Logo
|
Friday 19th April 2024
Logo

epaper

पार्किन्सन: कारण नै थाहा नहुने



नेपालमा पार्किन्सन रोग र पार्किन्सन प्लस सिन्ड्रोमका बिरामीहरु दिनप्रतिदिन बढिरहेका छन् । विश्व स्वास्थ्य संगठनले यस किसिमको समस्या विश्वभरका जनसंख्यामध्ये ६० वर्ष नाघेका करिब १ प्रतिशतमा देखिने जनाएको छ । तर यो रोग जुनसुकै उमेरका व्यक्तिमा पनि देखिन सक्छ । अमेरिकी तथ्याङ्कले विश्वभर पार्किन्सनका बिरामी ७०—८० लाख रहेको देखाएको छ । नेपालमा पार्किन्सनका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन ।

म सँग हरेक महिना २ देखि ३ जना पार्किन्सन रोगका बिरामी उपचारका लागि आउने गरेका छन् । अहिले पार्किन्सन रोगको उपचारमा ६० जना बिरामी मेरो प्रत्यक्ष फलोअपमा रहेका छन् । पार्किन्सन स्नायु प्रणालीको रोग हो । मस्तिष्कको अगाडि, बीच र पछाडिको भागमध्ये बीच भागमा रहेको ‘डोपामिन’ नामक रसायनिक पदार्थले राम्रोसँग काम गर्न नसक्दा पार्किन्सन रोग हुने गर्छ ।

डोपामिनको काम
गाडिको इन्जिन चलायमान राख्न पेट्रोलको भूमिका जस्तै शरीर चलायमान राख्न न्युरो ट्रान्समिटर नामक रसायनिक तत्वको भूमिका महत्वपूर्ण हुन्छ । तेल नभएमा गाडि नचलेजस्तै न्युरो ट्रान्समिटर रसायन बिना हाम्रो शरीर पनि चल्न सक्दैन । डोपामिन नाम गरिएको न्युरो ट्रान्समिटर यस्तो केमिकल मिडियटर हो जसले हाम्रो शरीरलाई चलाउँछ । सेन्सेसन (अनुभूति) मा धेरै भूमिका नभएपनि मोटर कम्पोनेन्ट अन्तर्गत उचित तरिकाले हिँड्ने, डुल्ने, क्रियाकलपमा डोमामिनको मुख्य भूमिका रहन्छ ।

पार्किन्सनको कारण
अहिलेसम्म मेडिकल साइन्सले मस्तिष्कमा ‘डोपामिन’ सुक्ने कारण पत्ता लगाउन सकेको छैन । हाम्रो शरीरमा रसायनिक पदार्थ बन्न र कोषको पोषणका लागि प्रोटिन सिन्थेसिस भइरहन्छ । कोषले शरीरलाई आवश्यक नपर्ने प्रोटिन ब्रेक डाउन (निष्कासन) गरिदिन्छ । पार्किन्सन रोगजस्तै अरु रोगहरुमा पनि कोषिका भित्रको असामान्य प्रोटिन त्यही बसिरहन्छ र बिस्तारै सेलको संरचना क्षति गर्दै जान्छ । अन्ततः सेलहरु मर्न थाल्छन् । यसरी सेल्स मर्ने क्रम प्रायः शरीरको एक भागबाट शु्रु हुन्छ । पार्किन्सन भएका व्यक्तिलाई एकातिरको भागबाट समस्या शुरु हुन्छ । त्यसपछि दाहिने वा देब्रे हात वा गोडामा कमजोरी शुरु हुन्छ ।

लक्षण
यसरी डोपामिन रसायन उत्पादनमा कमी हुँदै गएमा मस्तिष्कले गर्नुपर्ने काम गर्न सक्दैन र विभिन्न किसिमका लक्षण देखिन थाल्छन् । जस्तो—हातको कम्पन, शरीर कडा हुने, सुस्त, मदिरा पान गरे जस्तो ढलमलाउने, अनुहारमा कुनै एक्सप्रेसन नभएजस्तो आदि । त्यसपछि बिस्तारै व्यक्तिको हात काम्ने (बत्ति कातेको जस्तो), हिँड्न पनि गाह्रो हुन्छ । त्यसैले पार्किन्सन रोगमा हिड्दा शुरुमा गाह्रो हुन्छ र टर्मिनल प्वाइन्टमा पुगेपछि साँघुरो ठाउँमा फर्किन पनि समस्या हुन्छ । बिस्तारै नसा सुक्नेक्रम बढ्दै जान्छ । एकातिरबाट शुरु भएको समस्या ३ देखि ५ वर्षपछि अर्को भागतिर पनि शुरु हुन्छ । रोग शुरु भएको धेरै पछि, रोग बढ्न थालेपछि मात्र व्यक्तिलाई शरीरमा केही गडबड भएको अनुभव हुन्छ ।

