Logo
|
Wednesday 8th May 2024
Logo

epaper

‘सात प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी’- स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताउनुभएको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालिएको जानकारी दिनुभयो ।

उहाँले महिलामा स्वास्थ्य समस्या धेरै देखिने भएकाले प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवा पनि विस्तार गर्नुपर्ने बताउनुभयो ।

राज्यमन्त्री श्रेष्ठले यस अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचार तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने धारणासमेत राख्नुभयो । उहाँले अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि मन्त्रालय लागिपरेको बताउनुभयो ।

“यहाँ भएका साधनस्रोतलाई उपयोग गर्ने हो भने सम्भावना धेरै छन्”, उहाँले भन्नुभयो-“अस्पतालले मन्त्रालयसँग के अभाव छ । त्यसको माग गर्न प¥यो । हामी उपलब्ध गराउन तयार छौ ।”

उहाँले दूरदराजका जनताले अझै स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनुपर्ने भनाइ राख्नुभयो ।

उहाँले कोरोना भाइरसविरुद्धको खोप सरकारको प्राथमिकता रहेको भन्दै ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याउन पहल भइरहेको जानकारी दिनुभयो । अहिले २० प्रतिशत पहिलो मात्रा र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले प्रसूति अस्पताललाई व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताउनुभयो । उहाँले अस्पतालमा ७०० शय्या थप गर्न मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका अस्पतालको स्तरोन्नति गर्न आफूहरुले सहयोग गर्ने बताउनुभयो । उहाँले अस्पताललाई आवश्यक ४० वटा भेन्टिलेटर महानगरले वितरण गरिसकेको र थप ५ वटा चीनबाट आएपछि वितरण गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्