Logo
|
Friday 26th April 2024
Logo

epaper

आईपिल सेवन गर्नेहरुमा एक्टोपिक प्रेग्नेन्सीको जोखिम



प्रजनन तथा निःसन्तान विशेषज्ञ डा. चेतना श्रेष्ठ बसुन्धरास्थित ग्रिनसिटी हस्पिटल परिसरमा रहेको ‘स्नेह फर्टिलिटी सेन्टर’ की सञ्चालक हुनुहुन्छ । उहाँले फर्टिलिटीसम्बन्धि काम गर्न थालेको करिब ४ वर्ष पुगेको छ । डा. श्रेष्ठले सन् २०१५ मा इन्डियाको आग्रामा डा. नरेन्द्र मलहोत्रा र डा. जैवी मलहोत्रासँग आभिएफसम्बन्धि तालिम लिनुभएको थियो । सन् २०१८ देखि सयौं निःसन्तान दम्पतिहरुलाई सन्तान सुख दिन सफल हुनुभएको छ डा. श्रेष्ठ । विगतमा ग्रिनसिटी आईभिएफबाट सञ्चालन भएको सेन्टर अहिले नाम परिवर्तन गरी ‘स्नेह फर्टिलिटी सेन्टर’ का रुपमा सञ्चालित छ । यसै सेरोफेरोमा रहेर डा. श्रेष्ठसँग जनस्वास्थ्य सरोकारले गरेको कुराकानी ।

कतिलाई सन्तान सुख दिन सफल हुनुभयो ?

ठ्याक्कै त काउन्ट गरेर राखेको छैन । तर धेरैले सन्तान सुख पाउन सफल हुनुभएको छ । बर्षौदेखि सन्तान नभएका निःसन्तान दम्पत्तिहरु सन्तान सुखपछि खुशी भएर आउने गर्नुहुन्छ ।

फर्टिलिटीतिर रुचि बढ्नुको कारण के हो ?

विवाहित दम्पत्तिहरुमा निःसन्तान हुने समस्या बढ्दो गतिमा छ । करियर बनाउने चक्करले ढिलो बिवाह गर्ने दम्पत्तिहरु धेरै छन् । बिवाह गरिसकेपछि परिवारलाई पूर्णता दिन आफ्नै सन्तानको आवश्यकता पर्ने रहेछ । सन्तान जन्माउन खोज्दा निःसन्तानको समस्याले धेरैजनालाई स्ट्रेसमा पुर्याएको छ । अस्वस्थ्यकर जीवनशैली, वातावरणीय प्रदूषण, ढिलो विवाहले निःसन्तानको समस्या बढिरहेको छ । कतिपय दम्पत्तिहरु अझै पनि आईभिएफका लागि भारतमा गइरहेका छन् । यसैलाई दृष्टिगत गरेर यो क्षेत्रमा हात हालेकी छु । सन्तान सुख लिन धेरैजना सफल भएका छन् । यसले गर्दा भारत जाँदा हुनसक्ने ठूलो धनराशी जोगिनुका साथै गुणस्तरीय सेवा उपलब्ध गराउन सफल छौं ।

निःसन्तानको समस्या किन हुन्छ ?

महिलाहरुमा हुने ढिलो बिवाहले प्रजनन क्षमता दर कम हुँदै जाँछ । हरेक महिना महिनावारीको समयमा डिम्वको गुणस्तर र संख्या कम हुँदै जान्छ । २०—२५ वर्षमा जति राम्रोसँग गर्भाधारण हुने मौका हुन्थ्यो त्यति नै ३० वर्षपछि प्रजनन क्षमता कमजोर हुन्छ । पाठेघरमा मासु पलाएको अवस्थामा गर्भ रहन गा¥ह्रो हुन्छ । यदि गर्भ रहेमा पनि गर्भपतन हुनसक्ने सम्भावना रहन्छ । पाठेघरको दुवै भागमा रहेको डिम्ब बाहिनी नली ब्लक भएका महिलाहरुमा गर्भ रहन सक्दैन । बच्चा बन्ने ठाउँ नै ट्युब भएको र यौन सम्पर्कको क्रममा बीर्य र डिम्ब मिलन हुने ठाउँ पनि डिम्बबाहिनी नली हो । शुक्रक्रिटले डिम्बलाई फर्टिलाईज गरेर ट्युबमा बच्चा बनेपछि बिस्तारै तीन दिनदेखि एक हप्ताभित्र पाठेघरमा टाँसिने गर्छ ।

