Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

कोभिड वार्डका चिकित्सक र स्वास्थ्यकर्मीले पाएनन् भत्ता



जनस्वास्थ्य सरोकार, भरतपुर । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कोभिड वार्डमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले कोभिड भत्ता पाउन सकेका छैनन् । गत बैशाखबाट अस्पतालमा कोभिड वार्ड सञ्चालनमा आएपनि हालसम्म त्यहाँ कार्यरत कसैले पनि भत्ता नपाएको गुनासो गरेका हुन् ।

कोभिड वार्ड हेर्दै आउनुभएका डा गुरुशरण साहले हालसम्म कोभिड वार्डमा काम गर्ने कसैले पनि भत्ता नपाएको बताउनुभयो । उहाँका अनुसार अस्पतालको मेडिकल विभागका चिकित्सक र २० भन्दा बढी मेडिकल अफिसरहरुले कोभिड वार्डमा आलोपालो काम गर्दै आइरहेका छन् ।

यसैगरी नर्सिङ स्टाफले पनि आलोपालो कोभिड वार्डमा काम गर्दै आएका छन् । जोखिम मोलेर काम गरेको भए पनि हालसम्म कोभिड भत्ता नपाएको गुनासो उनीहरुको छ । स्थानीय तहका कर्मचारीलेसमेत कोभिड भत्ता पाउने गरेको तर आफूहरुले जोखिम मोलेर काम गर्दासमेत भत्ता नपाएको गुनासो अस्पतालमा कार्यरत एक नर्सले बताउनुभयो । दूधे बच्चा घरमा छाडेर कोभिड वार्डमा काम गरे पनि राज्यले प्रोत्साहनस्वरुप दिएको भत्ता अस्पतालले रोकेको उहाँको आरोप छ ।

अस्पतालले गत बैशाखदेखि कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले सरकारले पर्याप्त बजेट नपठाउँदा भत्ता वितरणमा समस्या भएको बताउनुभयो । उहाँले अस्पतालको सञ्चालक समितिको बैठक बसेर आवश्यक निर्णय गरेपछि छिट्टै भत्ता वितरण गरिने बताउनुभयो । उहाँले बजेट पर्याप्त नभएका कारण एउटा मापदण्ड बनाएर वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्