Logo
|
Saturday 20th April 2024
Logo

epaper

बढ्दो मस्तिष्कघात



विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रतिवर्ष हुने १ करोड ५० लाख मस्तिष्कघातमध्ये १५ लाख व्यक्ति चिकित्सकको उपचारपछि सामान्य अवस्थामा फर्किएका छन् । ७५ लाखमा भने अपाङ्गता हुने गरेको छ । ५० लाखको भने ज्यानै जाने गरेको छ ।
अहिले नेपालमा मात्र होइन विश्वमा नै मस्तिष्कघातको समस्या बढ्दो गतिमा छ । व्यक्तिको आयु लम्बिरहेको वर्तमान अवस्थामा मस्तिष्कघातको समस्या पनि त्यही गतिमा बढिरहेको छ ।


मस्तिष्कमा रक्तनली खुम्चिएर वा फुटेर सम्बन्धित मस्तिष्कको भाग निष्कृय हुने रोगलाई मस्तिष्कघात भनिन्छ । यसलाई बृद्धावस्थाको रोग पनि भनिन्छ । प्रायः ६० वर्ष नाघेकाहरुलाई यस किसिमको समस्या धेरे देखिने गरेको पाइन्छ । बृद्धावस्थामा मस्तिष्कका नशाहरु साँघुरिदै जाने तथा उच्च रक्तचाप र मधुमेहको बढी सम्भावना भएकाले मस्तिष्कघातको जोखिम पनि बढी हुन्छ । खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण यो समस्या युवाहरुमा पनि देखिएको छ । वंशाणुगत कारण बच्चामा पनि मस्तिष्कघात हुने गर्छ । जन्मजात मस्तिष्कको नशा सुन्निएको वा राम्रोसँग नशाको विकास नभएका बच्चालाई मस्तिष्कघात हुने गर्छ ।

मस्तिष्कघातको कारण
मस्तिष्कघात एक्कासी हुनसक्छ । यस्तो अवस्थामा व्यक्ति बेहोस हुने र शरीरको कुनै एक भाग प्यारालाइसिस हुनसक्छ । यसका साथै सहन नसक्ने गरी टाउको दुख्ने, रिंगटा लाग्ने, शरीरको एक भागमा झमझम गर्ने, होस हराउने, बोली लर्बराउने, दृष्टिमा समस्या, मानसिक असन्तुलन, पसिना आउने तथा बान्ता हुनसक्छ । उच्च रक्तचाप, मधुमेह , बुढ्यौलीपनलाई मुख्य कारण मानिन्छ महिलाको तुलनामा पुरुषमा मस्तिष्कघातको सम्भावना बढी हुन्छ । यो वंशाणुगत पनि हुनसक्छ । मद्यपान, धुमपान, मुटुको चालमा गडबडी, मुटुुरोग तथा रक्तसञ्चारसम्बन्धि समस्या (जस्तै—एट्रियल—फ्रिबिलेसन, अथेरोस्क्लेरोसिस, डिप भेन थ्रम्बोसिस, एन्युरिज्म, पुरानो माइग्रेन) ले मस्तिष्कघात निम्त्याइरहेको छ ।

उच्च रक्तचापले मस्तिष्कका नशा फुलेर फुट्न सक्छन् । फुटेमा ब्लिडिङ भइ मस्तिष्कलाई रगत आपूर्ति गर्ने नशा निस्कृय हुन्छन् र मस्तिष्कघात हुन्छ । यसका साथै बिस्तारै रक्तचाप बढ्दै जाँदा मस्तिष्कमा रगत आपूर्ति गर्ने नशा साँघुरिदै गएर अबरोध भइ मस्तिष्कघात हुन सक्छ । मधुमेह र मस्तिष्कघातबीचको सम्बन्ध पनि अचम्मको छ । रगतमा चिनी र कोलस्ट्रोलको मात्रा बढ्ने कारण मस्तिष्कमा रगत आपूर्ति गर्ने नशा साँघुरो हुँदै जान्छन् । यसबाट मस्तिष्कघात हुने सम्भावना हुन्छ ।

पहिचान
मस्तिष्कघातको अवस्था पहिचान गर्न एमआरआई वा सिटी स्क्यानले मस्तिष्कको कुन भाग निष्क्रिय भएको छ भन्ने कुरा स्पष्ट हुन्छ । नशा खुम्चिएको वा फुटेको पत्ता लाग्छ ।

उपचार
अधिकांश मस्तिष्कघातको उपचार औषधिबाट गरिन्छ । उच्च रक्तचाप भएमा यसलाई कम गर्ने औषधि दिनुपर्छ वा अरु धेरै उपचार विधि अपनाइन्छ । तर केही मस्तिष्कघातमा शल्यक्रिया जरुरी पर्न सक्छ । मस्तिष्कमा धेरै रगत जमेको अवस्थामा शल्यक्रिया गरेर यसलाई निकाल्न सकिन्छ ।

एन्युरिज्मको समस्यामा पनि शल्यक्रिया गर्न जरुरी हुन्छ । यसरी औषधि वा शल्यक्रिया गरेर निको बनाएका बिरामीका लागि फिजियोथेरापीको भूमिका महत्वपूर्ण हुन्छ ।

रोकथाम
खानपान र जीवनशैलीमा ल्याइएको सुधारले रक्तचाप र मधुमेहको जोखिम कम गर्न सकिन्छ । रक्तचाप, मधुमेह र कोलस्टेरोलको नियमित जाँच गराउने, धुमपान, मद्यपान, सूर्ति र नशालु पदार्थ सेवन नगर्ने, मोटोपन नियन्त्रण गर्ने, नियमित व्यायाम गर्ने, स्वस्थ र सन्तुलित खाना खाने तथा तनाव नलिनाले केही हदसम्म मस्तिष्कघातबाट जोगिन सकिन्छ ।
(प्रा.डा. श्रेष्ठ काठमाडौं मेडिकल कलेज र ओम अस्पतालमा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्