कोरोना भाइरस विरुद्धको खोपको तेस्रो मात्रा कहिले दिइँदैछ, क-कसले पाउँछन् ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड १९ विरुद्ध दुवै मात्रा खोप लगाएका मानिसमा विकसित एन्टिबडीको प्रभावकारिता कम भएको देखिएपछि नेपालको खोप सल्लाहकार समितिले तेस्रो मात्रा खोप सिफारिस गरेको छ।
दीर्घरोगी, वृद्धवृद्धा र रोगप्रतिरोधी क्षमतामा ह्रास आउने अवस्था रहेकाहरूलाई तेस्रो मात्रा दिन राष्ट्रिय खोप कार्यक्रमलाई सिफारिस गरेको अधिकारीहरू बताउँछन्।
‘रोगप्रतिरोधी क्षमता कम हुने वर्गमा खोपको प्रभावकारिता पनि कम हुँदै गएको पाइन्छ। त्यसैले ६० वर्ष माथि उमेर समूह र दीर्घरोग भएकालाई थप एक मात्रा खोप दिन सुझाएका हौँ’-समितिका संयोजक डा. रमेशकान्त अधिकारीले बताउनुभयो।
विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले चिनियाँ खोप भेरोसेलको प्रभावकारिताका लागि दुई मात्राले मात्र नपुग्ने तेस्रो मात्रा आवश्यक पर्ने बताएपछि त्यस्तो सिफारिस गरेको उहाँले जिकिर गर्नुभयो ।
‘डब्लूएचओले गरेको समीक्षा र दिएको सुझाव कार्यान्वयन गरेपछि मात्र कोभ्याक्स योजनाअन्तर्गत पाइने खोपहरू नेपाल ल्याउन सकिन्छ। विश्व स्वास्थ्य सङ्गठनकै सिफारिसलाई अनुमोदन गरेका हौँ।’
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि खोपले सर्वसाधारण मानिसको शरीरमा विकास गर्ने एन्टिबडी कति समय प्रभावकारी हुन्छ भन्ने विषयमा अनुसन्धान गरेको थियो।
काठमाण्डू उपत्यकाका १,८०० मानिसमा गरिएको उक्त अध्ययनले ९० दिनपछि एन्टिबडी कमजोर बन्दै जाने देखाएको थियो।
डा. अधिकारीका अनुसार क्यान्सर भएका, अङ्ग प्रत्यारोपण गराएका, एचआईभी एड्सजस्ता प्रतिरोधी क्षमता कमजोर बनाउने सङ्क्रमण भएका र नियमित औषधि सेवन गरिरहेका बिरामीहरूले तेस्रो मात्रा खोप पाउनेछन्।
थप गर्न लागिएको मात्रालाई ‘बुस्टर डोज’ भन्न नमिल्ने उहाँले बताउनुभयो ।
कहिले र कसरी पाइन्छ?
समितिले ६० वर्ष माथिका वृद्धवृद्धालाई भेरोसेल खोपको दोस्रो मात्रा लगाएको कम्तीमा तीन महिनापछि तेस्रो मात्रा दिन सिफारिस गरेको हो।
त्यस्तै दीर्घरोगीहरूको हकमा उनीहरूले भेरोसेल, कोभिशील्ड वा अन्य जुन खोप लगाए सोही खोपको तेस्रो मात्रा दिइनेछ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल कर्णका अनुसार तेस्रो मात्रा खोप पहिलो र दोस्रो मात्रा लगाएकै केन्द्रहरूमार्फत उपलब्ध गराइनेछ।
“तत्कालका लागि भेरोसेलको तेस्रो मात्रा दिइन्छ। त्यसका लागि व्यवस्थापकीय तयारीको अन्तिम चरणमा छौँ,” भन्नुभयो ।
“अनलाइन माध्यममा तेस्रो मात्रा दिइएको अभिलेख कसरी गर्ने भन्ने विषयमा गृहकार्य सकिएपछि खोप दिन थाल्छौँ।” खोप लगाउनका लागि खोप कार्ड र सम्बन्धित व्यक्तिको उमेर ६० वर्ष पुगेको प्रमाण देखाउनु पर्नेछ।
त्यस्तै क्यान्सर भएका, अङ्ग प्रत्यारोपण गराएका, एचआईभीको सङ्क्रमण भएका वा औषधि सेवन गरिरहेको दीर्घरोगीहरूले आफ्नो स्वास्थ्य अवस्था इङ्गित गर्ने प्रमाण पेस गर्नु पर्ने बताउनुभयो ।
तर तेस्रो मात्रा कहिलेबाट वितरण सुरु गर्ने भन्ने टुङ्गो लागि नसकेको जानकारी दिनुभयो ।
कर्णका अनुसार हालसम्म खोप लगाएका सम्पूर्णलाई बुस्टर डोजु दिन पुग्दो खोप नेपालसँग छ। तर प्राथमिकतामा एकपटक पनि खोप नलगाएको वर्ग रहेको उहाँको कथन छ।
‘हाल हामी लक्षित वर्गलाई मात्र तेस्रो मात्रा दिन्छौँ। थप खोप आउँदै छन्। ती खोप ल्याउने मिति समेत पछाडि धकेलिरहेका छौँ किनकि हामीसँग भण्डारण गर्ने क्षमता छैन’, उहाँले भन्नुभयो-‘रहेका खोप प्रयोग गरिसकेर मात्र थप ल्याउँछौँ।’
उहाँले करिब तीन करोड मात्रा खोप नेपाल आउने निश्चित भएको बताउनुभयो ।
तेस्रो मात्रा किन आवश्यक?
