Logo
|
Friday 26th April 2024
Logo

epaper

आज विश्व मधुमेह दिवस २०२१ः ‘मधुमेह हेरचाहमा पहुँच’

मधुमेह अन्धोपन, मृगौला फेल, हृदयाघात, स्ट्रोकको प्रमुख कारण



जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व मधुमेह दिवस । यो दिवस हाम्रो देशमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । मधुमेहबारे जनचेतना फैलाउन हरेक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाउने गरिएको छ । मधुमेह विश्वव्यापी रुपमा तीब्र गतिमा बढिरहेको छ ।

विश्व मधुमेह दिवस २०२१ को नारा ‘मधुमेह हेरचाहमा पहुँच’ हो । मधुमेह भएका मानिसहरूलाई आफ्नो अवस्था व्यवस्थापन गर्न र जटिलताहरूबाट बच्न निरन्तर हेरचाह र समर्थन चाहिन्छ । तर इन्सुलिनको आविष्कार भएको १०० वर्ष बितिसक्दा पनि विश्वभर मधुमेहबाट पीडित करोडौं मानिसहरू आफ्नो मधुमेहको उचित हेरचाह गर्न असमर्थ छन् ।

मधुमेह एक पुरानो रोग हो जुन या त प्याँक्रियाजले पर्याप्त इन्सुलिन उत्पादन नगर्दा वा शरीरले उत्पादन गरेको इन्सुलिनलाई प्रभावकारी रूपमा प्रयोग गर्न नसक्दा हुन्छ । इन्सुलिन एक हर्मोन हो जसले रगतमा चिनीलाई नियन्त्रण गर्छ । हाइपरग्लाइसेमिया वा बढेको रगतमा चिनी, अनियन्त्रित मधुमेहको सामान्य प्रभाव हो र समय बित्दै जाँदा यसले विशेषगरी स्नायु र रक्तनलीलगायतका महत्वपूर्ण अंगलगायत शरीरका धेरै प्रणालीहरुलाई गम्भीर क्षति पु¥याउने विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।

मधुमेह अन्धोपन, मृगौला फेल, हृदयाघात, स्ट्रोकको प्रमुख कारण हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार, १९८० दशकतिर १० करोड ८० लाख मधुमेही भएकोमा सन् २०१४ को दशकमा ४२ करोड २० लाख पुगेको थियो । सन् २०१४ मा १८ वर्षभन्दा माथिका ८.५ प्रतिशत वयस्कहरुमा मधुमेह देखियो । सन् २०१९ मा मधुमेह मृत्युको नवौं प्रमुख कारण बन्यो । जसमा मधुमेहबाट प्रत्यक्ष रुपमा १५ लाख व्यक्तिको मृत्यु भएको थियो । जसमा ४८ प्रतिशत ७० वर्ष भन्दा कम उमेरका व्यक्ति रहेका थिए ।


संगठनका अनुसार, उच्च आय भएका देशहरूको तुलनामा निम्न र मध्यम आय भएका देशहरूमा यसको प्रकोप तीव्र रूपमा बढिरहेको छ । सन् २००० र २०१६ को बीचमा मधुमेहका कारण अकाल मृत्युदरमा ५ प्रतिशतले बृद्धि भएको थियो ।

टाइप वान, टाइप टु र जेस्टेनल गरी मधुमेह मुख्यतया तिन प्रकारका हुन्छन् । टाइप वान मधुमेह इन्सुलिन–निर्भर वा बाल्यकालमा हुने मधुमेह भनेर चिनिन्छ जहा इन्सुलिनको उत्पादन सुन्य अर्थात अत्यन्त न्युन हुन्छ । रोगीलाई बचाउन कृत्रिम रुपमा इन्जेक्सनद्धारा इन्सुलिन दिनुपर्छ । टाइप टु मधुमेह सामान्यतया प्रौढ अवस्थामा हुने गर्छ र विश्वमा भएका मधुमेही मध्ये धेरै यही प्रकारको मधुमेहका रोगी रहेका छन् । टाइप २ मधुमेह शरीरले इन्सुलिनको अप्रभावी प्रयोगका कारण हुन्छ । यो अक्सर अधिक शरीरको वजन र शारीरिक निष्क्रियताको परिणामको रूपमा हुन्छ । उमेर बढ्दै जादा यो प्रकारको मधुमेहबाट व्यक्ति ग्रसित बन्ने गर्छन् । जेस्टेसनल मधुमेह गर्भबती महिलाहरुमा जुनैपनि बेला रगतमा चिनिको मात्रा उच्च हुन गइ मधुमेह हुनसक्छ । यस्तो प्रकारको मधुमेहलाई जेस्टेसनल मधुमेह भनिन्छ ।

छिटो छिटो पिसाव लाग्ने र तिर्खा लाग्ने, बढि भोक लाग्ने , आखा तिरमिराउने, शरिरको वजन घट्ने, थकाइ महसुस हुने, वाकवाकी लाग्ने, लामो समयसम्म चोटपटक निको नहुने, हात खुट्टा झमझमाउने, रिंगटा लाग्ने मधुमेहका लक्षण हुन् ।

मधुमेहको उपचार सम्भव छैन । यो रोगलागिसकेपछि रोगीको आयु बढाउने वा यो रोगको व्यवस्थापनको विकल्प खोज्ने मात्र हो । मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पुराउने अन्य तत्वको निवारण गर्नु हो । यसका लागि इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिनुपर्छ । रक्तचाप नियन्त्रण गर्ने, खानामा विशेष ध्यान पुराउने , बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने, धुम्रपान र मध्यपान त्याग्ने, बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने, सन्तुलित र नियमित भोजन लिने , नियमित व्यायाम गर्ने, स्वस्थ आहार, नियमित शारीरिक गतिविधि, सामान्य शरीरको तौल कायम राख्ने र सुर्तीजन्य पदार्थको प्रयोग नगर्नु भनेको टाइप २ मधुमेहलाई रोक्न वा ढिलाइ गर्ने उपायहरू हुन् ।

यद्यपी मधुमेहका परिणामहरूलाई आहार, शारीरिक गतिविधि, औषधि र नियमित जाँच र जटिलताहरूको उपचारले हटाउन वा ढिलो गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्