Logo
|
Saturday 20th April 2024
Logo

epaper

बालबालिकाको रोगप्रतिरोधी क्षमता अभिवृद्धिमा स्तनपानको भूमिका के हुन्छ ? विश्व स्तनपान सप्ताह शुरु

विश्व स्तनपान दिवस २०२१ः ‘स्तनपानको रक्षा, एक साझा जिम्मेवारी’



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्तनपानको रक्षाः एक साझा जिम्मेवारी भन्ने मुल नाराका साथ स्तनपानसम्बन्धि विभिन्न जनचेतनामुलक कार्यक्रमहरुका साथ विश्व स्तनपान सप्ताह २०२१ शुरु भएको छ । हरेक वर्ष १ अगष्टदेखि साताव्यापी विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ ।

तस्विरः विश्व स्वास्थ्य संगठन


पछिल्ला बर्षहरुमा हाम्रो देशमा पनि हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको छ ।


स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौति दूध बच्चाको लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ ।

आमा र बच्चामा हुने विभिन्न फाइदाहरुलाई मध्यनजर गर्दै सन् १९९० मा युनिसेफ, विश्व स्वास्थ्य संगठन तथा वर्ल्ड अलाएन्स फर ब्रेस्टफिडिङ एक्सनको सहयतामा इनोसेन्टी धोषणा गरिएको थियो। उक्त घोषणा पश्चात् सन् १९९२ देखि अंग्रेजी महिना अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउन थालिएको हो ।

स्तनपानलाई परिवार नियोजनको एउटा माध्यमको रूपमा पनि लिइन्छ । आमाले जति धेरैपटक शिशुलाई दूध चुसाउँछिन् त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ ।


स्तनपानले शिशुको लागि स्वास्थ्य रक्षाको काम समेत गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन । उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्दछन् ।

आमाको दूधमा रोगाणु नाशक तत्वहरु हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमामा फलाम तत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने बिभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।

बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जिवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन्, शरिरले ति विशेष रोगाणुको बिरुद्ध प्रतिरोधात्मक तत्वहरु बनाउँदछ । यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्दछ । यसरी शिशुहरु आमाको दूध नियमित रुपमा खाएर स्वस्थ रहन्छन् ।

बाल्यकालमा पर्याप्तरूपले आमाको दूध खान नपाएका शिशुरुमा बाल्यकालमा शुरू हुने प्रकृतिको मधुमेह रोग लाग्ने सम्भावना अधिक रहन्छ । उनीहरुमा अपेक्षाकृत बुद्धि विकास समेत नहुने हुन्छ ।

यदि बच्चा महिना नपुगि जन्मेको छ भने त उसलाई नेक्रोटाइजिङ एन्टोरोकोलाइटिस जस्तो घातक रोग समेत हुनसक्छ । त्यसैले छदेखि आठ महिनासम्म शिशुहरूका लागि आमाको दूध उत्तम आहारमात्र हैन, यो जीवनरक्षक आहार पनि हो ।


पछिल्लो समय विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ बाट बिभिन्न उमेर समुहमा सङ्क्रमण देखिएको छ । तर विशेष गरि बच्चामा भने संक्रमणको संख्या तुलनात्मक रुपमा अरु समुह भन्दा कम रहेको विश्व स्वास्थ संगठनको प्रतिवेदनले देखाएको छ । संक्रमणको संख्या गर्भवती र सुत्केरी महिला समुहमा देखिएपश्चात् संक्रमित आमाहरुबाट बच्चामा संक्रमण हुन सक्ने वा नसक्ने कुराहरुमा विशेष प्राथमिकता दिई अनुसन्धान गर्दा कुनै ठोस प्रमाण नभेटिएका कारण २३, २०२० मा विश्व स्वास्थ संगठले प्रकाशित गरेको सूचनामा सम्पूर्ण कोरोना आशंका गरिएका र कोरोना संक्रमित आमाहरुमा स्तनपानलाई निरन्तरता दिन निर्देशन गरिएको छ ।

साथै कोरोना संक्रमित आमाहरुले स्तनपान गराउँदा विशेष ३ कुरामा ध्यान दिनु पर्ने कुरा समेत उल्लेख गरिएको छ ।
स्तनपान गराउने बेलामा नाक, मुख राम्ररी छोप्न माक्स लगाउनु पर्दछ ।

