Logo
|
Friday 26th April 2024
Logo

epaper

बीएण्डसी अस्पतालमा उपचाररत दम्पत्तिको आग्रहः ‘अस्पतालले बचायो, क्षतिपूर्तिका लागि कलम चलाइदिनुस्’



जनस्वास्थ्य सरोकार, झापा । झापाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालले बन्धक बनाएर बिरामी राखेको भन्ने समाचारप्रति घाइते परिवारका आफन्तहरुले संवेदनहीनताको पराकाष्टको संज्ञा दिएका छन् । उनीहरुले तथ्यको गहिराइमा नपुगी न्याय दिलाउने भन्दा पनि उल्टै अस्पतालप्रति प्रतिशोध लिने मनसायले समाचार प्रकाशन गरिएको आरोप लगाएका छन् ।

विराटनगरको रिजाल ग्यास इण्डस्ट्रिजको ट्रकले ६ महिनाअघि ठक्कर दिएर गम्भीर घाइते भएका यामबहादुर श्रेष्ठ र सनम श्रेष्ठ नाम गरेका एक दम्पती उपचारका क्रममा अस्पतालमै छन् ।

उनीहरुले ‘क्षतिपूर्ति र उपचार’ सम्बन्धित ग्याँस इन्डष्ट्रिजका चालकले नव्यहोरेकाले न्यायका लागि जिल्ला प्रशासन कार्यालय झापामा उजुरी गरेका छन् । उपचार सकिएपनि हाल उनीहरु न्यायको पर्खाइमा अस्पतालमै छन् । कोरोनाका कारण क्षतिपूर्ति सम्बन्धि यस मुद्धाको सुनुवाइमा ढिलाइ भएको उनीहरुको भनाइ छ ।

घाइते यामबहादुर श्रेष्ठ र सनम श्रेष्ठ

शिवसताक्षी नगरपालिका–२ निवासी घाइते दम्पतीहरुले तत्काल उपचार खर्च तिर्न लगाउन र भरण पोषणका लागि क्षतिपूर्ति दिलाउन मागसमेत गरेका छन् । ट्रक धनी तथा रिजाल ग्याँस इण्डस्ट्रिजका सञ्चालक नवीन रिजाल सम्पर्कमा नआएको घाइते यामबहादुरका भाइ खेमबहादुरको भनाइ छ । नयाँ पत्रिकाले आफ्नो दाइ भाउजुलाई अस्पतालले बन्धक बनाएको शीर्षक समाचारप्रति भाइ खेमबहादुर श्रेष्ठको भनाइ के छ ? हामीले उनले पठाएको भिडियोबाट जस्ताको तस्तै प्रस्तुत गरेका छौं ।

‘नयाँ पत्रिकाका पत्रकार चिरञ्जिवी घिमिरेले बिएण्डसी अस्पतालले पैसा तिर्न नसकेको कारण बिरामीलाई बन्धक बनाएको भन्ने समाचार लेख्नुभएछ । वास्तवमा ट्रकवालाले उपचारबापत् लागेको पैसा नतिरिदिँदा बिरामी अस्पतालमै बस्नुपरेको हो । हामीले अस्पतालले बन्धक बनाएको भनेका छैनौँ । दुइपक्ष बीच कुराकानी भइरहेको छ, निर्णय हुन बाँकी छ । यस्तो समाचारले हाम्रो न्यायमा प्रभाव पार्नसक्छ, अहिले यसबारे केहि नलेखिदिनुस्, केहिगरी कुरा मिलेन भने लेख्नुहोला भनेर उहाँलाई बारम्बार अनुरोध गरेको थिएँ । विएण्डसीले मृत्युको मुखका पुग्नुभएका मेरा दाई भाउजुलाई नयाँ जीवन दिएको हो । उहाँहरु प्रति आभारी छौँ । हामी अस्पतालप्रति यस्तो गलत आरोप लगाउन कदापि सक्दैनौँ । यस्तो समाचार लेख्ने पत्रकारलाई कस्तो कारबाही हुन्छ ? हाम्रो कुरा मिल्दै छ, तपाईहरु बाधक नभइदिनुस्, यदि बाधक बन्नुहुन्छ भने आफै रिस्क लिनुस् भनेर उहाँलाई बारम्बार भनेको थिएँ । ६ महिना अघिको घटनालाई अहिले पत्रकारहरुले किन चासो दिँदैछन? यस पछाडिको स्वार्थ र राजनितीबारे हामी अनभिज्ञ छौँ । उहाँहरुले पहिले किन चासो दिनभएन ? उहाँले कसको आग्रहमा यो समाचार लेख्नुभएको हो, जान्न चाहान्छु ।’

