Logo
|
Saturday 18th May 2024
Logo

epaper

अनुसन्धानकर्ताहरुको विश्लेषणः कोभिडविरुद्ध खोपको बूस्टर मात्राले ओमिक्रोन भेरिअन्टमा गम्भीर बिरामी हुनबाट ८५ प्रतिशतसम्म जोगाउने



जनस्वास्थ्य सरोकार । यूकेका अनुसन्धानकर्ताहरूले कोभिडविरुद्ध खोपको बूस्टर मात्राले ओमिक्रोन भेरिअन्टमा कस्तो प्रभाव पार्छ भनी गरेको विश्लेषणले गम्भीर बिरामी हुनबाट त्यस्तो मात्राले लगभग ८५ प्रतिशतसम्म जोगाउने देखाएको बताएका छन् ।

यस्तो सुरक्षा कोरोनाभाइरसका पहिलेका भेरिअन्टका तुलनामा केही कम हो ।

तर यसको अर्थ के हो भने थप मात्रा खोपले अझै पनि कैयौँ मानिसहरूलाई अस्पतालसम्म पुग्नुपर्ने अवस्थाबाट रोक्नेछ ।

बिहीवार यूकेमा हालसम्मकै उच्च ८६१,३०६ मात्रा बूस्टर र तेस्रो मात्रा खोप दिइएकै बेला उक्त कुरा बाहिर आएको हो ।

इम्पेरिअल कलेज लन्डनको समूहले गरेको उक्त मोडलिङ ओमिक्रोन बारेका सीमित सूचनामा आधारित छ।

तीव्र गतिमा फैलिइरहेको उक्त नयाँ भेरिअन्टबारे वास्तविक अवस्थाका अझै धेरै सूचनाहरू सङ्कलन गर्नुअघि अहिले पनि उच्च तहको अनिश्चितता रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

विज्ञहरूले ओमिक्रोन भेरिअन्ट कति गम्भीर हुन्छ वा हुँदैन भन्नेबारे पत्ता लगाउन कोसिस गरिरहेको जानकारी दिएका छन्।

खोपहरूले हाम्रो शरीरलाई कोभिडविरुद्ध कसरी काम गर्ने भनेर सिकाउँछन्।

तर अहिले उपलब्ध खोपहरू उच्च मात्रामा उत्परिवर्तित ओमिक्रोन भेरिअन्टका लागि प्रयोग गर्ने हिसाबले बनाइएका होइनन्। त्यसैले गर्दा ती खोपहरू उक्त भाइरसका लागि ठ्याक्कै काम गर्ने खालका होइनन्।


बूस्टर मात्रा लगाउन सुझाव

यसबाट बच्नका लागि यूकेका मानिसहरूलाई बुस्टर मात्रा खोप लगाउन सुझाइएको छ।

त्यसले गर्दा मानिसहरूमा भाइरससँग लड्ने एन्टिबडीको तह उच्च हुनेछ ।

एन्टिबडीले भाइरसमा टाँसिएर उसलाई कोषहरूमा प्रवेश गर्न र भाइरसको मात्रा बढाउन रोक्नेछ ।


अध्ययनहरूले दुई मात्रा खोप लगाएका व्यक्तिहरूले भाइरसलाई बाहिर राख्ने एन्टिबडीको क्षमतामा २० देखि ४० प्रतिशतसम्म क्षमतामा कमी आएको देखाएका छन् ।

इम्पेरिअल समूहको प्रारम्भिक कामले ओमिक्रोनविरुद्ध खोपको प्रभावकारिता कम हुनसक्ने ठानेको छ।

बूस्टर मात्राले पनि गम्भीर अवस्थाबाट बचाउने दर अन्य भेरिअन्टका तुलनामा कम देखिएको छ।

ओमिक्रोनमा यस्तो प्रभावकारिता ८० देखि ८५.९ प्रतिशत छ भने डेल्टालगायतका अन्यमा यस्तो प्रभावकारिता ९७ प्रतिशत रहेको छ।

यूकेमा अहिले पनि धेरै मात्रा डेल्टा भेरिअन्ट नै देखिइरहेको छ।

यद्यपि हाम्रो प्रतिरक्षा प्रणालीमा अन्य क्षेत्रहरू पनि छन् तिनले कोभिडविरुद्ध लडाइँ लड्छन् ।
त्यस्तोमा टी सेलहरू पनि हुन्। उक्त मोडलिङले टी सेलहरूमा पर्ने असरबारे चाहिँ अध्ययन गरेको छैन ।

इम्पेरिअलकी एक जना अनुसन्धानकर्ता आज्रा गनीले भनिन्, ूएउटा अझै रहेको अनिश्चितता के हो भने ओमिक्रोन भेरिअन्टका कारण रोग कति गम्भीर हुन्छ भन्ने तुलना पुराना भेरिअन्टले बनाएको गम्भीर अवस्थासँग हुन्छ ।

तर यसलाई पूर्ण रूपमा बुझ्नका निम्ति कैयौँ साताहरू लाग्न सक्छ त्यसैले गर्दा सरकारले सम्भावित असरलाई मध्यनजर गर्दै योजना बनाइहाल्नु जरुरी छ। हाम्रो अध्ययनले बूस्टर मात्राको महत्त्वलाई देखाएको छ।

यूकेको खोप कार्यदलका पूर्व प्रमुख डा. क्लाइभ डिक्स भन्छन्, ती मोडलिङहरूले बूस्टर मात्राको प्रभावकारिताबारे अनुमान गरेका कुराहरूमा ठूलो मात्रामा अनिश्चितता रहेको छ। वास्तविक संसारमा अस्पताल भर्ना हुने, आईसीयूमा पुग्ने र मृत्युका अर्को महिनामा आउने यथार्थ विवरणपछि मात्र हामी यकिन रूपमा त्यस्तो प्रभावकारिताबारे भन्न सक्छौँ।

तर के हो भने पूरै विश्वका लागि अहिले र भविष्यका लागि पनि खोप आवश्यक छ ।

बीबीसी न्यूज

प्रतिक्रिया दिनुहोस्