बच्चालाई छुनुअघि र छोए पछि साबुन पानीले हात धुने ।

आफु बसेको ठाउँ र त्यसको वरिपरिका साथै प्रयोग गरेको सरसामानहरुको सरसफाई गरी निसंक्रमण गर्नुपर्दछ ।

बच्चाले २४ घण्टामा कमसेकम ६ देखि ८ पटकसम्म पिसाब फेर्छ । यदि त्यो भन्दा कम र पिसावको रङ गाढा पहेलो र गन्हाउने छ भने बच्चालाई आमाको दुध जतिमात्रामा चाहिने हो त्यो पुगेको छैन् भन्ने बुझ्नुपर्छ । बच्चाको तौल ५०० ग्राम प्रत्येक महिनामा बढनु पर्छ । यदि एक महिनामा ५०० ग्रामको दरले तौल बढेको छैन् भने पनि आमाको दुध पुगेको छैन भन्ने थाहा हुन्छ । बच्चाले आमाको दुध खाइसके पछि राम्रोसंग निदाउँछ ।


स्तनपान सम्बन्धि गलत धारणा

केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाहरु रहेको पाइएपनि यो सत्य भने होइन । आधुनिक विज्ञानले यी धारणाहरुलाई गलत पुष्टि गरिसकेको छ ।

नियमित र निश्चित अवधिसम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको बिभिन्न अध्ययनहरुले देखाएको छ । शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुस हुन्छ ।

त्यसैगरी उनले मानसिक रूपमा आफू स्वस्थ भएको अनुभूति गर्ने हुनाले उनलाई आत्मसन्तुष्टि समेत प्राप्त हुन्छ ।

स्तनपानका फाइदा

आमाको दूध पोषणका लागि मात्र नभएर यसले आमा र बच्चाहरूको स्वास्थ्यमा अत्यन्त सकारात्मक प्रभाव पार्दछ । शिशुलाई जन्मेको छ महिनासम्म स्तनपानमात्र गराउनुपर्दछ ।

आमाको दूध सुपाच्य हुन्छ र यसले शिशुको पेट गडबड हुने डर हुँदैन । आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी तह बनेर बस्दछ । त्यसले रोग प्रतिरोधक क्षमता बढाउन पनि सहायता गर्दछ ।

स्तनपानले दम र कानको रोग शरिरमा लाग्नबाट जोगाउँछ । केही शिशुलाई गाईको दूधले एलर्जी हुनसक्ने संभावना रहन्छ तर आमाको दूध खानु शतप्रतिशत सुरक्षित छ ।

स्तनपान गर्ने शिशुहरुमा शुरूदेखि नै आवश्यकताभन्दा अधिक खाने बानी नपर्ने हुँदा उनीहरुमा अस्वाभाविक रुपमा मोटोपना नदेखिने बिभिन्न अध्ययनहरुले देखाएका छन् ।

निश्चित अवधिसम्म स्तनपान गर्ने शिशुहरूलाई जीवनका पछिल्लो चरणहरूमा पनि रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरुको खतरा तुलनात्मक रुपमा निकै कम हुन्छ । स्तनपानले शिशुको बौद्धिक क्षमता समेत बृद्धि हुन्छ ।

स्तनपान गराउने आमा र शिशुको बीच भावनात्मक सम्बन्ध धेरै बलियो हुन्छ । यसका अलावा आमाको दूधमा धेरै प्रकारका प्राकृतिक रसायनहरु पनि रहेका हुन्छन् जसले शिशुको शारिरीक तथा मानसिक बिकासमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

स्तनपानलाई प्रोत्साहन

विश्वका विभिन्न देशहरूले स्तनपानका लागि प्रोत्साहन गरेका हुन्छन् । विगत १९ वर्षदेखि स्तनपानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अगस्ट महिनाको पहिलो हप्तालाई स्तनपान सप्ताहको रूपमा घोषणा गरेको छ ।

चीनले भने स्तनपानलाई शिशुको महत्वपूर्ण अधिकारका रुपमा सुरक्षित गरेको छ र बट्टाको दूध शिशुलाई खुवाउन पूर्णरुपमा कानूनी प्रतिवन्ध लगाएको छ, जुन आफैमा प्रशंसनीय र अनुकणीय कदम हो ।

स्तनपानमा ध्यान दिनुपर्ने कुरा
स्तनपान बच्चाको लागि अनिवार्य आवश्यकता हो । तर स्तनपान गराउँदा बच्चालाई कसरी राख्ने भन्ने कुरामा विशेष ख्याल राख्नुपर्दछ । अन्यथा बच्चालाई आमाको दूध अमृत समान हुँदा हुँदै पनि नकारात्मक असर पर्दछ ।