घाइतेका भाइ खेमबहादुर श्रेष्ठ

विसं २०७७ फागुन १९ गते कनकाईको सुरुङ्गास्थित महेन्द्र राजमार्गमा रिजाल ग्याँसको को १ ख १६८४ नम्बरको ट्रकले प्रदेश १–०१–००१च०१६७ नम्बरको कार र प्रदेश १–०१–०१३प१७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कारमा सवार दुई जनाको मृत्यु भएको थियो भने मोटरसाइकलमा रहेका दम्पती गम्भीर घाइते हुनुभएको थियो ।

राससका अनुसार, श्रेष्ठ दम्पतीको उपचारमा लागेको खर्च रु ४४ लाख पुगिसकेको छ । त्यसमध्ये रु ११ लाख परिवारका तर्फबाट व्यहोरिएको छ । घाइते पक्षले पूरै उपचार खर्च ट्रक सञ्चालकले व्यहोर्नुपर्ने माग राखेका छन् । दुर्घटना लगत्तै ट्रक सञ्चालक पक्षबाट घाइतेको उपचारमा रु दुई लाख जम्मा गरेको र त्यसपछि फोन गर्दासमेत सम्पर्कमा नआएको पीडित पक्षको गुनासो छ । त्यही कारण क्षतिपूर्ति र उपचार पाऊँ भन्ने माग गर्दै श्रेष्ठ परिवारका पक्षबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको घाइतेका मामा कृष्णकुमार राईले जानकारी गराउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयमा विचाराधीन क्षतिपूर्तिसम्बन्धी उजुरीको चाँडै किनारा नलाग्दासमेत घाइते पक्ष तनावमा परेको छ । ‘हामीले दिएको उजुरी सिडिओ कार्यालयले हेरिरहेको छ, तर निर्णय आउन धेरै ढिला भइसक्यो’, घाइतेका भाइ खेमबहादुर भन्नुहुन्छ—‘जसले ठक्कर दिएको हो, उनीहरू सम्पर्कमै आउँदैनन्, बिरामी छ महिनादेखि अस्पतालमा हुनुहुन्छ, कोरोनाका कारण जारी लकडाउनले गर्दा मुद्दामा फैसला ढिलो भएको भन्नुहुन्छ, छिटोभन्दा छिटो फैसला आउँछ र न्याय पाउँछौँ भनेर हामी पर्खिरहेका छौँ ।’

श्रेष्ठ दम्पतीको उपचार लगभग पूरा भए पनि घाइते बनाउने ट्रक सञ्चालक पक्षबाट उपचारको जिम्मेवारी वहन नगरिएको कारण उहाँहरू जिल्ला प्रशासन कार्यालयमा विचाराधीन क्षतिपूर्तिसम्बन्धी मुद्दाको छिनोफानो नभइञ्जेलका लागि भन्दै अस्पतालमै बसिरहनुभएको बिएण्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताउनुभयो । भदौ १७ गते काठमाडौंबाट प्रकशित हुने नयाँ पत्रिका दैनिकले बी एण्ड सीले बिरामीलाई बन्धक बनाएको समाचार प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्