Logo
|
Sunday 24th October 2021
E-paper Magazine

भारतमा कोरोनाको तेस्रो लहर आउने चिन्ता, कस्तो छ पूर्वतयारी ?

विज्ञ भन्छ 'अबको १२ देखि १६ हप्तामा तेस्रो लहर आउन सक्छ'



जनस्वास्थ्य सरोकार । कोभिड-१९ को दोस्रो लहरले एप्रिल र मे महिनामा ल्याएको प्रकोपपछि भारत बिस्तारै खुला हुन थालेको छ। तर विज्ञहरूले तेस्रो लहर अबको केही महिनामा आउने चेतावनी दिएका छन्।

अदालतहरूले राज्य सरकारहरूलाई तयारीका बारेमा प्रश्न गरेका छन् भने विज्ञहरूले अबको १२ देखि १६ हप्तामा तेस्रो लहर आउना सक्ने बताएका छन्।

अन्य थुप्रैलाई भने डेल्टा प्लस भनिएको नयाँ भेरिअन्टले अहिलेको खोपलाई कमजोर तुल्याउने चिन्ता छ।

डेल्टा प्लस नेपालमा पनि भेटिएको ए वाई १ भेरिअन्ट हो।

भारतमा गत वर्ष पहिलो पटक भेटिएको डेल्टा भेरिअन्ट अहिलेको घातक दोस्रो लहरका लागि जिम्मेवार मानिन्छ।

तर नयाँ लहरको चिन्ता कत्तिको जायज हो? प्रकोपको लहरहरू आउनु स्वाभाविक भए पनि त्यसको खतरा र फैलावट भने धेरै कारणमा आधारित हुन्छ।

कोभिड सुरक्षा निर्देशिका

अहिले भारतमा दैनिक सङ्क्रमण सङ्ख्या ५०,००० को हाराहारीमा छ। गत मेमा यो दैनिक चार लाखको हाराहारीमा पुगेको थियो।

सङ्क्रमण कम हुनुको कारक राज्य सरकारले लगाएको कडा निषेधाज्ञालाई मानिएको छ।

दोस्रो लहरका लागि बजारको भिड, चुनावी प्रदर्शनहरू र धार्मिक आयोजनहरूलाई जिम्मेवार मानिएको थियो।

अन्य कारणहरूमा गलत नीतिगत निर्णयहरू, कमजोर निरीक्षण र खतराका सङ्केतहरूलाई गरिएको बेवास्ता मानिएका थिए।

यदि यस्तै गल्तीहरू दोहोरिए तेस्रो लहर छिट्टै आउने विज्ञहरू बताउँछन्।

सार्वजनिक नीति तथा स्वास्थ्य प्रणाली विज्ञ डा. चन्द्रकान्त लहरिया भारत अहिले जोखिमपूर्ण स्थितिमा रहेको र अगामी लहर कस्तो हुन्छ भन्ने मानिसहरूको व्यवहारमा भर पर्ने बताउँछन्।

राज्य सरकारले अर्थव्यवस्थालाई बिस्तारै खुकुलो बनाउनु महत्त्वपूर्ण रहेको बताउँदै डा. लहरिया भन्छन्,”यदि हामीले हतारमा अर्थतन्त्रलाई खोल्यौँ र मानिसहरूले कोभिडको सुरक्षा निर्देशिका पालना गरेनन् भने हामी भाइरसलाई छिटो फैलिन मद्दत गर्नेछौँ।”

उनी स्थानीय स्तरमा सुरक्षा निर्देशिका पालना हुनुपर्ने बताउँछन्। कुनै बजार वा व्यवसायले पालना गरेनन् भने उनीहरूलाई दण्डित गरिनुपर्ने उनको भनाइ छ।

नयाँ भेरिअन्टबाट खतरा छ?

भारतको दोस्रो लहरका लागि डेल्टा भेरिअन्ट प्रमुख जिम्मेवार थियो।

विज्ञहरू जोखिममा रहेका जनसङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण भइरहने हो भने थप यस्ता भेरिअन्टहरू देखिने बताउँछन्।

भारतीय सरकारले डेल्टा प्लसलाई “चिन्ताको भेरिअन्ट” भनेर वर्गीकरण गरेको छ। तर अहिलेसम्म यसले तेस्रो लहर ल्याउँछ भनेर भन्न यथेष्ट तथ्याङ्क छैन।

