Logo
|
Wednesday 24th April 2024
Logo

epaper

ओमिक्रोन फोक्सोमा कम फैलिने विज्ञको निष्कर्ष, कम घातक अत्यधिक संक्रामक

ओमिक्रोनबाट सतर्क रहन डब्लूएचओको आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाको ओमिक्रोन भेरियन्ट कम घातक भएपनि अत्याधिक संक्रामक भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले औँल्याएको छ ।

संगठनले ओमिक्रोनबाट सर्तक रहन आग्रह समेत गरेको छ । हालसालै डब्लूएचओकी प्राविधिक प्रमुख मारिया भान केरखोभले डेल्टा भाइरसभन्दा ओमिक्रोन कम घातक भएको उल्लेख गर्नुभएको छ । तर ओमिक्रोन संक्रमणको जोखिम भने अन्य भेरियन्टझै रहेको स्पष्ट पार्नुभयो ।

ओमिक्रोन घातक नभए मानिसहरु किन संक्रमित भइरहेका छन् ? मानिसको मृत्यु किन भइरहेको छ ? संक्रमति किन अस्पताल भर्ना भइरहेका छन् ? जस्ता सवालमा केरखोभ भन्नुहुन्छ–‘मानिसहरु ओमिक्रोन संक्रमित भइरहेका छन् । संक्रमित व्यक्तिमा लक्षण भएनभए पनि गम्भिर अवस्थादेखि मृत्यु हुनसक्ने जोखिम भने कायमै छ । त्यसैले संक्रमण हुनबाट बच्नुपर्छ ।’


गम्भिर रोग भएका बिरामीलाई जोखिम
केरखोभले दीर्घ रोगी, वृद्धवृद्धा, कोरोनाविरुद्ध खोप नलगाएका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई ओमिक्रोनको जोखिम रहेको बताउनुभयो । यस्ता व्यक्तिहरुले बढी सावधानी अपनाउनु पर्ने उहाँको भनाइ छ ।

यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनकाअनुसार हरेक म्युटेसन खराबै हुनुपर्छ भन्ने छैन । कुनै म्युटेसन कमजोर पनि हुनसक्छन् । ‘संक्रमित भइसकेका मानिसलाई भाइरसले आक्रमण गरेमा शरीरले प्रतिक्रिया जनाउँछ ।’ —उहाँ भन्नुहुन्छ–‘हालसम्म विश्वमा कोरोनाविरुद्धको एक डोज खोप लगाउने मानिसहरू नै लाखौँ पुगिसकेका छन् । कोरोनाविरुद्धको खोप सहज हुँदै जाने हो भने यसको आक्रमण गर्ने क्षमता क्षीण हुँदै जान्छ ।’ त्यसैले आगामी दिनमा कोरोना भाइरसले जटिल अवस्था ल्याउने सम्भावना अत्यन्त कम रहेको उहाँको भनाइ छ ।

सबै व्यक्ति संक्रमित
ओमिक्रोन समुदायस्तरमा सजिलै फैलिरहेको छ । यसले विश्वभर संक्रमितको संख्यामा वृद्धि भएको छ । यसको अर्थ सबै व्यक्तिलाई ओमिक्रोन संक्रमण हुनसक्छ भन्ने नभएको डब्लूएचओले जनाएको छ ।

डा. पुनकाअनुसार डेल्टा भेरियन्टभन्दा ओमिक्रोन ७० प्रतिशत बढी संक्रामक क्षमता भएको कारणले बढी फैलिएको हो । अर्को कारण भनेको फोक्सोको माथिल्लो भाग श्वासप्रश्वासतिर ओमिक्रोनलाइ अनुकूल हुन्छ । त्यसैले घाँटी दुख्ने, नाकबाट पानी बग्ने समस्या बढी देखिएको हो ।

‘ओमिक्रोनको विशेषता भनेको रुघाखोकी जस्तो लक्षण देखाउने हो ।’ —डा. पुन भन्नुहुन्छ–‘जाडोयाममा पहिले पनि धेरैलाई रुघाखोकी लाग्थ्यो । यही मौकाको फाइदा उठाएर ओमिक्रोनले धेरै जनालाई संक्रमित बनायो । जनस्वास्थ्यका मापदण्डको वेवास्ता गर्दा घरघरमा बिरामीको संख्या बढ्यो । यसले लक्षण देखाउने समय पनि छोटो भएकाले संक्रमितको संख्या ह्वात्तै बढ्नेघट्ने भइरहेको छ ।’ सबै व्यक्तिलाई संक्रमण हुन्छ भन्ने होइन तर जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा संक्रमणको जोखिम भने कायमै रहेको उहाँको तर्क छ ।

महामारीको अन्त्य
डेल्टा भेरिअन्टको दाँजोमा ओमिक्रोन कम घातक देखिएकाले मानिसहरूले अब महामारी अन्त्य हुने आंकलन गरिरहेका छन् । तर डब्लूएचओका प्रमुख टेड्रोस अदनोम घेबियसले महामारीको अन्त्य नभएको र यसलाई हेलचेक्रयाँइ नगर्न सुझाएका छन् ।
आगामी वर्षसम्म पेन्डामिक परिवर्तन भएर एन्डामिकमा परिवर्तित हुने सम्भावना रहेको डा. शेरबहादुर बताउनुहुन्छ ।

‘एन्डामिक भनेको कोरोना भाइरस अन्य सामान्य फ्लूजस्तै हुनसक्छ ।’—उहाँ भन्नुहुन्छ, ‘पेन्डामिक मुख्यतया दुईवटा कारण एन्डामिक हुने सम्भावना छ । प्रयोगशालामा परीक्षण गर्दा ओमिक्रोन अन्य भेरियन्टको तुलनामा फोक्सोमा कम फैलिएको देखिएको छ । यसले ओमिक्रोन कम घातक भएको देखिन्छ । त्यसैगरी कोरोनाविरुद्धको खोपले निरन्तरता पाउने पक्का भइसकेको छ । यस परिस्थितिमा आगामी दिनमा कोरोना भाइरसले गम्भिर अवस्था आउने वा मृत्यु हुने जोखिम कम हुन्छ ।’ पेन्डामिक विस्तारै एन्डामिक भएपछि जनजीवन सामान्य हुँदै जाने डा. पुनको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस्