Logo
|
Saturday 28th May 2022
Logo

epaper

कोभिड-१९ को दुई वर्ष: यी हुन् हामीले सिकेका पाँच कुरा



चीनले कोरोनाभाइरस पत्ता लगाएको घोषणा गरेको दुई वर्ष बितेको छ। सन् २०१९ को डिसेम्बर ३१ यता विश्व तीव्र गतिमा बदलिएको छ। उक्त परिवर्तन हामीलाई उपलब्ध स्वास्थ्य सेवादेखि हाम्रो काम गर्ने शैलीमा देखिएको छ। महामारी सुरु भएयता हामीले देखेका पाँच प्रमुख परिवर्तन यी हुन्:

१. एमआरएनए खोपको उपयोगिता र तीव्र उत्पादन

महामारी सुरु भए लगत्तै अनुसन्धानकर्ताहरूले कोभिड-१९ विरुद्धको खोप विकास गर्न तीव्र गतिमा प्रयास गरेका थिए।

केही औषधि कम्पनीहरूले विगतमा कहिल्यै मानवमा प्रयोग गर्न अनुमति नदिइएको एमआरएनए प्रविधि प्रयोग गर्ने निधो गरे।

उक्त जोखिमले परिणाम दियो। फाइजर-बायोएनटेक र पछि मोडर्नाले अरूभन्दा चाँडै खोपको विकास मात्रै गरेनन्, उनीहरूको आविष्कारले त्यस्तै विधि प्रयोग गरी अरू रोगको नयाँ उपचारहरूका लागि पनि बाटो खोलिदियो।

यो विधिमा खोपमार्फत शरीरमा भाइरसको सानो अंश राखिन्छ।

त्यो घातक हुँदैन र त्यसले शरीरको रोगप्रतिरोधी प्रणालीलाई भाइरसले सङ्क्रमण गरेको खण्डमा प्रतिरोध गर्न सिकाउँछ।

एमआरएनएका अन्य कैयौँ सम्भावना पनि रहेको बताइन्छ।

एचआईभी, फ्लू र जिकाजस्ता रोगका लागि खोप निर्माण गर्न र क्यान्सरका कोषविरूद्ध लड्ने शरीरको रोग प्रतिरोधी प्रणालीलाई तयार पार्न पनि यसलाई प्रयोग गर्न सकिने ठानिएको छ।

एमआरएनए उपचारका बारेमा वर्षौँदेखि अनुसन्धान चलिरहेको थियो तर कोभिड-१९ खोपहरूले पहिलो पटक व्यवहारमै त्यो उपयोगी हुने पुष्टि गरिदिएका छन्।

यो सफलताले दशौँ लाख मानिसको जीवन बदल्ने अनुसन्धानको निम्ति बाटो खोलिदिनसक्छ।

२. कोभिड-१९ हावामार्फत सजिलै सर्छ

कोभिड महामारी घोषणा भएको करिब चार महिनापछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ट्विट गर्‍यो: “तथ्य: #कोभिड-१९ हावाबाट सर्दैन।”

त्यो बेला डब्ल्यूएचओका विज्ञहरूले मानिसहरूलाई मास्क लगाउन सुझाव दिइरहेका थिएनन्।

मास्क
धेरै देशहरूले मास्क अनिवार्य बनाएका छन्

तर महामारीको समयमा थाहा भएका कुराले उक्त धारणामा परिवर्तन ल्याइदिएको छ।

डब्ल्यूएचओले अहिले मानिसहरूले अरू मानिसहरूको छेउछाउ हुँदा मास्क लगाउने कुरालाई आम व्यवहार बनाउनुपर्ने सुझाव दिएको छ।

त्यसको कारण कुनै व्यक्तिले खोके वा हाच्छिउँ गरेपछि हावामा छोटो अवधिका लागि रहने थुक वा खकारको अंशले कोभिड-१९ सर्छ भन्ने प्रमाण नै हो।

महामारी

अहिले डब्ल्यूएचओले हावामा लामो समयसम्म रहनसक्ने साना कणहरूबाट पनि कोरोनाभाइरस सर्नसक्ने उल्लेख गरेको छ।

एउटा सम्पादकीयमा ब्रिटिश मेडिकल जर्नलले भने अनुसार एकदमै नजिक भएको अवस्थामा मानिसहरू हावामा रहेका ठूला कणहरू उनीहरूका आँखा, नाकको प्वाल वा ओठमा सम्पर्कमा आउनुभन्दा पनि भाइरसलाई सोझै निलेर सङ्क्रमित बन्न पुग्छन्।

“कुनै पनि सतहलाई छोएर सार्स-कोभ-२ को सङ्क्रमण सर्ने कुरालाई अहिले तुलनात्मक रूपमा कमजोर मानिन्छ।”

अनुसन्धानहरूले दुई मिटरभन्दा पर रहेका मानिसहरूलाई पनि सङ्क्रमित व्यक्तिहरूले कोभिड सारेको देखाएको छ।

त्यसबाहेक सङ्क्रमण भएको व्यक्ति केही मिनेट वा घण्टाअघि बसेको ठाउँमा पनि अर्कोलाई सङ्क्रमण भएको पाइएको छ।

अहिले पनि हात धुने र सतहलाई सफा गर्ने कुरालाई राम्रो व्यवहारको रूपमा प्रवर्द्धन गरिएको छ तर बढी जोड चाहिँ मास्क लगाउनु र हावाको निकास हुने स्थानमा छ।

३. घरबाट काम र यसको निरन्तरता

महामारीको समयमा दशौँ लाख मानिसहरूलाई कार्यालयको सट्टा घरबाट नै काम गर्न भनियो। केही वर्ष अघिसम्म यो प्राविधिक रूपमा सम्भव हुँदैन थियो।

