Logo
|
Saturday 18th May 2024
Logo

epaper

कोभिड भयो भने के गर्ने ?



मानौँ, तपाईँ कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभयो। त्यस्तो अवस्थामा के गर्ने? पक्कै पनि अरू सङ्क्रमित नहोऊन् भन्नका लागि तपाईँ अन्य व्यक्तिबाट टाढै बस्नुपर्छ। तपाईँको स्वास्थ्य लाभका लागि विज्ञहरूले केही सुझाव दिएका छन्।

परिवार र साथीभाइलाई भन्नुहोस्

मौन बसेर पीडा नसहनूस्। तपाईँलाई कोभिड भएको कुरा मानिसहरूलाई थाहा दिनुहोस्। उनीहरूले तपाईँको ढोकासम्म खाने कुरा ल्याइदिन अनि तपाईँको अवस्था जान्न फोन गर्न सक्छन्। कैयौँ देशमा तपाईँ आइसोलेशनमा बसेका बेला किनमेल अनि औषधि सङ्कलनमा सहयोग गर्नका लागि स्वयंसेवी उपलब्ध हुन्छन्।

आराम गर्नुहोस्

कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोन र डेल्टाका हकमा समेत सङ्क्रमितहरूमा मन्द वा लक्षण नै नहुन सक्छ र उनीहरूले घरमै बसेर सङ्क्रमणलाई परास्त गर्न सक्छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिडका प्रमुख लक्षण यस प्रकार छन्:

  • नयाँ, लगातार खोकी
  • ज्वरो, शरीरमा उच्च ताप
  • स्वाद र गन्ध हराउनु वा परिवर्तन हुनु

तर हजारौँ सङ्क्रमितबाट उनीहरूको अनुभवबारे प्रतिक्रिया लिएका अनुसन्धानकर्ताहरूले पाँच प्रमुख लक्षण चिसो लाग्दाको जस्तै रहेको बताएका छन्:

  • नाकबाट पानी बग्नु
  • टाउको दुख्नु
  • थकान (मन्द वा तीव्र)
  • हाच्‍छिउँ गर्नु
  • घाँटी दुख्नु

तपाईँले अस्वस्थ महसुस गरे आफूलाई उपयोगी सिद्ध हुनसक्ने कार्यहरू गर्न सक्नुहुन्छ। पर्याप्त आराम गर्नुहोस् अनि पानी पिउनुहोस्। सहज महसुस गर्नका लागि प्यारासिटामोल वा इबुप्रोफेन (ibuprofen) सेवन गर्नुहोस्।

खोकी लागे कोल्टे फर्केर सुत्नुहोस् वा ढाड अडेस नलगाएर बस्नुहोस् । सास फेर्न गाह्रो भएको अवस्थामा सुत्नभन्दा ठाडो परेर बस्दा राम्रो हुन्छ।

तपाईँले यी उपाय पनि अपनाउन सक्नुहुन्छ

  • सुस्त गतिमा नाकबाट सास लिने र मैनबत्ती निभाउँदा जस्तै गरी ओठको प्रयोग गरेर मुखबाट बाहिर निकाल्ने
  • आफ्नो काँधलाई आराम दिनुहोस् र हात घुँडामा हात राखेर थोरै अघि झुक्नुहोस्
  • कोठाको ताप थोरै घटाइदिने अनि स्वच्छ हावा प्रवाह हुन दिने

सास फेर्न गाह्रो भए यस्तो गर्नुहोस्

रगतमा अक्सिजनको मात्रा कति छ थाहा पाउनका लागि पल्स अक्सिमिटर भनिने उपकरणको प्रयोग गर्ने। शरीरको तापमान थाहा पाउनका लागि थर्मोमिटर प्रयोग गरे जस्तै औँला चेपेर यो उपकरणबाट अक्सिजनको मात्रा मापन गर्न सकिन्छ।

पल्स अक्सिमिटर कसरी प्रयोग गर्न सकिन्छ

रगतमा अक्सिजनको तह कम हुनु भनेको अवस्था बिग्रँदै गएको सङ्केत हो। अक्सिजनको मात्रा ९५ भन्दा माथि हुनु सामान्य अवस्था हो। तर ९३ वा ९४ मा त्यो झर्‍यो र एक घण्टापछि हेर्दा पनि त्यही नै कायम रह्यो भने सुझावका लागि चिकित्सकलाई फोन गर्नुहोस्। यदि तह ९२ वा त्यो भन्दा तल झर्‍यो भने अस्पताल जानुहोस् वा एम्बुलेन्स सेवाका लागि फोन गर्नुहोस्।

कहिले सहयोग माग्ने थाहा पाउनुहोस्

यदि तपाईँलाई थप केही उपकरण चाहिए फार्मेसीमा फोन वा अनलाइन सम्पर्क गर्न सक्नुहुन्छ। विश्व स्वास्थ्य सङ्गठनको वेबसाइटमा कोभिडबारे थुप्रै जानकारी राखिएका छन्। कोभिड भएका केही मानिसलाई चिकित्सकीय सहायता आवश्यक पर्नसक्छ। केही अस्पताल नै बस्नुपर्ने पनि हुनसक्छ।

केही देशले स्वास्थ्य सेवामार्फत्‌ उच्च जोखिममा रहेका बिरामीलाई सङ्क्रमणलाई गम्भीर हुन नदिनका लागि घरमै सेवन गर्न सकिने औषधि उपलब्ध गराउने गरेका छन्।

निम्नलिखित अवस्था रहे चिकित्सकबाट सुझाव माग्नुहोस्:

  • क्रमिक रूपमा झन् बिरामी पर्दै गए वा सास फेर्न झन् गाह्रो हुँदै गए
  • उठ्दा वा आसपासमा हिँडडुल गर्दा सास फेर्न गाह्रो भएमा
  • एकदमै कमजोर महसुस गरेमा, थकान भएमा वा शरीर दुखेमा
  • हल्लिन वा काम्न थालेमा
  • खाना खान मन नलाग्ने अवस्था आएमा
  • आफ्नो स्याहार आफै गर्न नसक्ने अवस्था आएमा – उदाहरणका लागि लुगा धुन, लगाउन वा खाना बनाउन निकै कठिन भएमा
  • चार हप्ता भएपछि पनि अस्वस्थ महसुस गरेमा – यो दीर्घ कोभिड हुनसक्छ

निम्नलिखित अवस्था रहे अस्पताल जानुहोस्:

  • सास फेर्न समस्याका कारण आराम गर्दा छोटो वाक्य समेत उच्चारण गर्न नसकेमा
  • श्वासप्रश्वास अचानक खराब भएमा
  • खोक्दा रगत निस्केमा
  • छाला पहेँलो वा छालामा बिमिरा आएको अवस्थामा जाडो हुँदा समेत पसिना आएमा
  • बेहोस भएमा
  • धेरै उत्तेजित भएमा, अलमल परेमा वा निद्रा लागेमा
  • पिसाब फेर्न बन्द भएमा वा सामान्य अवस्थामा भन्दा निकै कम पिसाब फेरेमा

यदि तपाईँ शिशु वा बालबालिकाबारे चिन्तित हुनुहुन्छ भने सहयोग माग्न धेरै ढिलाइ नगर्नुहोस्। यदि उनीहरू धेरै बिरामी परे र त्यो अवस्था झन् खराब हुँदै गयो भने वा तपाँइलाई केही कुरा गम्भीर रूपमा गलत भइरहे जस्तो लाग्यो भने एम्बुलेन्स बोलाउनुहोस्।

प्रतिक्रिया दिनुहोस्