Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण तीव्र, अस्पतालका सेवा सञ्चालन गर्नै मुस्किल



जनस्वास्थ्य सरोकार, चितवन । चितवनका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण तीव्ररुपमा बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । भरतपुर अस्पतालले जिओपिडि र नियमित शल्यक्रिया सेवा आजबाट बन्द गरेको छ ।

शुक्रबारसम्म अस्पतालमा ११ चिकित्सकसहित ७७ स्वास्थ्यकर्मी सङक्रमित भइसकेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार जिओपिडि हेर्ने चिकित्सकले कोभिड–१९ का बिरामी हेर्नुपर्ने भएकाले तत्कालका लागि सेवा बन्द गरिएको हो । अस्पतालले बहिरङग सेवामा चाप घटाउन बिहान ८ः३० बजेदेखि जिओपिडि सञ्चालन गरेको थियो ।

छिटो अस्पताल आउने बिरामीका लागि लामो समय कुर्नुपर्ने बाध्यता समेत हटेको थियो । यस्तै पछि शल्यक्रिया गर्न मिल्ने बिरामीको शल्यक्रिया पनि तत्कालका लागि रोकिएको हो । यसबाट बिरामीलाई समस्या नपर्ने पौडेलको भनाइ छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार परीक्षण नगरिएका धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा पनि सङ्क्रमणको लक्षण देखिएको छ ।

दैनिक यो सङ्ख्या बढ्दो छ । अन्य विभागमा जनशक्तिको समस्या भए पनि आलोपालो गरेर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि ठूलो सङ्ख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित भएका छन् ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार नौ चिकित्सक, ६६ स्टाफ नर्ससहित १३६ स्वास्थ्यकर्मी र कर्मचारी सङ्क्रमित भएका छन् । अस्पतालमा धेरै चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा सेवा नरोकिएको भए पनि पहिले झै सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुने दर बढ्दै गएको भन्दै खोप सेवा प्रभावित हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “सङ्क्रमित हुने क्रम बढ्यो, नियमित सेवासँगै खोप लगाउन काम गर्ने जनशक्ति अभाव हुन थालेको छ ।”

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी यही ढङ्गले सङ्क्रमित बढ्दै गए सामान्य अवस्थाका सङ्क्रमित चिकित्सक स्वास्थ्यकर्मीले सङ्क्रमित बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आउने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै सङ्क्रमित भए भने गर्न सक्नेले उपचार त गर्नै प¥यो नि ।”

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आधा सङ्क्रमित भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य लक्षण भएर चिकित्सक स्वास्थ्यकर्मी काम गरिरहेका छन् । परीक्षण ग¥यो भने उनीहरुमा पनि संक्रमण देखिन सक्छ ।” यस्तै अवस्था रहेमा सङ्क्रमितले सङ्क्रमितको उपचार गर्नुको विकल्प नहुने उहाँको भनाइ छ ।

छोटो समयमै निको भएकाले ठूलो जटिल अवस्था नआउनेमा आफूहरु ढुक्क रहेको न्यौपाने बताउनुभयो । जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार ७३६ पुगेको छ । उनीहरुमध्ये ४७ जनाको अस्पतालमा उपचार भइरहेको छ भने बाँकी घरकै आइसोलेशनमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्