Logo
|
Monday 6th May 2024
Logo

epaper

१२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई मोडर्ना खोप लगाइँदै, कहाँ र कसरी पाइन्छ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकी कम्पनी मोडर्नाको थप १४ लाख ९७ हजार मात्रा खोप बिहीवार नेपाल ल्याइएको छ।

कोभ्याक्स सुविधा अन्तर्गत यसअघि गत साता एक लाख ८८ हजार ४०० मोडेर्ना खोप ल्याइएको र आगामी साता १९ लाख ६५ हजार मात्रा आउने स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिनुभयो।

यो खोप सरकारले १२ देखि १७ वर्षसम्मका उमेरका बालबालिका तथा किशोरकिशोरीलाई दिने लक्ष्य राखेको छ।

यूकेको स्वास्थ्य सेवा उत्पादन नियामक निकाय एमएचआरएले गत अगस्ट १७ मा सो उमेर समूहमा प्रयोग अनुमति दिएको मोडेर्ना १८ वर्ष मुनिका किशोरकिशोरीका लागि उचित हुनेबारे विश्व स्वास्थ्य सङ्गठनले केही भनेको छैन।

मोडेर्ना खोप पाउने किशोरकिशोरी कति ?
नेपालमा १८ वर्ष उमेर समूहका जनसङ्ख्या एक करोड १७ लाखको हाराहारीमा छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार करिब ३० देखि ३५ लाख बालबालिका खोप लगाउने उमेर समूहका छन्।

हालसम्म ५०,००० बालबालिका तथा किशोरकिशोरीले फाइजर खोपको पहिलो मात्रा लगाएका छन्। उनीहरूलाई फाइजरको दोस्रो मात्रा यही मङ्सिर २७ गतेबाट दिइँदै छ। खोप वितरण गर्न देशभरका २४ वटा अस्पताललाई केन्द्र तोकिएको छ।

‘फाइजर खोप दीर्घरोगी तथा वृद्धवृद्धालाई दिने नीति बनाइएको थियो। लक्षित वर्गले त्यस अघि नै खोप लगाएकाले केही मात्रा बाँकी रह्यो। त्यसैलाई किशोरकिशोरीका लागि उपलब्ध गराएका हौँ’- थापाले भन्नुभयो ।

बाँकी किशोरकिशोरीलाई ३४ लाख मात्रा मोडेर्ना खोप दिइने र त्यो पर्याप्त नहुने सम्भाव्यताका कारण केहीलाई फाइजर नै उपलब्ध गराउने प्रवक्ता पौडेलले बताउनुभयो ।

कहाँ र कहिले दिइन्छ खोप ?
मोडेर्ना खोप मङ्सिर २७ गतेदेखि जिल्लामा वितरण गरिने र पुस ४ गतेबाट लगाउन सुरु गरिने परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिनुभयो। सात प्रदेशका ५७ वटा जिल्लामा खोप पठाइने छ।

‘हामीले जिल्लाको सम्बन्धित निकायलाई खोप राख्नदेखि लगाउनका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्‍यौँ। कुन जिल्लामा कति खोप पठाउने भन्ने तयारी पनि सकियो’, दाहालले भन्नुभयो ।

विद्यालयहरूमा रहेको विद्यार्थी सङ्ख्याका आधारमा खोप पठाइँदै छ। यस पटक अस्पतालबाहेक विद्यालय नै खोप केन्द्र रहनेछ।

कसरी हुन्छ भण्डारण ?
मोडेर्ना खोपलाई अन्य खोपको तुलनामा निकै कम तापक्रममा भण्डारण गरिनु पर्छ। तत्काल प्रयोग गरिने हो भने चाहिँ १ डिग्री सेन्टिग्रेडमा राखिन्छ। दुई महिनाभन्दा लामो अवधिदेखि म्याद सकिने मिति सम्मका लागि माइनस २० देखि २५ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्नु पर्ने बताइन्छ।

‘आएका खोप लामो समय भण्डारण हुँदैन। योजना बनाई वितरण सुरु भइहाल्छ’ दाहालले भन्नुभयो ‘राख्नै परे पनि हामीसँग भण्डारण क्षमता छ।’

पहिलो चरणमा १७ लाख खोप मात्र जिल्लामा पठाइन्छ। बाँकी काठमाण्डूमै रहन्छ र दोस्रो मात्रा लगाउने समयमा मात्र निकालिन्छ।

कस्ता प्रभाव देखिन सक्छ ?
खोप लगाएका बालबालिकालाई सामान्य किसिमका प्रभावहरू देखिन सक्ने सङ्क्रामक रोग विज्ञहरू बताउँछन्।

सङ्क्रामक रोग विज्ञ डा. प्रभात अधिकारीका अनुसार खोप लगाएका बालबालिकामा खोप लगाएको ठाउँमा दुख्ने, फोका जस्तो देखिने, ज्वरो आउनेजस्ता सामान्य समस्या देखिन सक्छन्।

‘तर यी सामान्य समस्या हो। आत्तिनु पर्दैन। प्रयोग गरिएको फाइजर र प्रयोगको तयारी भएको मोडेर्ना खोप लगाएपछि गम्भीर प्रभावहरू देखिएका छैनन्’ डाक्टर अधिकारीले भन्नुभयो ।


१२ देखि १७ वर्ष उमेर समूहका बालबालिका विद्यालय जाने भएकाले भिडभाडमा मिसिन्छन्। भिडमा रहनेहरूले खोप लगाउनु नै सुरक्षित रहने विकल्प भएको बताउनुभयो।

उहाँले भन्नुभयो ‘बालबालिकालाई मास्कको प्रयोग गर्न, छिनछिनमा हात हुन वा स्यानिटाइजर प्रयोग गराउन मुस्किल हुन्छ। त्यसैले खोप लगाउँदा सुरक्षा बढ्छ, सङ्क्रमण भइहाले पनि अवस्था गम्भीर बन्नबाट रोक्छ ।’

हालसम्म कतिले लगाए खोप ?
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म कुल एक करोड ९९ लाख ५ हजार ५०० मात्रा खोप लगाइएको छ।

१८ वर्ष माथि उमेर समूहको कुल जनसङ्ख्यामध्ये ५४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन्।

त्यस्तै ४५ प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाएको मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्