Logo
|
Friday 29th March 2024
Logo

epaper

प्रयोगशालाले सयौँ मानिसलाई कोरोनाभाइरस सङ्क्रमण नभएको त्रुटिपूर्ण रिपोर्ट दिएपछि…



जनस्वास्थ्य सरोकार । सिड्नीको एउटा प्रयोगशालाले सयौँ मानिसलाई कोरोनाभाइरस सङ्क्रमण नभएको त्रुटिपूर्ण रिपोर्ट दिएको तथ्य प्रकाशमा आएको छ। क्रिसमसका समयमा भएको उक्त त्रुटि तथ्याङ्क प्रशोधनमा समस्या हुँदा देखा परेको बताइएको छ।

अस्ट्रेलियाको न्यू साउथ वेल्समा शक्तिशाली ‌ओमिक्रोन भेरिअन्टको प्रवेशसँगै सङ्क्रमण बढिरहँदा यस्तो विवरण आएको हो। अधिकारीहरूले स्वाब परीक्षण गर्ने मानिसको सङ्ख्या बढेकाले पहिला गरिएका धेरै परीक्षणको परिणाम दिन नसकिएको जनाएका छन्।

कसरी भयो त्रुटि

कतिपय प्रभावित मानिसले नजानीकनै आफूहरूले क्रिसमसको समयमा आफ्ना प्रियजनलाई सङ्क्रमण सारेको हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

सीडप्याथ नामक प्रयोगशालाले मङ्गलवार क्षमा मागेको छ र कुल ८८६ जनालाई प्रभावित पार्नेगरी भएको गल्ती आफ्ना कर्मचारीले कामको “अभूतपूर्व” चाप बेहोर्नुपर्दा भएको जनाएको छ।

यसअघि उक्त प्रयोगशालाले क्रिसमसको दिन आफूले त्रुटिपूर्ण ढङ्गले ४०० जनालाई कोभिड नभएको बताएको स्वीकार गरेको थियो। ती व्यक्तिहरूलाई एक दिनपछि मात्रै गल्तीबारे जानकारी गराइएको थियो।

पछि सीडप्याथले थप सयौँ मानिसलाई परीक्षणको नतिजा आइनपुगीकनै उनीहरूलाई सङ्क्रमण नभएको जानकारी आयो।

मङ्गलवार उक्त प्रयोगशालाले सो समूहका ४८६ मानिसमा कोभिड देखिएको पुष्टि गरेको थियो।

आफ्नो विज्ञप्तिमा सीडप्याथले कामको चापका कारण स्वचालित प्रणालीको सट्टा आफूले हाते विधि अवलम्बन गरेको उल्लेख गरेको छ।

“दुर्भाग्यवश… एउटा सामान्य तथ्याङ्क प्रशोधनसम्बन्धी त्रुटिले गलत परीक्षण नतिजा सार्वजनिक भयो,” उसले भनेको छ।

सीडप्याथले त्यसपछि आफू पुनः स्वचालित प्रणालीमा नै फर्किएको र आफ्नो परीक्षणको गुणस्तर कायम राख्न स्वाब परीक्षणको सङ्ख्या घटाएको उल्लेख गरेको छ।

गलत रिपोर्टबाट प्रभावित भएकी सिड्नीकी स्टेफनी कोलोनाले द टुडे शोसँग कुरा गर्दै आफ्नो परिवारबारे चिन्ता प्रकट गरेकी छन्।

“त्यसले मलाई भयभीत र चिन्तित बनाएको छ। यदि (मेरा परिवारजन) सङ्क्रमित भए भने मैले आफूलाई दोषी मान्नुपर्छ किनभने अहिले म सङ्क्रमित छु।”

क्षमताभन्दा बढी माग

न्यू साउथ वेल्समा हाल कोभिड परीक्षणको माग उच्च रहेको छ। प्रयोगशालाहरूको क्षमताभन्दा बढी माग भएपछि कैयौँ मानिसलाई फर्काइएको भनिएको छ। कैयौँले नतिजाका लागि लामो समय कुर्नुपरेको गुनासो गरेका छन्।

सात दिनको दैनिक औसत परीक्षणको सङ्ख्या एक लाख ४५ हजार छ। त्योभन्दा अघिल्ला साता न्यू साउथ वेल्सको प्रतिदिन औसत परीक्षण सङ्ख्या एक लाख १७ हजार थियो।

उक्त राज्यले गएको डिसेम्बरमा हटाइएको कतिपय प्रतिबन्धहरू पुन: कायम गर्ने निर्णय गरेको छ।

एउटा अलग्गै घटनामा दक्षिण अस्ट्रेलियाका प्रहरीहरूले कोभिड देखिए पनि त्यसलाई बेवास्ता गर्दै रात्रिक्लब गएका एक किशोरविरुद्ध मुद्दा दायर गरेका छन्।

ती १९ वर्षीय किशोर एक्लिएर बस्न दिएको निर्देशन बेवास्ता गर्दै एडिलेडस्थित एउटा क्लबमा गएका थिए।

यदि दोषी प्रमाणित भए उनलाई दुई वर्षसम्म जेल वा जरिवाना हुन सक्छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्