Logo
|
Sunday 5th May 2024
Logo

epaper

रोग पहिचानमा यस्ता हुन्छन् चुनौती



बम्बईबाट फर्केपछि मेरो नियुक्ति वीरमा नै भयो । म तृतीय श्रेणीको कर्मचारी थिएँ, जुनियर सर्जनको पद दिइयो, मेरो तलब १८० रुपियाँ थियो । डा. अन्जनी कुमार शर्मा सिनियर सर्जन हुनुहुन्थ्यो । मलाई ईमजेन्सी सर्जन (आकस्मिक शल्यक्रिया) को जिम्मा लगाइयो । आमाशयको अल्सर फुटेर ( Peptic ulcer performance), आन्द्रा बटारिएर, हर्निया अड्केर र टाइफाइडको कारण आन्द्रामा प्वाल परेर आउने बिरामीहरु धेरै हुन्थे । पहिले त पेट खोल्ने अपरेशन हुँदै हुँदैनथ्यो । डा. शर्मा बेलायतबाट एफ्आरसिएस् पूरा गरेर फर्कनु भएपछि वीरमा उहाँले नै पेट खोल्ने अपरेसन सुरु गर्नुभएकोे थियो ।

डा. दिनेशनाथ गोंगल, वरिष्ठ सर्जन-उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल


एउटा यस्तै पेट दुखेर आएकी महिलाको अपरेसनमा मैले उहाँलाई सघाएको थिएँ । त्यस बिरामीको एपेन्डिक्स पाकेको भन्ने हाम्रो अनुमान थियो । तर उनको पित्त थैलीमा ढुङ्गा भएको कारणले सुन्निएको रहेछ । डा. शर्माले पित्त थैली निकाल्नुभयो । मलाई थाहा भएसम्म हाम्रो देशमा पहिलो पित्त थैलीको अपरेसन यही भयो । बिरामी ठिक भएर घर फर्किन ।


त्यसबेला बिरामीहरु साह्रो भएपछि मात्र अस्पताल आउने गर्थे, पहिले त झारफुक, धामी–झाँक्री लगाउने । यसले गर्दा अपरेसन गरेपनि मृत्यु हुनेको संख्या धेरै हुन्थ्यो । फेरी त्यतिबेला बिरामीको अवस्था सुधार गरेर, स्लाइन पानी चढाएर, रगतमा हुने महत्वपुर्ण तत्वहरु जस्तै सोडियम, पोटासियमको मात्रा ठीक पारेर अपरेसन गर्दा बाँच्ने अवसर बढी हुन्थ्यो भन्ने ज्ञान आइसकेको थिएन । हाम्रो सकेसम्म चाँडै अपरेसन गर्नुपर्छ भन्ने सोचाइ थियो । अहिले जस्तो सघन उपचार कक्ष (आइसियू) को व्यवस्था पनि थिएन ।


वीरमा सामेल भएको छ महिनापछि मेरो आफ्नो छुट्टै युनिट भयो । मेरो नाममा केही शैया पनि छुट्याइयो । मेरो जिम्मेवारी पनि बढ्यो । चुनौती पनि धेरै थियो तर मैले यसलाई अवसरको रुपमा लिएँ । बिरामी जाँचेकै भरमै धेरै रोग पहिचान गर्नुपथ्र्यो । रगतको जाँचमा दुइचारओटा बाहेक अरु केहि हुँदैनथ्यो । एउटा पुरानो ३०० एम्.एको एक्स–रे मेसिन थियो । यो मेसिन चन्द्रशमशेरको पालामा भित्र्याइएको थियो । चन्द्रशमशेरको पालामा एक चन्द्र औषधि डिस्पेन्सरी र प्याथलोजि विभाग पनि खोलियो ।

यो एक्स–रे मेसिन पुरानो भएपनि रोग पहिचान गर्न मद्धत गर्ने एकमात्र साथी थियो । शरीरका हड्डी भाँचिएको अवस्था पत्ता लगाउन यसको महत्वपुर्ण भूमिका थियो । पेटको रोगहरुमा यसले सहयोगी भूमिका खेल्थयो । आन्द्रा फुटेर निस्केको हावा छातीको डायफ्राम मुनि प्रस्ट देखिन्थ्यो ।

