एक सातामा ३५० बढी स्वास्थ्यकर्मी संक्रमित
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा उच्च गतिमा कोभिड फैलिरहेका बेला सयौँ स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् ।
ठूलो संख्यामा चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी एकैचोटि सङ्क्रमित हुँदा अरू उपलब्ध जनशक्तिमा चाप बढेको र स्वास्थ्यसेवा उपलब्ध गराउन कठिन भएको अस्पतालहरूले जनाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत एक सातामा ३५० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोभिड पुष्टि भएको छ । तीमध्ये अधिकांश स्वास्थ्यकर्मी काठमाडौं उपत्यकाका वीर, शिक्षण र पाटन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।
कोभिड-१९ युनिफाइड केन्द्रिय अस्पतालका उपनिर्देशक डा प्रज्वल श्रेष्ठका अनुसार पछिल्लो समय १ सय दुइ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ती मध्ये २५ जना चिकित्सक छन् भने ४२ जना नर्स रहेका छन् ।
अस्पतालमा नियमित सेवा र कोभिड सेवा दुवैतिर बिरामीको चाप बढी भएकाले समान रुपले सेवा प्रवाह गर्नुपर्दा स्वास्थ्यकर्मीहरु बढी संक्रमित हुनुपरेको बताउनुभयो ।
जनशक्ति अभावले सेवा प्रभावित भएको डा श्रेष्ठको भनाई छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ती स्वास्थ्यकर्मी मध्ये अधिकांशले खोप लगाइसकेकोले त्यति जटिलता देखिएको छैन।
तर अस्पतालको सेवा प्रभावित हुन नदिन करारमा नयाँ जनशक्ति ल्याएर तथा कम चाप भएका अन्य अस्पतालको समेत सहयोग लिने प्रबन्ध गरिएको उहाँले बताउनुभयो । बीबीसी