Logo
|
Tuesday 21st January 2025
Logo

epaper

बीपी स्वास्थ्य प्रतिष्ठानका पदाधिकारी हटाउने प्रक्रिया आजै सुरु हुने



जनस्वास्थ्य सरोकार, धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम आर्थिक अनियमितताको आरोप खेपेका पदाधिकारीलाई हटाउने प्रक्रिया आजै सुरु हुने भएको छ ।

प्रतिष्ठानको शुद्धीकरण अभियान २०७८ संयुक्त संघर्ष समितिको माग बमोजिम उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित ४ जना पदाधिकारीलाई हटाउन आजैबाट प्रक्रिया सुरु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहमत भएको हो । 

स्वास्थ्य मन्त्रालय र प्रतिष्ठानको संघर्ष समितिबीच आज ६ बुँदे सहमतिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ घ मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने उल्लेख छ ।

त्यस्तै छानबिन कार्यदलको प्रतिवेदनका सुझाव तथा अघिल्ला प्रतिवेदनहरू पनि सार्वजनिक गरी कार्यान्वयनमा लैजाने सहमति भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आजै छुट्टै महाशाखा तोक्ने उल्लेख छ ।

सहमतिसँगै स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलन रोकेर सेवामा फर्कन तयार भएका छन् । करिब २ महिनादेखि प्रतिष्ठानभित्रको अनियमितता छानबिन गर्नुपर्ने, दक्ष, योग्य र सक्षम पदाधिकारी नियुक्ति गर्नुपर्ने माग राख्दै प्रतिष्ठानका चिकित्सक, प्राध्यापक, कर्मचारी र विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । काठमाडौंमा पनि अभियानले प्रदर्शन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्