आफ्नो र शिशुको शरीरलाई समानान्तर राखेर– सुतेर र पल्टिएर बस्न सक्नुहुनेछ ।

तपाईंको शिशुले जुन स्तनबाट दूध चुसिरहेको छ त्यसको अर्को तर्फको हातले शिशुलाई काखमा लिएर समातेर राख्ने र सहज हुनेगरी बस्ने ।

शिशुले दूध पिइरहेको स्तनपट्टकिै हातले समातेर अर्को हातले टाउको अड्याएर छड्के पारेर बोकेर सजिलोसँग बस्ने ।

पलेटी कसेर बसेर शिशुलाई दूध चुसिरहेको स्तनतिरको हातले अड्याएर उसको गोडा तल तिर पर्नेगरी सुताउने ।

यदि जुम्ल्याहा बच्चाहरु छन् र एकसाथ दूध चुसाउनु छ भने पलेटी कसेर बसी एउटा नरम तकीयाको सहायतामा दुबै स्तनमा एक–एक वटा शिशुलाई एकसाथ स्तनपान गराउन सकिन्छ ।


बच्चालाई स्तनपान गराउँदा चुस्न सजिलो बनाई दिनुपर्छ । आमा पनि सजिलो गरी बस्नुपर्छ जसले गर्दा दूध राम्ररी बग्न सकोस । सकेसम्म आमाले निहुरिएर स्तनपान गराउनु हुँदैन । यसरी स्तनपान गराउदा बच्चाको कानमा दूध पस्ने सम्भावना हुन्छ । आमाले सुतेर पनि स्तनपान गराउनु हुन्न । सुतेर स्तनपान गराउदा आमाको स्तनले नाक थुनिएर सास फेर्न गाह्रो भइ बच्चाको मृत्यु समेत हुनसक्छ ।


बच्चा जन्मेको १ घण्टा भित्रमा आमाको दुध चुसाईहाल्नु पर्छ । स्तनपान गराउने आमा तनाव रहित रहनु पर्छ । र बच्चालाई पूर्णरुपमा दुध खुवाउन सक्छु भन्ने आत्मविश्वास पनि हुनुपर्छ ।


बच्चाको टाउको र शरीर सिधा राख्नको लागि बच्चाको मुख पूरै खुल्न दिनुपर्छ र बच्चाको तल्लो ओठले स्तनको मुन्टोलाई राम्ररी समात्न सक्नेगरी बच्चालाई नजिक राख्नुपर्छ । बच्चाको मुखले आमाको स्तन राम्ररी च्यापेको हुनुपर्छ र मुन्टो मुखको भित्री भागसम्म पुग्नुपर्छ । बच्चाको चिउँडोले आमाको स्तन छोएको हुनुपर्छ ।


दुवै स्तन चुसाउनुपर्छ तर एउटा स्तनमा दुध सकिएपछि मात्र अर्को स्तनबाट खुवाउनुपर्छ । एक पटकमा एउटा स्तनको दूधले बच्चा अघाउँछ भने अर्कोपटक अर्कोपट्टिको स्तनपान गराउनुपर्छ ।


बच्चा भोकाएपछि राति, दिउँसो जुनसुकै बेला स्तनपान गराउनुपर्छ । नवजात शिशुले खास गरेर पहिलो १ देखि ३ घण्टा बिराएर दूध खान खोज्छ ।


दूध खाइसकेपछि बच्चालाई माथि उठाएर पाखुरा वा छातीमा राखी ढाड मसारेर हावा फाल्नलाइ डकार गराउन मद्दत गर्नुपर्छ । बच्चाले दूधसँगै हावा पनि तान्ने भएकाले डकार्दा हावा बाहिर फालिन्छ, अनि खाएको दूध स्वच्छ भई बान्ता हुनबाट पनि रोकिन्छ ।


राति बच्चालाई सुताउँदा बच्चाको मुखमा निप्पल राखिराख्नु हुदैन । यसले संक्रमण गराउन सक्छ । बच्चाले दूध चुस्न नसके स्तन निर्चोनुपर्छ । नत्र त्यही दूध गान्निएर पाक्ने सम्भावना हुन्छ ।


स्तनपान गराउँदा समस्या पर्यो भने अन्य अनुभवी महिला अथवा तुरुन्त स्वास्थ्यकर्मीको सहयोग लिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्