पहिचान
पार्किन्सन भएका व्यक्तिहरुलाई डोपामिन सिनडोपा भन्ने औषधि दिइन्छ । औषधिले काम गरेमा पार्किन्सन रोग भएको मान्नुपर्छ । केही वर्षअघि वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई भएको पार्किन्सन समस्यामा यो औषधि दिइएको थियो । यसले उहाँलाई काम गरेको थियो ।
यो औषधिले काम नगरेमा पार्किन्सन जस्तै देखिने पार्किन्सन प्लस सिन्ड्रोम हुनसक्ने भएकाले डोपा अप्टेक स्क्यान गराउन सल्लाह दिइन्छ । डोपा अप्टेक स्क्यान नेपालमा उपलब्ध छैन । भारतको दिल्ली लगायतका ठाउँमा जानुपर्छ । यसरी मध्य मस्तिष्कको भागमा डोपामिन नामक रसायनिक प्रक्रियाको अब्टेक कस्तो छ ? भनेर स्क्यान गरिसकेपछि मात्र पार्किन्सन रोग भएनभएको छुट्याउनुपर्छ । यो प्रक्रिया सबै बिरामीमा गराउन सक्ने सम्भावना हुँदैन । अतः पार्किन्सन समस्या नै हो भन्ने एकिन गर्न चार वटा क्लिनिकल मापदण्डमा ख्याल गर्नुपर्छ । यसलाई सम्झना टी.आर.ए.पी. नामाकरण गरिएको छ । टी भनेको ट्रेमर (काम्ने), ए भनेको एकाइनेसिया (कम चलायमान), आर भनेको रिजिडिटी (दह«ोपना) र पी भनेको पोस्च्युरल इनस्ट्याविलिटी (लडुँला जस्तो अनुभूति हुने) मा ध्यान दिनुपर्छ । यी चार मापदण्डमध्ये दुई वा त्यो भन्दा बढी मिलेमा ७०—८० प्रतिशत पार्किन्सन रोग भएको मानिन्छ । पार्किन्सन रोग पहिचानमा एमआरआईको भूमिका हुँदैन ।

उपचार
पाँचदेखि ७ वर्षसम्म त पार्किन्सन रोगमा औषधिले काम गर्छ । त्यसपछि औषधिको रेस्पोन्समा फ्लक्च्युएसन आएमा बिरामीहरुलाई डिप ब्रेन स्टिमुलेसन (डिबिएस) गर्न सल्लाह दिइन्छ । यसका लागि पार्किन्सन भएको मस्तिष्कको भागमा स्टिमुलेसन दिने एउटा व्याट्रि (डिबिएस) राखिन्छ । यस उपचार विधिका लागि १० देखि २० लाख रुपियाँसम्म खर्च हुनसक्छ ।

वरिष्ठ कलाकार श्रेष्ठलाई पनि डिप ब्रेन स्टिमुलेसन (डीबीएस) प्रयोग गरिएको थियो । यसैका कारण उहाँ सजिलै हातखुट्टा चलाएर फटाफट हिँड्न सक्ने हुनुभएको थियो ।



कतिपयमा २ पटकसम्म पनि डिबिएस गर्नुपर्ने अवस्था आउनसक्छ । औषधि वा डिबिएस जे गरेर भएपनि डोपामिन सर्किट ब्रेनमा रसायनिक प्रक्रिया बढाउन खोजिन्छ । डिबिएस गरेको व्यक्तिमा औषधिको थोरै मात्रा भए पुग्छ । ।

व्यक्तिको आयुमा असर
विश्वमा पहिलोपटक १९६१ मा मात्र पार्किन्सन रोगको उपचार पत्ता लागेको हो । उपचार पत्ता लागेपछि सामान्य व्यक्ति र पार्किन्सन रोग भएर उपचार गरेका व्यक्तिको औसत आयु लगभग उस्तै पाइएको छ । तर पार्किन्सन रोग भएकाहरुमा पिसाब संक्रमण हुनसक्ने, ¥याल खकार धेरै आउने, छातिको संक्रमण हुनसक्ने, मानसिक आदिको समस्या हुनसक्ने भएकाले अन्य साइड इफेक्टका कारण व्यक्तिको ज्यान तलमाथि हुनसक्छ ।