थायरोइड समस्यामा ल्याक्टिन हर्मोनको कमीले निःसन्तानको जोखिम बढाउँछ । पुरुषहरुको शुक्रक्रिटको क्वालिटी र क्वान्टिटीको अभावले पनि निःसन्तान हुने सम्भावना रहन्छ । विगतमा शल्यक्रिया भएका, संक्रमणको समस्या, वैदेशिक रोजगारका क्रममा अत्यधिक तापक्रममा काम गर्नेहरुमा निःसन्तानको समस्या देखिएको छ । ट्रेस र खानपानले पनि पुरुषहरुलाई असर पारेको हुन्छ ।

सन्तान सुखका लागि के कुरामा ख्याल गर्नुपर्छ ?

मुख्य त महिलाहरुमा डिम्ब निस्कने समय पारेर यौन सम्पर्क राखेमा गर्भाधान हुने सम्भावना धेरै हुन्छ । खासगरी डिम्ब एक दिन मात्र बाँच्छ । जब महिनावारी हुन्छ तब फोलिकल्स (स—साना फोका) काउन्ट गर्न थालिन्छ । यसलाई एक्युट मोलिक्युल काउन्ट भनिन्छ । दुईदिनदेखि एट्रोपिक पोलिकल काउन्ट गर्न थालिन्छ । त्यसपछि आठ वा दश दिनमा डोमिनेन्ट फोलिकल काउन्ट हेरिन्छ । ओभरीको दुवै भागमा १० देखि १२ वटा फोलिकल्स रहेका हुन्छन । ति मध्ये १० देखि १४ दिनभित्र एउटा फोलिकल्सले जितेर डोमिनेन्ट फोलिकल्स भएर निस्कन्छ । त्यो फोलिकल्स बढेर करिब २ मिलीमिरटको भइसकेपछि फुटेर ओभा निस्कन्छ । त्यो बेलामा पुरुषसँग यौनसम्पर्क भएमा शुक्रक्रिट र ओभाको मिलन भएर फर्टिलाइज हुन्छ र बच्चा हुने सम्भावना रहन्छ ।

महिनावारी हुनुभन्दा १४ दिन अगाडि ओभुलेसन हुने गर्छ । २८ दिनमा महिनावारी हुने भएमा त्यसको १४ दिन अघि ओभुलेसन हुने गर्छ । यसलाई ओभुलेसन किट वा स्क्यान गरेर पनि हेर्न सकिन्छ । त्यसैले महिनावारी भएको १२, १४, १६ दिनमा एक दिन बिराएर यौन सम्पर्क गर्ने सल्लाह दिने गरिन्छ । तर परिवार नियोजनका अस्थायी साधनको प्रयोगले बच्चा नहुने भन्ने हुँदैन ।

आईपिलको साइड इफेक्ट के छ ?

यौन सम्पर्क गरेको ७२ घण्टाभित्र खाएमा गर्भ नरहने चक्की आईपिलको धेरै साइडइफेक्ट हुन्छ । आईपिल सेवन गर्ने महिलाहरुमा बच्चा नलीमा बस्ने समस्या देखिएको छ । यसलाई एक्टोपिक प्रेग्नेन्सी भनिन्छ । नलीबाट बच्चा पाठेघरमा नसर्ने र नली फुटेर आमाको ज्यानसमेत जोखिममा पर्नसक्छ । त्यसैले आइपिलको अभ्यास राम्रो होइन ।

अल्कोहल, धुम्रपान र तनावले कस्तो प्रभाव पार्छ ?

यसले फर्टिलिटीमा एकदमै धेरै असर गर्छ । फर्टिलिटीमा धुम्रपान धेरै नै नराम्रो हो । ढिलो विवाह र करियर ओरियन्टलगायतका तनावले फर्टिलिटीमा असर पारेका धेरै तथ्यहरु रहेका छन् ।

अन्त्यमा के भन्नुहुन्छ ?

बच्चा नभएमा महिलाको दोष देखाएर अर्को विवाह गर्न हुँदैन । कतिपय पुरुषहरुमा शुक्रक्रिट नै नहुने समस्या हुन्छ । त्यसैले महिलालाई दोष दिनु राम्रो होइन । पछिल्लो समयमा नेपालका डाक्टरहरु अब्बल छन् । भारतलगायतका देशमा गरिने र नेपालमा गरिने उपचार विधि र प्रक्रिया एउटै हो । त्यसमा शंका गर्नुपर्दैन । निर्धक्क भएर सेवा लिन आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्