त्यस्तै आन्द्रा बटारिएका बिरामीको एक्स रेमा एक प्रकारका ढाँचा देखिन्छ, जसले बिरामीको सानो वा ठुलो आन्द्रामा रोकावट छ भन्ने बुझिन्छ । मृर्गौला र त्यसका नली र मुत्र थैलीमा रहेको पत्थर नब्बे प्रतिशत एक्स–रेमा प्रस्टसँग आफ्नो उपस्थिति जनाइरहेका हुन्छ । छातीको रोगको लागि पनि यो मेसिन त्यतिनै उपयोगी छ । छातीमा पानी भरेको, निमोनिया भएको, टिबी, क्यान्सरजस्ता रोग एक्स–रे हेरर भन्न सकिन्छ । यो त साधारण जाँचहरुको मात्र कुरा भयो ।


अरु विशेष जाँचहरु प्नि यही चन्द्र शमशेरको पालाको एक्स–रे मेसिनबाट नै गरिन्थ्यो । अर्को बिकल्प पनि त थिएन । त्यसबेला डा रघुवर वैध र डा. अष्टबहादुर श्रेष्ठ रेडियोलोजी विभागमा कार्यरत हुनुहुन्थ्यो । डा. रघुवर वैद्य वेलायतबाट डि.एम्.आर.डी गर्नुहुने पहिलो नेपाली हुनुहुन्थ्यो । साह्रै रमाइलो, साह्रै सहयोगी । मलाई काम गर्न हौस्याउनु हुन्थ्यो । जे एक्स–रे गर्नुपरेपनि आनाकानी गर्नुहुँदैनथ्यो । पछि डा. मधुसुदनलाल मास्के र डा. शङ्करबहादुर सिंह पनि यस विभागमा सामेल हुनुभयो । विशेष एक्स–रेमा बेरियमको झोल खुवाएर आमाशयको अल्सर, ठुलो आन्द्राको क्यान्सर जस्ता रोग पत्ता लगाइन्थ्यो ।

मलाई डा. गजेन्द्र सिंहसँग काम गरेको हुनाले मस्तिष्कको शल्यक्रियामा चाख थियो तर साधारण एक्स–रेले टाउकोको रोग पत्ता लगाउन धेरै मद्धत मिल्दैनथ्यो । टाउकोमा चोट लागेर हड्डी भाँचिएको कुरा त देखिन्थ्यो तर दिमागमा चोट लागेको, रगत जमेको वा ट्युमर भएको भएको कुरा देखाउदैनथ्यो । तर एक न्युरो सर्जन वाल्टर डेण्डीले सन १९१९ तिर टाउकोको रोग निदानका लागि एक तरकिव निकाले जसलाई भन्ट्रिक्यूलोग्राम भनिन्छ । हाम्रो मस्तिष्क दुइ भागमा विभाजित भएको हुन्छ, दाहिने र देब्रे सेरेब्रम जस्को बिच भागमा तरल पदार्थयुक्त एक नली हुन्छ, जसलाई दाहिने र देब्रे भेन्ट्रिकल भनिन्छ । जुन बिचमा आएर जोड्छ र तेस्रो भेन्ट्रिकल बन्छ । तेस्रो भेन्ट्रिकल तल गएर चौथो भन्ट्रिकल हुुँदै मेरुदण्डको बिचमा मध्ये नलीमा निरन्तर हुँदै जान्छ ।

वाल्टर डेण्डीले टाउकोमा प्वाल पारेर भेन्ट्रिकलको तरल पदार्थलाई हावाले विस्थापन गरेर एक्स–रे लिएर मस्तिष्कको भेन्ट्रिकल एक्सरेमा प्रस्ट देखिने विधि बनाए । मैले पनि बम्बइमा त्यो विधि सिकेर आएको थिएँ । यो जाँच गर्न सहज थिएन, बिरामीको लागि पनि मेरो लागि पनि । पहिले त बिरामीलाई अपरेशन कोठामा सुताएर मासु लाटो पार्ने औषधि (लोकल एनेस्थेसिया) दिएर टाउकोमा ड्रिल गरेर प्लाल पार्नुपथ्र्यो । अनि बिरामीलाई स्ट्रेचरमा बोकेर एक्स–रे विभाग लिएर जानुपथ्र्यो ।