सबै हात काम्ने समस्या पार्किन्सन होइन
तसर्थ सबै हात काम्ने समस्या पार्किन्सन रोग हुँदैनन् । हात काम्ने समस्या पार्किन्सन बाहेक अन्य नसाको समस्याले पनि हुनसक्छ । जस्तैः इसेन्सियल ट्रेमर भएमा दुवै हात काम्छन । मस्तिष्कको पछाडि भाग सेरेबेलम सुकेमा पनि हात काम्ने, हिँड्न गा¥ह«ो हुने समस्या आउनसक्छ । त्यसैले सम्बन्धित स्नायु चिकित्सकलाई देखाउन जरुरी हुन्छ ।

पार्किन्सन प्लस सिन्ड्रोमः

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नि सीता दाहाललाई पनि पार्किन्सन प्लस सिन्ड्रोमको समस्या छ । उहाँ शुरुमा म कहाँ आउनुभएको थियो । मैले पिएसपी डायग्नोसिस गरेको थिएँ । थप डायग्नोसिसका लागि उहाँहरु भारत, थायल्यान्ड, सिंगापुर, अमेरिकासम्म पुग्नुभयो । तर अन्तत सबै ठाउँबाट पिएसपी नै भएको रिपोर्ट आयो ।

यस्ता पार्किन्सन प्लस सिन्ड्रोम (पिएसपी) भएका ५ जना बिरामी मेरो प्रत्यक्ष फलोअपमा छन् । यसरी वर्षमा एक दुई जना यस प्रकारका बिरामी मेरो प्रत्यक्ष सम्पर्कमा आउने गरेका छन् । सिनडोपा औषधिले काम नगरेपछि पार्किन्सन प्लस सिन्ड्रोमको आशंकामा पहिचानका लागि विभिन्न जाँच गर्नुपर्छ । पार्किन्सन प्लस सिन्ड्रोम अन्तर्गत प्रोग्रेसिभ सुप्रा न्युक्लियर पाल्सी (पिएसपी), मल्टि सिस्टम एट्रोफी (एमएसए), कर्टेक्सको डीजेनेरेसन, डिमेन्सिया अफ लुई वडी रोगहरु पर्छन् ।

पार्किन्सन प्लस सिन्ड्रोम भएका व्यक्तिहरुमा सन्तुलनमा हिँड्न गाह्रो, आँखाको हेराईमा समस्या हुन्छ । यो पार्किन्सन जस्तै देखिएपनि यसमा पटक पटक लडिरहने समस्या हुन्छ । यसले चोटपटक धेरै लाग्छ । घाँटी दह्रो हुन्छ । आँखा माथितिर एकोहोरो हेरिरहने समस्या हुन्छ । बिरामीले तलतिर हेर्न सक्दैन । शुरुको अवस्थामा स्मरणशक्ति हुन्छ । तर बिस्तारै डिमेन्सियाको समस्या आउनसक्छ । समस्या बढ्दै गएपछि खाना खान गाह्रो हुन्छ । खाना सर्किनसक्छ । फलस्वरुप यसले निमोनिया गराउँछ । यस्ता व्यक्तिलाई बाहिरबाट नाक वा पेटमा फिडिङ पाइप राख्न सल्लाह दिने गरिएको हुन्छ ।

यो रोग पूर्ण रुपमा निको हुन सक्दैन । मेडिकल साइन्सले धेरै कम रोगहरुलाई मात्र रोक्न सकेको पाइन्छ । संक्रमणबाहेक कुनै पनि रोग नियन्त्रण गरेर राख्नुपर्ने अवस्था आउँछ । पार्किन्सन प्लस सिन्ड्रोमलाई पनि नियन्त्रण गरेर राख्नुपर्छ । रोग आफैंले व्यक्तिको मृत्यु गराउँदैन । तर खाना खाँदा सर्केर, निमोनिया एवं पिसाबमा संक्रमणलगायत अन्य जटिल समस्याका कारण बिरामीको मृत्यु हुनसक्छ ।

यस प्रकारको समस्यामा औषधिले त्यति राम्रो काम नगर्ने र रोग चाँडो बढ्दै जाने हुन्छ । यसको नियन्त्रणमा खानपान र जीवनशैलीको भूमिका पनि महत्वपूर्ण हुन्छ । पोषणयुक्त खानपानमा ध्यान दिनुपर्छ । फिजियोथेरापी, रिह्याबिलिटेसन, शरीर सन्तुलन गर्ने अभ्यास गराउनुपर्छ । नर्सिङ केयर दिइरहनुपर्छ । पिएसपीमा अल्कोहलबाहेक सबै खानेकुरा सेवन गर्न सकिन्छ ।


(डा. पोखरेल उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल बाँसबारीमा कार्यरत हुनुहुन्छ । उहाँले सन् २०१४ मा कलेज अफ मेडिकल साइन्सेस भरतपुरबाट न्युरोलोजीमा डीएम गर्नुभएको हो ।)

प्रतिक्रिया दिनुहोस्