तर विज्ञहरू यो अवस्था केही सातामै फेरिन सक्ने दाबी गर्छन्।

सङ्क्रामक रोग विशेषज्ञ डा. ललित कान्त भाइरस फैलिन जारी रहेसम्म नयाँ भेरिअन्टले अहिले प्राप्त उपलब्धिलाई भताभुङ्ग पार्न सक्ने अवस्था रहन्छ।

“हामीले सिक्वेन्सिङ्लाई व्यापक बनाएर नयाँ भेरिअन्टलाई समयमै पहिचान गर्ने र नियन्त्रणका कदम चाल्ने कार्यलाई तीव्र बनाउनु पर्छ,” उनले थपे।

भारतले जुनसम्म ३०,००० नमुनाको सिक्वेन्सिङ् गरेको छ तर यो कम भएको बताइन्छ।

हजारौँ कोभिड बिरामीको उपचार गरेका डा. ए फाथाउद्दिन खोपले अहिले देखिएका भेरिअन्टमा काम गरेको देखिए पनि नयाँ भेरिअन्टमा काम गर्ने कुनै निश्चितता नभएको बताउँछन्।

खोप लगाएका व्यक्तिहरू बिरामी परेको दृष्टान्तहरू पनि छन्।

उनी थप लहरहरू अवश्यम्भावी रहेको तर “उत्परिवर्तनहरू थाहा पाउन सिक्वेन्सिङ्लाई व्यापक बनाउने र सुरक्षा निर्देशिकालाई कडा रूपमा पालना गर्न लगाएर त्यसलाई ढिलो र नियन्त्रण गर्न सकिने” बनाउन सकिने बताउँछन्।

“यदि हामीले त्यस्तो गरेनौँ भने तेस्रो लहर हामीले सोचेभन्दा छिटो आउन सक्छ।”

खोप र एन्टिबडीले रोक्छ?

तेस्रो लहर कत्तिको खतरनाक हुन्छ भन्ने कुरा जनसङ्ख्याको रोग प्रतिरोधी क्षमतामा भर पर्छ। त्यस्तो क्षमता सङ्क्रमित भएर निको भएका वा खोप लगाएका मानिसमा हुन्छ।

भारतले विगत दुई साता ३२ लाख ५० हजार मात्रा प्रतिदिनका दरले खोप दिएको छ। तर सन् २०२१ को अन्त्यसम्ममा सबैलाई खोप दिने लक्ष्य प्राप्तिका लागि प्रतिदिन झन्डै ९० लाख मात्रा खोप दिनुपर्छ।

अहिलेसम्म चार प्रतिशत भारतीयले दुई मात्रा खोप र १८ प्रतिशतले एक मात्रा खोप पाएका छन्।

डा. लहरियाका अनुसार खोपको गति बढेन भने दशौँ लाख भारतीय जोखिममै हुनेछन्।

सङ्क्रमित भएर एन्टिबडी विकास गरेका भारतीयहरूको सङ्ख्या यकिन गर्न सहज छैन।

धेरै सहर र गाउँहरूमा यथेष्ट परीक्षण नभएका कारण सङ्क्रमणको सङ्ख्या थाहा हुने अवस्था छैन।

कोभिडका कारण मृत्यु भएकाहरूको तथ्याङ्क समेत विश्वासिलो नभएको बताइन्छ।

डा. लहरिया भने ५५ देखि ६० प्रतिशत व्यक्तिमा एन्टिबडी भएको हुन सक्ने अनुमान गर्छन्।

गणित विज्ञ तथा अशोका विश्वविद्यालयका प्राध्यापक गौतम मेनन त्यो सङ्ख्या ६० देखि ७० प्रतिशत भएको अनुमान गर्छन्। उनी भारतमा दोस्रो लहरको बेलामा जस्तो खतरनाक अवस्था अन्य लहरको बेलामा भोग्न नपर्ने कुरामा विश्वस्त छन्। तर उनी ढुक्क बस्न भने नहुने बताउँछन्।

“मेरो अनुमान सही भए पनि अझै २० देखि ३० प्रतिशत मानिसहरू बाँकी छन्। त्यसैले हामीले सङ्क्रमण बढेको छिटो थाहा हुने गरी सतर्क हुनु पर्छ।”

विज्ञहरू भारतमा अझै जोखिममा रहेका जनसङ्ख्या धेरै भएको र अझै खतरनाक भेरिअन्टको खतरा रहेकोले कोभिडलाई हल्का रूपमा लिन नहुनेमा एक मत छन्।

“तेस्रो लहर त आउँछ तर यसलाई ढिलो र नियन्त्रण गर्ने हाम्रै हातमा छ,” डा. फाथाउद्दिन भन्छन्। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्