पुरानो भवनमा अपरेसन कोठा एक तल्लामा थियो, लिफ्ट थिएन । एक्स–रे गर्ने टेबलमा बिरामीलाई सुताएर टाउकोमा पारेको प्लालमा डेन्डी सुइ पठाउँथे र भेन्ट्रिकलको पानी निकालेर हावा भर्थेँ । अनि डा रघुवर वैद्यले एक्स–रे लिनुहुन्थ्यो । वर्काइ–फर्काइ धेरै ओटा एक्स–रे लिनुपथ्र्यो । तर वैद्यले कहिल्यै झर्को मान्नुभएन । पछि नयाँ भवन निर्माण भएपछि लिफ्ट पनि भयो, त्यसपछि बिरामी ल्याउन लैजान सहज भयो ।


मैले यस्तो एक्स–रे महिनामा एउटा वा दुइओटा गरिरहन्थँे । वीरमा सन् १९८७ मा सिटी स्क्यान नआउँदासम्म यही विधि प्रयोग गरेँ । यो जाँच आज इतिहासको पानामा मात्र सिमित छ । सिटी स्क्यान र एमआरआइले न्युरो सर्जरीको क्षेत्रमा कायापलट नै गरिदियो । सिटी स्क्यानमा पनि एक्स–रे नै प्रयोग गरिने हो तर यसमा विभिन्न कोणबाट लिइएको एक्स–रे फोटो सङ्कलन गरेर त्यसलाई कम्युटरको सफ्टवयरले पुनः निर्माण गरी यस्तो फोट निकाल्छ, जसमा मस्तिष्कको ट्युमर, रक्तस्राव जस्ता रोगहरु प्रस्ट देखिन्छ । जाँच गर्न पनि सजिलो ।


यहि पुरानो मेसिनमा हामीलै अरु जटिल जाँचहरु पनि गर्यौँ । मस्तिष्कको रोग पत्ता लगाउन मस्तिष्को मुख्य रक्तनली क्यारोटिड आर्टरीमा, जुन गर्धनको दुइतिर हुन्छ, सुइ पठाएर एक्स–रेमा देखिने एक किसिमको औषधि दिइन्छ र एक्स–रे खिचिन्छ । मैले सुई राखेर औषधि दिन्थेँ, डा रघुवर वैद्य एक्स–रे लिनुहुन्थ्यो ।


त्यस्तै तल्लो भागको रक्तनलीको रोग पहिचान गर्न हाम्रो शरीरको मुख्य रक्तनली एओर्टामा ढाडको छेउबाट सुइ पठाई औषधि दिन्थेँ, डा वैद्य एक्स–रे लिनुहुन्थ्यो । उहाँको साथ पाएर नै मलाई यस्तो जटिल जाँचहरु गर्न हिम्मत आउथ्योँ । यो जाँचहरु गर्न एक किसिमको हिम्मत नै चाहिन्थ्यो । किनकी यी विशेष एक्स–रेहरु समस्या रहित थिएन । मलाई याद छ एकपटक यस्तो जाँच गर्दा रक्तनलीको भित्ता च्यातिएर बिरामीको मृत्यु भएको थियो ।

रोगको कारणले बिरामीको मृत्यु हुन्छ, कहिलेकाहिँ उपचारको क्रममा बिरामीको मृत्यु हुन्छ तर रोग पहिचानको क्रममा गरिएका जाँचले गर्दानै बिरामी गुमाउनु पर्दा साह्रै पीडा हुन्छ । आजका दिनमा यस्तो जाँच गर्न सजिलो र सुरक्षित विधिहरु आइसकेका छन् ।


सीमित जाँचहरुबाट रोगको केही हदसम्म पहिचान गरी अपरेसन गर्नुपर्ने निर्णय गरिसकेपछि पनि अझै चुनौतिहरु बाँकी नै हुन्थे । रगतको व्यवस्था गर्न पनि कम चुनौती थिएन । यसको आफ्नै राम कहानी छ । (यो लेख डा. दिनेशनाथ गोंगलद्धारा लिखित पुस्तक एक सर्जनको गाथाबाट लिइएको हो । )

प्रतिक्रिया दिनुहोस्