड प्रयोग गरिएको थियो । तर त्यतिबेला यो ढुसीको संक्रमण देखिएको थिएन । तसर्थ यो नयाँ भेरियन्टसँग सम्बधित पनि हुन सक्ला । कोरोना संक्रमणमा देखिएको यो म्यूकोरमाइकोसिसलाई कोभिड एसोसिएट म्यूकोरमाइकोसिस (क्याम) भनिएको छ ।

पछिल्लो समयमा भारतमा कोभिड-१९ बाट निको भएका व्यक्तिहरुमा म्यूकोरमाइकोसिस संक्रमण देखापरेको छ । भारतको महाराष्ट्रमा मात्र दुई हजारभन्दा बढीमा समस्या देखिएको छ ।

म्यूकरमाइकोसिसको संक्रमण हुँदा आँखा सुनिने, आँखा दुख्ने, धमिलो देख्ने तथा आँखाबाट रगत जस्तो तरल पदार्थ बग्ने जस्ता लक्षण देखिन्छन् । बिरामीले समयमै उपचार नपाए आँखाको ज्योति नै गुम्नसक्ने खतरा हुन्छ । कालो ढुसीको संक्रमण नेपालमा पनि देखिन थालेको छ । त्यसकारण सरकार बढी सजक हुन जरूरी छ ।

यो ढुसी खासगरी माटो, बोटबिरुवा, मल, र कुहिने फलफूल तथा तरकारीहरूमा पाइन्छ । उष्ण मौसम, आद्र्र र ओसीलो वातावरण मा फंगस विकसित हुन्छ ।

यसले साइनस, मस्तिष्क र फोक्सोलाई असर पुर्याउन सक्छ । साथै मधुमेह र रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्ति जस्तैः क्यान्सर बिरामी, एचआईभी संक्रमित मिर्गौला र मुटुका रोग भएका व्यक्तिहरु कालो ढुसी संक्रमणको उच्च जोखिममा पर्न सक्छन् ।

यसको मतलब यो होइन कि हरेक कोविड संक्रमित बिरामीलाई म्युकोरमाइकोसिसले संक्रमित गर्छ । यो असामान्य रोग हो । डायविटिजका र कोभिड–१९ संक्रमित बिरामीको आँखा, नाकमा ढुसी जम्न सक्छ । यो दिमाग भित्र फैलियो भने बिरामीको मृत्यु पनि हुन सक्छ । फंगल एउटा मानिसबाट अर्को मा सर्दैन । एकदमै कमजोर शरीर भएकोलाई देखा पर्नसक्छ ।

सामान्य अवस्थामा हाम्रो शरीरले फंगस सँग लड्न सक्छ । तर कोविड आफैँमा एउटा असामान्य अवस्था भएको हुँदा, कोबिड सँग जुद्धै गरेको शरीर पहिले नै कमजोर भइसकेको हुन्छ । यसकारण हाम्रो शरीरले फंगस सँग लड्न सक्दैन ।

कस्तो अवस्थामा उपचारको खोजी गर्ने ?

—यदि अचानक आँखामा सूजन महसूस भएमा

—एकतर्फी टाउको दुखाइ भएमा

—अनुहारमा दुखाइ तथा रातोपन देखिएमा

—चबाउन वा निल्न कठिनाई भएमा

—दाँत तथा मुख दुःखेमा वा मुख भित्र सुन्निएको महसूस भएमा

—अचानक आँखाको देख्ने शक्ति कम भएमा

—धमिलो देखाई अथवा डबल विजन (एउटा चीजलाई दुइवटा देख्ने) भए मा

—नाक बन्द भएमा

—नाकबाट रगत बगेमा, नाकमा सिंगान जमेमा, सिंगानको पाप्रा कालो ढिक्का भएर बसेमा

यस्तो अवस्थामा व्ल्याक फगंलको लक्षण हुनसक्छ । त्यसैले तत्काल चिकित्सकलाई सम्पर्क गरी परामर्श लिनुहोला ।

यो एन्टिफंगल अर्थात फंगस बिरूद्ध काम गर्ने औषधिले उपचार गर्न सकिन्छ । केहि अवस्थाहरूमा शल्यक्रियाको आवश्यकता पनि पर्न सक्छ । समयमै उपचार नभएमा आँखाको ज्योति नै गुम्ने खतरा हुनसक्छ र व्यक्तिको मृत्यु पनि हुनसक्छ ।

यो रोगको उपचारमा प्रयोग गरिने औषधि लिपोसोमल ऐमफोटेरीसिन बी हाम्रो देश नेपालमा सजिलै उपलव्ध हुन सक्दैन । त्यसैले औषधिको एउटा ठुलो चुनौति सामना गर्नुपर्ने हुनसक्छ । तसर्थ सम्बन्धित निकायले समयमै ध्यान दिन जरूरी छ ।

यसबाट जोगिन के गर्ने ?

—खोप लगाउनुहोस, सही तरिकाले मास्कको प्रयोग गर्न नभुल्होला ।

— डाक्टरको सल्लाह बिना कुनै स्टेरोइड औषधिको प्रयोग नगर्नु होस् ।

— मधुमेह र सुगर लेवल नियन्त्रण गर्नुहोस् । सुगरको मात्रा नियमित जाँच गर्र्नुहोस् ।

—सन्तुलित आहारबिहारलाई पालना गर्नुहोस् । सबै आवश्यक पोषक तत्वहरू समावेश गर्ने प्रयास गर्नुहोस् । यसले प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ ।

—धुलो भएको ठाउँबाट टाढा रहनुहोस् । धुलोबाट जोगिनुहोस् ।

कोविड भएर घरमा आइसोलेसनमा बस्नु भएको छ भने सफा वातावरणमा बस्नुहोस् र आत्माबल बलियो बनाउनुहोस् ।

—ह्युमिडिफायर प्रयोग गर्नुहुन्छ भने स्वच्छ पानी प्रयोग गर्नुहोस् ।

—माटो वा मल छुने क्रममा जुत्ता, लामो सुरूवाल, लामो बाहुला भएको लुगा र पन्जा लगाउनुहोस् ।

—कुनै शंकास्पद ललक्षण देखिएमा तुरुन्त अस्पताल जानुहोस् ।

शुरुमै रोग थाहा पाउन सकेमा उपचार गर्न सकिन्छ । यदि ढिलो गरेमा क्षति व्यहोर्नुबाहेक अर्को विकल्प हुन सक्दैन । अतः आत्मबल उच्च राखौं र सकारात्मक सोच बनाएर व्ल्याक फंगबाट जोगऔं ।

प्रतिक्रिया दिनुहोस्