Logo
|
Friday 29th March 2024
Logo

epaper

स्वास्थ्यकर्मीको अभावले थलिँदै सल्यान जिल्ला अस्पताल



जनस्वास्थ्य सरोकार, सल्यान  । दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा सल्यान जिल्ला अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदै आइरहेको छ । 

स्वास्थ्य मौलिक अधिकार भए पनि स्वास्थ्यकर्मी नै नभएपछि अस्पतालबाट सेवा प्रवाह गर्न समस्या भइरहेको हो । 

नर्सको ९ दरबन्दी रहेकोमा दुई जना मात्र रहेका छन् । जसमा एक जना अध्ययन बिदामा रहेका छन् भने सिनियर अनमीको ३ दरबन्दी रहे पनि एक मात्र पदपूर्ति भएको सल्यान जिल्ला अस्पताले जनाएको छ । 

करारमा अन्य ७ जना राखेको भए पनि १५ शय्याको अस्पताल र कोभिड अस्पतालमा सेवा प्रवाह गर्न निकै समस्या हुँदै आइ रहेको सल्यान जिल्ला अस्पताल सल्यानका डा.प्रदीप शर्माले बताउनुभयो । डाक्टरको व्यवस्था भए पनि नर्स निकै कम हुँदा बिरामीलाई सेवा दिन समस्या हुने गरेको उहाँको भनाई छ । 

दैनिक १२ देखि १५ जनासम्म सुत्केरी हुने र जनरल वार्डमा ५ देखि १० जनासम्म बिरामी आउने गरेको नर्स तारा शाहीले बताउनुभयो । नौ जना स्टाफले १४सैं घण्टा काम गर्दा निकै समस्या हुने गरेको उहाँको भनाई छ । 

दिनमा भन्दा नाइट ड्युटीमा दुई जनाले मात्र गर्दा साह्रै गाह्रो हुने गरेको उहाँले बताउनुभयो “१२ जना जति दैनिक डेलिभरी भइरहेका हुन्छन् । डेलिभरी वार्डमा जाँदा जनरल तिर छुट्छ , जनरल तिर जाँदा डेलिभरी वार्ड तिर छुटी रहेको हुन्छ ।”

पछिल्लो समयमा कोभिड अस्पताल थपिदा झनै समस्या भएको अस्मिता बुढाथोकीको भनाई छ । दरबन्दीका स्टाफ नहुँदा प्रसूतिदेखि अन्य सेवा प्रवाह समस्या हुने गरेको उहाँको भनाई छ । 

जिल्ला अस्पतालका दरबन्दीका स्टाफ नर्स नभएको धेरै वर्ष भइसकेको भए पनि अहिलेसम्म पदपूर्ति हुन नसकेको डा. शर्माले बताउनुभयो । करारमा रहेका स्टाफको पनि करार म्याद थपिने नथपिने निश्चित नभएको उहाँको भनाई छ । 

जागिरको निश्चित नहुँदा करारमा बसेका नर्सहरू पनि तीन तीन महिनामा फेरिने गरेको शर्माले बताउनुभयो । प्रदेश सरकारलाई स्वास्थ्य जस्तो संवेदनशील विषयमा ध्यान दिन आग्रह गरेको भए पनि सुनुवाइ नभएको उहाँको भनाइ छ  । 

प्रतिक्रिया दिनुहोस्