Logo
|
Friday 29th March 2024
Logo

epaper

छत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड लागतमा अत्याधुनिक नयाँ भवन बनाउदैँ



जनस्वास्थ्य सरोकार, काठमाडौँ । छत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँको लागतमा आठ तले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ ।

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा प्रमुखसहित उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नविन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमि पुजन गर्नुभएको थियो ।

छत्रपाटीस्थित गंगालाल मार्गमा रहेको १० आना १ दाम जग्गामा करीब ३५ करोड रुपैयाँ लागतमा नयाँ भवन निर्माण थालिएको हो ।

शिलान्यास अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख शाक्यले योजनाहरु समयमा कार्यान्वयन नभए व्ययभार थपिनेप्रति सजग हुनुपर्ने बताउनुभयो । उहाँले अस्पतालले निजी क्षेत्रसँग प्रतिस्पर्धी सेवा दिन सकेन भने लगानीको उपयोग नहुने बताउँदै अस्पतालले यसतर्फका योजनामा ख्याल गर्नुपर्ने धारणा राख्नुभयो । महानगरले गएको बर्ष पनि अस्पताल भवनका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

स्वास्थ्योपचारका सबै सेवालाई आत्मनिर्भर बनाउन गरिएको प्रयासका बारेमा चर्चा गर्दै अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अर्को साताबाट दैनिक १ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिनुभयो । अस्पतालको विकासका लागि काठमाडौँ महानगरकोआर्थिक सहयोग एवम् अभिभावकीय साथबाट विकसित हुने मौका पाएको डा. श्रेष्ठको भनाइ थियो ।

अस्पताल निर्माणको पहिलो चरणमा भूमिगत १ तलासहित ७ तले भवनको स्ट्रक्चर तयार पारिनेछ । यसका लागि करीब १२ करोड रुपैयाँ खर्च हुनेछ । भवन निर्माणका लागि काठमाडौँ महानगरले उपलब्ध २ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । यसमा २ करोड ५० लाख रुपैयाँ थपेर यो बर्ष ५ करोड रुपैयाँ दिनेछ । यसबाहेक अस्पतालको आन्तरिक आय र दाताहरुबाट प्राप्त हुने रकम प्रयोग गरिनेछ । चिकित्सालयमा २४ घण्टै इमर्जेन्सी, शल्यक्रिया, जनरल वार्ड, आइसीयू, भेन्टिलेटर, प्याथोलोजी ल्याबसहित सबै प्रकारका सामान्य र विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्