Logo
|
Friday 27th May 2022
Logo

epaper

भारतमा एक मात्रा लगाए पुग्ने रुसी खोप ‘स्पुत्निक लाइट’ लाई आपत्कालीन प्रयोग अनुमति



जनस्वास्थ्य सरोकार । भारतले कोभिडविरुद्ध एक मात्रा लगाए पुग्ने रूसमा निर्मित नयाँ खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ।

स्पुत्निक लाइट नामको नयाँ खोपलाई स्वीकृति दिइएको स्वास्थ्य मन्त्री मनसुख मांडवियाले ट्वीट गरेर जानकारी दिनुभएको हो । भारतले अहिलेसम्म योसहित नौ खोपलाई स्वीकृति दिएको छ। तीमध्ये तीन खोप भारतमा निर्मित हुन्।

अहिलेसम्म भारतमा झन्डै एक अर्ब ७० लाख मात्रा खोप लगाइएको विवरण सार्वजनिक गरिएको छ।

खोपयोग्य वयस्क व्यक्तिहरूमध्ये ७६ प्रतिशतले पूर्ण मात्रा खोप र ९९ प्रतिशतले कम्तीमा एक मात्रा खोप प्राप्त गरेको भारतीय तथ्याङ्क छ।

जनवरी १० देखि भारतमा स्वास्थ्यकर्मी र अग्रपङ्क्तिका कामदारहरूका साथै स्वास्थ्य समस्या भएका ६० वर्षभन्दा माथिका नागरिकहरूलाई खोपको बुस्टर मात्रा लगाउन थालिएको छ।

गत महिनाबाट भारतमा १५ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप दिन थालिएको र तीमध्ये दुई तिहाइले पहिलो मात्रा खोप प्राप्त गरिरहेका छन्।

गएको केही दिन भारतमा दैनिक सङ्क्रमित पुष्टि सङ्ख्या एक लाखभन्दा माथि रहे पनि यो सङ्ख्या ज्यानुअरी २० मा उच्च बिन्दुमा पुग्दा भएको तीन लाख ४७ हजारभन्दा कम रहेको बताइएको छ।

नयाँ खोपले कसरी काम गर्छ ?
स्पुत्निक लाइट रुसले बनाएको स्पुत्निक भी खोपको एउटा अंश हो र भारतले गत वर्ष नै स्पुत्निक भीलाई प्रयोग अनुमति दिएको छ।

मस्कोस्थित गामालेया इन्स्टिट्युटले निर्माण गरेको स्पुत्निक भी को बारेमा सुरुमा केही शङ्का व्यक्त गरिएको भएपनि परीक्षणको पूर्ण तथ्याङ्क आएपछि वैज्ञानिकहरूले यसको फाइदा प्रमाणित भएको बताएका थिए।

स्पुत्निक लाइट ले स्पुत्निक भी को पहिलो मात्राको अंश प्रयोग गर्छ जसले गर्दा यसलाई निकै प्रभावशाली बुस्टर खोप बनाउने दावी गरिएको छ।

निर्माणकर्ताले यसको प्रभावकारिता डेल्टा भेरिअन्टविरुद्ध दुई मात्रा स्पुत्निक भी खोप बराबर हुने दाबी गरेका छन्।

सो खोपले जोखिम नहुने गरी कमजोर बनाइएको भाइरस प्रयोग गरेर थोरै कोरोनाभाइरस शरीरमा प्रवेश गराउने र खोपपछि शरीरले प्रतिरोधी क्षमता विस्तार गर्दै एन्टीबडी बनाउन सुरु गर्ने बताइन्छ।

भारतमा स्वीकृत खोपहरू
भारतले अहिलेसम्म नौ प्रकारका खोप स्वीकृत गरे पनि तीन वटा मात्रै प्रयोग गरिरहेको छ।

कोभिशील्ड, कोभ्याक्सिन र स्पुत्निक भीमध्ये भारतमा उत्पादित आस्ट्राजेनेका खोप कोभिशील्ड सबैभन्दा बढी प्रयोग गरिएको छ।

गएको डिसेम्बरमा भारतले कोभोभ्याक्स र कोर्बेभ्याक्सलाई अनुमति दिएको थियो।

क्याडीला नामक भारतीय कम्पनीले बनाएको कोभिड विरुद्धको विश्वकै पहिलो डीएनए खोप जाईकोभ(डी खोपलाई पनि भारतले अनुमति दिएको छ। तर यो उपलब्ध छैन।

जोनसन एन्ड जोनसनको खोप र मोडेर्ना खोपलाई पनि भारतमा अनुमति दिइएको छ। ती दुवै खोप आयातका लागि दुई कम्पनीलाई अनुमति दिइएको भए पनि ती कहिले त्यहाँ उपलब्ध हुन्छन् स्पष्ट छैन।

भारतमा अन्य दुई खोप पनि परीक्षणको विभिन्न चरणमा रहेका छन् ।

एचजीसीओ १९ भारतको पहिलो एमआरएनए खोप हो जुन पुणेस्थित जेनोभाले अमेरिकी एचडीटीसँग मिलेर विकास गरिरहेको छ।
भारत बायोटेकले नाकमा थोपा राख्ने खोप पनि विकास गरिरहेको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्