Logo
|
Friday 26th April 2024
Logo

epaper

कोभिड-१९ सङ्क्रमणमुक्त भएपछि कस्ता स्वास्थ्य समस्या देखिन्छन् र कस्तो अवस्थामा अस्पताल जाने ?



जनस्वास्थ्य सरोकार । नेपालमा कोरोनाभाइरस महामारीको दोस्रो लहरका क्रममा सङ्क्रमणबाट मुक्त भएका व्यक्तिहरू विभिन्न स्वास्थ्य समस्या लिएर अस्पतालमा आउने गरेको चिकित्सकहरूले बताएका छन्।

उनीहरूका अनुसार कोभिडका कारण लामो समय अस्पतालमा उपचार गराएर घर फर्किएका तथा घरैमा बसेर निको भएका बिरामीमा स्वास्थ्य समस्या देखिने गरेको छ।

चिकित्सकहरूले “कोभिडपछि देखा पर्ने स्वास्थ्य समस्या” (अक्यूट कोभिड-१९ सिन्ड्रोम) बारे धेरै मानिसले अनावश्यक चिन्ता लिएको पाइएको बताएका छन्।

कोभिडपछि देखा पर्ने समस्याबारे कतिपयले सामाजिक सञ्जालमा ‘भ्रमपूर्ण सामग्रीहरू प्रचारप्रसार’ गर्ने गरेको पाइएको विज्ञहरू बताउँछन्।

उनीहरूका भनाइमा कोभिडपछि देखा पर्ने केही सामान्य लक्षणमा बिरामी आत्तिनुपर्ने हुँदैन भने केही गम्भीर लक्षण देखिएमा तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ।

बिरामीको सङ्ख्या

हिजोआज अस्पतालमा कैयौँ बिरामी कोभिडपछिको स्वास्थ्य समस्या लिएर आउने गरेको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ।

तिनैमध्येका एक निजामती अस्पताल बानेश्वरका वरिष्ठ छातीरोग विशेषज्ञ डा. विदेश बिष्ट भन्छन्, “अहिले मैले ओपीडीमा बसेर हेर्नेमध्ये करिब ९० प्रतिशत बिरामी पोस्ट-कोभिडकै लक्षण भएकाहरू छन्।”

उनका अनुसार अस्पतालले चलाएको कोभिड ओपीडीमा आउने धेरै बिरामीले कोभिडपछिको समस्या लिएर आउने गरेका छन्। त्यस्तोमा पनि घरमै आइसोलेशनमा बसेर आएकाहरू धेरै हुने गरेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च यूनिटका प्रमुख डा. शेरबहादुर पुनका भनाइमा अहिले नेपाल कोरोनाभाइरसको दोस्रो लहरको उच्च बिन्दुमा पुगेर बिस्तारै सङ्क्रमण कम हुन सुरु गरेका बेला कोभिडपछिको समस्या लिएर आउनेहरू अस्पतालमा बढ्न थालेका छन्।

उनी भन्छन्, “पहिलो लहरमा पनि सङ्क्रमण कम हुँदै जाँदा यस्तो समस्या लिएर आउनेहरू बढेका थिए। यसपालि पनि सुरु भएको छ।”

कस्ता समस्या देखा परेका छन्

सामान्यतया कोभिड निको भएपछि पनि बिरामीमा केही लक्षणहरू केही समयसम्म रहिरहन सक्ने चिकित्सकहरूको भनाइ छ। तर कतिपयमा भने लामै समय कोभिड हुँदाका जस्ता लक्षणहरू पनि रहेको पाइएको उनीहरू बताउँछन्।

आफ्नो अस्पतालमा छाती दुख्ने, असजिलो महसुस हुने, भर्‍याङ चढ्दा स्याँस्याँ हुने, निद्रा नलाग्ने, आलस्य हुने, मांसपेशी दुख्ने जस्ता समस्या लिएर आउने बिरामी बढेको डा. बिष्ट बताउँछन्।

उनका अनुभवमा कोरोनाभाइरसमुक्त भइसकेपछि पनि धेरै मानिसहरूले “अतिचिन्ता लिएका कारण” यस्तो समस्या देखा परेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकै सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोलाका भनाइमा कतिपयमा कोभिडपछि पनि खोकी लागिरहने, छाती दुख्ने, थकान महसुस हुने, डर र चिन्ता लाग्ने, मुटुसम्बन्धी समस्यालगायतका लक्षण देखा पर्न सक्छन्।

उनी कोभिडबाट गम्भीर बिरामी भई अस्पताल भर्ना भएका कैयौँ व्यक्तिमा पनि यस्ता समस्याहरू देखा परेको बताउँछन्।

कस्तो अवस्थामा अस्पताल जाने

यी समस्याहरू कोभिडपछि केही महिनासम्म देखिनु सामान्य नै भएको उनको भनाइ छ। “तर एक्कासि छाती धेरै दुख्न थाल्यो, खोकी लागेको लाग्यै गर्‍यो र ज्वरो आयो भने अस्पताल जानुपर्छ,” उनी भन्छन्।

बास्तोलाका अनुसार कतिपयमा शरीरका कुनै भाग नचल्ने जस्ता समस्या पनि हुनसक्छन्। त्यस्तो बेलामा पनि अस्पताल जान उनी सुझाव दिन्छन्।

अस्पतालमै उपचार गराएका व्यक्तिहरूले चिकित्सकले नियमित जँचाउन आउन बोलाएका बेला नियमित जान छाड्नु नहुने बास्तोलाको भनाइ छ।

तर सामान्य खोकी वा कहिलेकहीँ हल्का छाती दुख्ने तथा थकानलगायका कुरामा अस्पताल नै दौडिहाल्नुपर्ने नहुने उनले बताए।

मनोवैज्ञानिक समस्या

डा. पुनका अनुसार कोभिड निको भएपछि कैयौँ व्यक्तिमा शारीरिक रूपमा खासै केही नभए पनि मानसिक समस्या पाइने गरेको छ।

डर लाग्ने, चिन्ता हुने र निद्रा नलाग्ने समस्या धेरैमा देखिने गरेको उनी बताउँछन्। त्यस्तो अवस्थामा चिकित्सकहरूले उचित परामर्श दिनुपर्ने पुनको भनाइ छ।

“यस्तो समस्याहरू देखिएका व्यक्तिले सुरुमा जेनरल फिजिशनसँग भेटेर हेर्ने र कुनै अङ्कसम्बन्धी समस्या भए विशेषज्ञलाई भेट्ने गर्नुपर्छ,” उनी भन्छन्।

“यदि सबै कुरा ठिक छ भने परामर्श लिनुपर्ने हुन्छ र चिकित्सकले पनि परामर्श दिनु एकदमै खाँचो छ।”

उनी चिकित्सकले नै कोभिडपछिका मानसिक समस्या लिएर आउनेलाई मनोविद् वा मानसिक स्वास्थ्यविज्ञसमक्ष जान सुझाउनुपर्ने बताउँछन्। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्