Logo
|
Thursday 25th April 2024
Logo

epaper

पनौती नगरपालिकाले बालबालिकाका लागि ३० शैय्याको आइसोलेशन सेन्टर बनाउँदै



जनस्वास्थ्य सरोकार, काभ्रेपलाञ्चोक । आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएका रिपोर्ट आउन थालेपछि पनौती नगरपालिकाले बालबालिकाका लागि यही असारमै आइसोलेशन निर्माण थालेको छ ।

नगरपालिकाले वडा नं ४ कार्यालयमा हाललाई ३० शय्याको आइसोलेशन बनाउन थालेको हो ।

स्थानीय रोटरी नेपालसँगको सहकार्यमा अक्सिजनसहितको आइसोलेशन बनाउन थालिएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले बताउनुभयो । “सम्भावित दुर्घटनाबाट बालबालिकालाई जोगाउन अहिल्यै पूर्वतयारीस्वरुप आइसोलेशन बनाउन थालेका हौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार तत्कालीन अवस्थामा आवश्यकता परे वैकल्पिक व्यवस्थापनका लागि समेत नगरपालिकामा छलफल भइरहेको छ ।

नगरपालिकाले कोरोनाको दोस्रो लहर शुरु भएपछि वैशाख अन्तिम साता २५ शय्याको अक्सिजनसहितको आइसोलेशन व्यवस्थित गरेको थियो । पनौतीमा हाल ८० महिलासहित १५८ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने दुई दर्जन बढीको मृत्यु भएको छ ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले गत जेठ अन्तिम साता आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएअनुसार जिल्लास्थित अस्पताललाई २०५ शय्या छुट्याउन लगाउने निर्णय गरेको छ ।

धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, बनेपास्थित शिरमेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणका २०५ शय्या छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताउनुभयो । उहाँका अनुसार प्रक्षेपणअनुसार बालबालिकामा सङ्क्रमण फैलिए स्थानीय तहलाई समेत बालबालिकाका लागि छुट्टै अक्सिजनसहितको आइसोलेशनकक्ष निर्माण गर्न लगाइनेछ । रासस

प्रतिक्रिया दिनुहोस्