Logo
|
Friday 29th March 2024
Logo

epaper

चितवनमा संक्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी



जनस्वास्थ्य सरोकार, चितवन । चितवनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालिएको छ। प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी गरेका हुन्।

प्रशासनले सोमबार २५ जनाभन्दा बढी भेला भएर हुने सबै प्रकारका कार्यक्रममा रोक लगाएको छ। सवारीसाधन, सार्वजनिकस्थलमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ। अस्पतालहरूले पनि संक्रमित बढ्न सक्ने भन्दै थप तयारी गरेका छन्।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले कोरोना संक्रमितको नियमित उपचार हुँदै आएको जानकारी दिँदै हाल २८ शय्या छुट्याइएको बताउनुभयो । तीमध्ये १० शय्या सघन उपचारकक्ष र १८ शय्या एचडीयू रहेका छन्। उहाँले आवश्यकतानुसार शय्या बढाउँदै लैजाने जानकारी दिनुभयो।

अस्पतालमा अक्सिजन प्लान्ट र तरल अक्सिजन ट्यांकसमेत जडान गरिएकाले विगतको जस्तो अक्सिजनको अभाव नहुने उहाँले विश्वास दिलाउनुभयो । भरतपुर अस्पतालले दुई दिनअघि कोभिड प्राविधिक समिति नै बनाएर कोभिड संक्रमितको उपचारको थप तयारीमा लागेको उहाँको भनाइ छ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप देवकोटाले संक्रमण बढ्न थालेपछि थप तयारी गरिएको बताउनुभयो । उहाँले पछिल्ला दिनमा संक्रमित आउने क्रम बढेको बताउँदै हाल २५ शय्या कोभिडका लागि छुट्याइएको जानकारी दिनुभयो ।

कोभिडको दोस्रो लहरसँगै सघन उपचारकक्ष र एचडीयूको संख्या बढाइएको जानकारी दिँदै देवकोटाले संक्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन, सघन उपचारकक्ष, एचडीयू र बच्चाका लागि बाल सघन उपचारकक्षसमेत पर्याप्त रहेको जानकारी दिनुभयो। उहाँले पिसीआर परीक्षण गर्ने आफ्नै प्रयोगशाला रहेको समेत जानकारी दिनुभयो।

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का आवासीय निर्देशक डा मनोहर प्रधानले अस्पतालमा विगतदेखि नै कोभिडका लागि छुट्याइएको १२० शय्या अहिले पनि तयारी अवस्थामा राखिएको बताउनुभयो।

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट रहेकाले अभाव नहुने उहाँले बताउनुभयो। अस्पतालले पछिल्लो समय पिसीआर मेसिन पनि सञ्चालनमा ल्याएको छ। विगत दुई महिनादेखि पिसीआर मेसिन सञ्चालनमा आएको प्रधानले जानकारी दिनुभयो। स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले संक्रमणलाई मध्यनजर गर्दै खोप अभियानलाई प्रभावकारीरूपमा अघि बढाइएको बताउनुभयो। रासस

प्रतिक्रिया दिनुहोस्