Logo
|
Thursday 28th March 2024
Logo

epaper

कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोन कम जोखिमपूर्ण-अध्ययन



जनस्वास्थ्य सरोकार । कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनबाट संक्रमित ५० देखि ७० प्रतिशतलाई अस्पतालमा उपचारको आवश्यकता कम पर्ने पछिल्लो अध्ययन विश्लेषणले पुष्टि गरेको छ ।

बेलायतको स्वास्थ्य मन्त्रालयले ओमिक्रोनको बारेमा अहिले नै सबैकुरा भन्न नसकिने भए पनि अस्पतालमा उपचारको आवश्यकता पर्ने गरी गम्भीर विरामी बनाउने दर निकै कम भएको कुराले उत्साहित बनाएको जनाएको छ ।

तर पछिल्लो समय ओमिक्रोन संक्रमण फेला परेयता युरोपेली र अमेरिकी मुलुकमा संक्रमित हुनेको संख्या अत्यधिक रुपमा बढेको छ ।

अध्ययनले कोरोना विरुद्धको बुस्टर खोप लगाएको १० हप्तापछि देखि मात्रै खोपले संक्रमित हुनबाट रोक्ने देखाएको छ ।

खोपले गम्भीर रोग बिरूद्ध बलियो सुरक्षा प्रदान गर्ने सम्भावना रहेको जनाइएको छ । दक्षिण अफ्रिका, डेनमार्क, इङ्ल्याण्ड र स्कटल्याण्डको तथ्यांकका आधारमा विश्लेषण गरिएको हो ।

अध्ययनले के देखायो?

स्कटल्यान्डमा गरिएको अध्ययनमा कोभिडबाट कति बिरामी भए र उनीहरूमध्ये कति अस्पताल पुगे भन्ने तथ्याङ्क हेरिएको छ। त्यसले ओमिक्रोन पनि डेल्टा भेरिअन्ट जस्तै जोखिमपूर्ण हुने हो भने अस्पतालमा ४७ जना बिरामी भर्ना हुनुपर्ने तर अहिले १५ जना मात्रै बिरामी भर्ना भएको बताएको छ।

अध्ययनकर्ताहरूले अस्पताल भर्ना हुने सङ्ख्यामा लगभग दुई तिहाइ कमी देखिएको बताएका छन्। यद्यपि अध्ययनमा निकै कम बिरामी र जोखिममा रहेका जनसङ्ख्याको तथ्याङ्क छ। पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड-१९ निर्देशक डा. जीम म्याकमेनानीनले यो “एउटा राम्रो समाचार” भएको बताएका छन्।

उनले यो तथ्याङ्कले अस्पताल भर्ना विषयमा “थाहा पाउन बाँकी कुरा केही भनेको” बताउँदै तर यसकै आधारमा “केही हुँदैन भनेर बाहिर निस्कन” नहुने बताए।

एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक मार्क वुलहाउसले भने: “अधिकांश जनसङ्ख्याका लागि व्यक्तिगत रूपमा यसको सङ्क्रमण कमजोर हुन सक्छ तर यी सबै सङ्क्रमणहरू एकै पटक हुँदा अस्पतालमा भिड लाग्न सक्छ।”

दक्षिण अफ्रिकाको अध्ययन

दक्षिण अफ्रिकामा गरिएको अर्को अध्ययनले पनि ओमिक्रोनको लहर कम खतराको भएको देखाएको छ। अध्ययनले अन्य लहर र अन्य भेरिअन्टको सङ्क्रमणको तुलनामा ७० देखि ८० प्रतिशत कम अस्पताल भर्ना हुनुपर्ने अवस्था आउने देखाएको छ।

तर अध्ययनले अस्पताल पुग्ने बिरामीका लागि यो भेरिअन्ट र अन्य भेरिअन्टको सङ्क्रमणमा खास फरक नदेखिएको बताएको छ।

किन कम घातक?

ओमिक्रोन भेरिअन्ट कम घातक हुनुका कारण यसको बनौट र खोप वा सङ्क्रमणका कारण मानव शरीरमा बनेको प्रतिरोधी क्षमतालाई मानिएको छ। लन्डनमा गरिएको एक अध्ययनले ओमिक्रोनलाई उत्परिवर्तनले डेल्टाभन्दा कम घातक बनाएको देखाएको छ।

अध्ययनकर्ताहरूले खोप नलगाएको वा पहिले सङ्क्रमण नभएका व्यक्तिमा पनि ओमिक्रोन सङ्क्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था ११ प्रतिशतले कम हुन्छ।

सो अध्ययनले प्रतिरोधी क्षमता विकास गरेका मानिसमा ओमिक्रोन सङ्क्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था २५ देखि ३० प्रतिशतले कम हुने र एक दिनभन्दा बढी अस्पतालमा बस्नुपर्ने अवस्था ४० प्रतिशतले कम हुने नतिजा निकालेको छ। एक अध्ययनकर्ता डा. नील फर्गुसनले भने: “यो स्पष्ट रूपमा एक हदसम्म राम्रो खबर हो।”

तर उनले यो कमीले अहिलेको अवस्थालाई नाटकीय रूपमा फरक पार्न यथेष्ट नभएको र धेरै सङ्क्रमित हुँदा अस्पतालमा चाप बढ्न सक्ने बताए।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्