सामान्य स्वास्थ्य अवस्था भएका मानिसको हकमा जोनसन एण्ड जोनसन खोपको एक मात्रा खोप लगाउँदा र कोभिशील्ड, भेरोसेललगायत खोपको दुई मात्रा लगाउँदा शरीरले सङ्क्रमणविरुद्ध एन्टिबडी विकास गर्ने बताइएको थियो।
विशेष स्वास्थ्य स्थिति भएका मानिसमा रोगप्रतिरोधी क्षमता विकास गर्न खोपको दुई मात्रा मात्र पर्याप्त नहुने देखिएपछि तेस्रो मात्राको आवश्यकता पुष्टि भएको बताइन्छ।
“ती समूहमा कोरोनाभाइरसविरुद्धको एन्टिबडी बढाउनु नै तेस्रो मात्राको उद्देश्य हो। जसले शरीरको स्पाइक प्रोटिनहरूलाई नियन्त्रण गरी सङ्क्रमण हुनबाट जोगाउँछ,” डा. अधिकारीले भन्नुभयो “सङ्क्रमण भइहाले स्वास्थ्य अवस्था गम्भीर हुन दिँदैन।”
सङ्क्रामक रोग विज्ञ शेरबहादुर पुन भेरोसेल लगाएकाहरूमध्ये वृद्धवृद्ध र उच्च जोखिममा रहेका समूहलाई तेस्रो मात्रा दिनु उनीहरूलाई बचाउने उपयुक्त माध्यम भएको बताउनुहुन्छ ।
“किनकि भेरोसेलको दोस्रो मात्रा लगाएको लगभग छ महिना बित्यो। उक्त खोप लगाएका ६० वर्ष माथिका सङ्क्रमितको मृत्यु भएको घटना फाट्टफुट्ट देखिन थालेका छन्। त्यसको अर्थ रोगप्रतिरोधी क्षमता बढाउनका लागि बुस्टर मात्रा दिने समय भयो,” उहाँले भन्नुभयो ।
खोप लगाउन बाँकीलाई प्राथमिकतामा राख्दै उच्च जोखिम वर्गलाई थप मात्रा दिनु पर्ने बताउनुभयो ।
कम्तीमा दुई मात्रा लगाएकाहरू सङ्क्रमित भए पनि अस्पताल जानु पर्ने र गम्भीर अवस्थामा पुग्ने सम्भावना न्यून रहने बताउनुभयो ।
‘सबैले दुई मात्रा र जोखिम समूहले तीन मात्रा खोप लगाएको स्थितिमा नयाँ भेरिअन्टको सङ्क्रमण फैलिए पनि हाम्रो स्वास्थ्य प्रणालीले धान्ने अवस्था रहन सक्छ’, पुनले भन्नुभयो ।
त्यस्तै तेस्रो मात्रासम्बन्धी नीति देशको परिस्थिति र क्षमता सुहाउँदो बनाउनु पर्ने धारणा राख्नुभयो । अमेरिका वा अन्य विकसित देशको अनुसरण गर्दा समस्या सिर्जना हुनसक्ने चेतावनी समेत दिनुभयो ।
थप मात्रा ‘बुस्टर डोज’बाट कसरी फरक?
विश्व स्वास्थ्य सङ्गठनले थप मात्रा र बुस्टर डोजलाई फरक-फरक व्याख्या गरेको छ। खोपको तोकिएको मात्राको प्रभावकारिता कम देखिँदा थप खोप दिइन्छ।
त्यो अवस्थामा एक वा सुझाव अनुरूप थप मात्रा लगाएपछि मात्र खोपको पूर्ण मात्रा लगाएको कहलिन्छ। समय क्रममा पूर्ण खोप लगाएका मानिसको शरीरमा सङ्क्रमणविरुद्धको एन्टिबडी खस्कँदै जान्छ।
त्यस अवस्थामा एन्टिबडीलाई पुनः ‘बुस्ट अप’ गर्न अर्थात् बढाउन दिइने मात्रालाई बुस्टर डोज भनिने सङ्क्रामक रोग विज्ञ पुन बताउनुहुन्छ । बीबीसीबाट साभार