तर कोभिडले भिडिओ कलहरू गर्ने जस्ता काम धेरैका लागि सहज भएको देखाएको छ।

यसले हामीमध्ये दशौँ लाखले काम गर्ने तरिका लामो समयका लागि बदल्ने जस्तो देखिन्छ।

घरबाटै काम

सन् २०२० को मेमा सामाजिक सञ्जाल ट्विटरले आफ्ना कामदारहरूले सधैँ घरबाट काम गर्न सक्ने घोषणा गरेको थियो।

तर उसले कामदारहरू घरबाट काम गर्न मिल्ने भूमिका र अवस्थामा हुनुपर्ने उल्लेख गरेको थियो।

फेसबुकले पनि यो वर्षको प्रारम्भमा त्यस्तै घोषणा गरेको थियो। तर प्रविधिसम्बन्धी अग्रणी कम्पनीहरू मात्रै नभएर अरूहरूले पनि यस्तै बाटो पछ्याएका छन्।

एक हजार दुई सय कम्पनीमाझ गरिएको एउटा अध्ययनले सन् २०२१ मा घरबाट स्थायी रूपमा काम गर्ने मानिसको सङ्ख्या दुई गुणाले वृद्धि हुने देखाएको थियो।

विश्वव्यापी रूपमा १९० देशका दुई लाख जनामा बोस्टनको एउटा फर्मले गरेको अध्ययनले ८९ प्रतिशत मानिसहरू केही समय घरबाटै काम गर्ने अवस्था रहेको उल्लेख गरेको थियो।

महामारीअघि त्यसरी काम गर्नेहरू जम्मा ३१ प्रतिशत थिए।

तर कम ज्याला र कम सुरक्षा भएका काममा लचिलो ढङ्गले काम गर्न गाह्रो हुनसक्छ। यसले समाजमा असमानता बढाउन सक्छ।

४. जोखिममा रहेकालाई बढी प्रभाव

ब्रिटेनमा अनुसन्धानकर्ताहरूले गरेको एउटा अध्ययनले देशको सबैभन्दा पछि परेको क्षेत्रमा ११.४ प्रतिशतलाई कोभिड लागेको देखाएको थियो र कम पछि परेको क्षेत्रमा ७.८ प्रतिशतमा सङ्क्रमण भएको देखिएको थियो।

अनुसन्धानले अल्पसङ्ख्यक जनजातिहरू असमान रूपमा प्रभावित भएको देखाएको थियो जुन अमेरिकासँग मिल्दोजुल्दो थियो।

महामारी

धेरै देशमा कोभिडसम्बन्धी वास्तविक तथ्याङ्क छैन तर एउटा सबैभन्दा ठूलो असमानता खोपको दरमा रहेको छ।

उच्च तथा मध्य आय भएका देशमा लगभग ७० प्रतिशत मानिसहरूले पूर्ण मात्रा खोप लगाएका आवर वर्ल्ड इन डेटाको तथ्याङ्क छ।

तर कम आय भएका देशमा जम्मा चार प्रतिशतले खोप लगाएका छन्। मध्यम आय भएका देशमा अहिलेसम्म ३२ प्रतिशतले खोप पाएका छन्।

ओमिक्रोन भेरिअन्टसँग जुझ्न बुस्टर मात्रा लगाउनुपर्ने स्वास्थ्य अधिकारीहरूले विमर्श गरिरहँदा कम विकसित देशहरूमा सुस्त भइरहेको खोप अभियानले घातक परिणाम ल्याउने चिन्ता व्यक्त भएका छन्।

विश्वमा असमानता छ र कोभिड-१९ महामारीले सङ्कटले त्यसलाई चिन्ताजनक रूपमा थप खराब बनाउने देखाएको छ।

५. सङ्कट अन्त्यको अनिश्चितता

कोरोनाभाइरस

महामारीको सुरुवातको समयमा हर्ड इम्युनिटी अर्थात् सामूहिक प्रतिरोधी क्षमताको विकास गरी कोभिडसँग जुझ्न सकिने धारणा व्यक्त भएका थिए।

त्यसबेला सङ्क्रमण वा खोपका कारण बिस्तारै भाइरसबाट जोखिम कम हुँदै जाने भनिएको थियो।

तर अहिले त्यो हासिल गर्न दिनप्रतिदिन जटिल बन्दै गएको छ।

हाम्रो प्रतिरोधी क्षमता समयक्रमसँगै कमजोर हुने भएकाले विभिन्न देशहरूले बुस्टर मात्रा खोप दिने कार्यक्रम सुरु गरेका छन्।

खोपसम्बन्धी प्राध्यापक सबीर ए माधीका अनुसार सङ्क्रमण वा खोपपछिको प्रतिरोधी क्षमता छ महिनादेखि नौ महिनासम्म कायम रहन्छ।

गम्भीर बिरामीबाट खोपले सुरक्षा दिए पनि उत्कृष्ट भनिएका खोपहरूले पनि मानिसमा हुने सङ्क्रमण वा कोरोनाभाइरस सर्ने क्रम रोक्न सकिरहेका छैनन्।

र तीव्र गतिले भाइरसका नयाँ भेरिअन्टहरूमा विकास भइरहेको छ। कतिपय खोपलाई नयाँ भेरिअन्टसँग जुझ्न अप्ठेरो पर्नसक्ने पनि ठानिएको छ।

नयाँ भेरिअन्टहरूले हामी भाइरसको विकासक्रमलाई ध्यान दिँदै त्यससँगै ‘बाँच्नुपर्ने’ र खोपहरूलाई थप परिष्कृत पार्दै लैजानुपर्ने अवस्था निम्त्याएको देखिन्छ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्