Logo
|
Friday 19th April 2024
Logo

epaper

पेन किलरले मिर्गौला पनि किल !



जनस्वास्थ्य सरोकार । ब्रुफिन, डाइग्लोफेनेट जस्ता पेन किलर औषधिको लामो समयसम्मको सेवनले मिर्गौलामा हाइपरसेन्सिटीभिटी रियाक्सन गरेर एक्युट किड्नी इन्जुरीको समस्या ल्याउन सक्छ । बाथरोगमा लामो समयसम्म दुखाई कम गर्ने (पेनकिलर) औषधिको सेवनले मिर्गौलामा पुग्ने असरलाई एनल्जेसिक नेफ्रोप्याथी भनिन्छ । संसारमा दुखाई कम गर्ने औषधि पेनकिलरको सेवनका कारण सबैभन्दा धेरै मिर्गौला बिग्रिएको पाइएको छ । डायग्लोफेनिक एक चक्कीको सेवनले मिर्गौला बिगार्ने समस्यालाई एक्युट इन्टेस्टिसियल हाइपरसेन्सिटिभिटी इन्स्टेस्ट्रियल नेफ्राइटिस भनिन्छ । लामो समयसम्म औषधिको सेवन गर्नाले पनि मिर्गौला बिग्रने समस्या लाई एनल्जेसिक नेफ्रोप्याथी भनिन्छ ।

पेन किलरको सेवनले सबैको मिर्गौला खराब हुन्छ ?

कमजोर मिर्गौला भएका व्यक्तिले पेनकिलर सेवनले मिर्गौला खराब गर्न सक्छ । शरीरमा पानीको मात्रा कम भएको अवस्थामा पेनकिलरको सेवन गर्नाले पनि मिर्गौला बिग्रनसक्छ । शरीरको आन्तरिक वातावरण बिग्रिएको बेला पेनकिलर जस्ता औषधिहरुको सेवनले मिर्गौलामा असर पार्नसक्छ । मधुमेह र उच्चरक्तचाप भएका व्यक्तिहरुमा पेनकिलरको सेवन गर्नाले मिर्गौलालाई प्रत्यक्ष असर गर्छ ।

मिर्गौलालाई खराब गर्ने औषधिहरुमध्ये पेन किलर अग्रस्थानमा रहेको छ । पेनकिलरको एउटा ट्याब्लेटले र लामो समयसम्म खाइरहनाले पनि खराब गर्नसक्छ । मिर्गौला बिगार्ने दोस्रो औषधि एन्टिबायोटिक्स हो । सबै एन्टिबायोटिक्सले मिर्गौलालाई खराब गर्दैन । सबैभन्दा धेरै इमाइनोग्लाकोसाइट्स जस्ता एन्टिबायोटिक्सले मिर्गौला बिगार्न सक्छ ।

कतिपय व्यक्तिको भित्रभित्रै मिर्गौला फेल भइरहेको अवस्थामा अन्य रोग निराकरणका लागि औषधिको डोज दिँदा मिर्गौला बिग्रनसक्छ । यसरी शरीरमा पानीको मात्राको कमी, रक्तचाप, मधुमेह आदिले कमजोर भइरहेको मिर्गौलामा एन्टिबायोटिक्सको सेवनले मिर्गौला खराब हुनसक्छ । क्यान्सरका लागि प्रयोग गरिने केमोथेरापेटिकजस्ता औषधिहरुको सेवनले पनि मिर्गौलामा बिग्रनसक्छ । यसैगरी कन्ट्रास्ट नेफ्रोप्याथीका कारण पनि मिर्गौला खराब हुनसक्छ । आजकल हरेक चिजका लागि इन्ट्राभेनस पाइलोग्राम, सिटी, एन्जिओग्राम जस्ता विभिन्न खालका एक्सरेहरु गर्ने प्रचलन छ । यसले पनि मिर्गौलालाई हानी पुग्नसक्छ । यस्तो अवस्थामा शरीरमा पानीको मात्रा पर्याप्त हुन जरुरी हुन्छ । मधुमेह र संक्रमणहरु नियन्त्रण गर्नुपर्छ ।

औषधिमा प्रयोग गरिने प्रिजर्भेटिभहरुले पनि बेलामौकामा मिर्गौलालाई खराब गर्न सक्छ । औषधिको स्टोरेज र प्याकेजिङ नमिल्नाले पनि शरीरलाई हानी पु¥याइरहेको हुन्छ । यस्ता धेरै कारणले मिर्गौलालाई अफ्ट्यारोमा पारिरहेको हुन्छ । यसमा एक्युट किड्नी इन्जुरी पनि हुनसक्छ वा बिस्तारै बिग्रने एनल्जेसिक नेफ्रोप्याथी पनि हुनसक्छ ।

शरीरको आन्तरिक वातावरण मेन्टेन गर्ने काम मिर्गौलाले गर्छ । मिर्गौलाले आवश्यक पानीको मात्र मिलाउने, अनावश्यक पानी बाहिर निकाल्ने, शरीरमा आवश्यकपर्ने सोडियम, लवण, पोटासियम, क्याल्सियम, म्याग्नेसियम जस्ता पदार्थहरुलाई मिर्गौलाले मिलाएर राख्छ । शरीरमा गएको औषधिहरुमध्ये कुनैमा सोडियम साल्टको मात्रा बढी हुन्छ भने कुनै मेडिसिनमा पोटासियम साल्टको मात्रा बढी हुन्छ । यसले शरीरको आन्तरिक वातावरण खलबल्याउँछ र यसको भार मिर्गौलामा पर्छ । यसर्थ मिर्गौलालाई काम गर्न गाह्रो पर्छ ।
चिकित्सकको सिफारिस बिना शरीरको दुखाई कम गर्ने सबैभन्दा सुरक्षित औषधि पारासिटामोल हो । यसबाहेक कोडोमोल जस्ता औषधिहरु पनि सेवन गर्न सकिन्छ । औषधि बाद्यताले मात्र खाने गरिन्छ कुनै रहरले होइन । त्यसैले सम्बन्धित डाक्टरको सल्लाहअनुसारमात्र औषधिको सेवन गर्नुपर्छ । यसका साथै औषधिको सेवनसँगै प्रयाप्त पानी पिउन जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्