Logo
|
Thursday 18th April 2024
Logo

epaper

के मोटोपनाले स्मरणशक्ति कमजोर हुन्छ ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मोटोपनाको समस्या संसारभर बढ्दै गएको छ । मोटोपनाले उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोलको समस्या निम्त्याउने चिकित्सकहरु बताउँछन् । त्यतिमात्र होइन, मोटोपनाले स्मरणशक्ति कमजोर बनाउन सक्ने विभिन्न वैज्ञानिक अनुसन्धानहरुले देखाएको छ ।

मोटोपनाले अल्जाइमर जस्तो जटिल मानसिक रोग हुनसक्ने अनुसन्धानमा संलग्न विज्ञहरुले बताएका छन् । मोटोपन र स्मरणशक्ति बीच एकआपसमा सम्बन्धित भएको उनीहरुको ठम्याई छ ।


क्याम्ब्रिज विश्वविद्यालयकी प्राध्यापक लुसी चेकले हालै एक अध्ययन गरिन । यसलाई ’ट्रेजर हन्ट’ (खजाना शिकार) नाम दिइएको छ । उक्त अध्ययनमा सहभागी व्यक्तिहरुलाई कम्प्युटरको विभिन्न ठाउँमा केही कुराहरू लुकाउन आग्रह गरिएको थियो । केहि समयपछि उनीहरुलाई केही प्रश्न सोधियो । सो अध्ययनले बडी मास इन्डेक्स ( लम्बाई अनुसार तौल ) उच्च भएका व्यक्तिहरुको स्मरणशक्ति निकै कमजोर भएको निष्कर्ष निकालेको हो ।


त्यस्तै सन् २०१० मा अमेरिकाको बोस्टन युनिभर्सिटी स्कुल अफ मेडिसिनले पनि मोटोपना र स्मरणशक्तिको अन्तर सम्बन्धबारे अनुसन्धान गरेको थियो । उक्त अध्ययनले पातलो शरीर भएका मध्यम उमेर समुहको व्यक्तिहरुको तुलनामा पेटमा बढी बोसो लागेको व्यक्तिहरुको स्मरणशक्ति कमजोर भएको देखाएको थियो ।


मोटोपना एक जटिल स्वास्थ्य समस्या हो । यसका धेरै कारणहरु छन् । मोटोपना र उमेर बीच पनि सम्बन्ध रहेको केहि अनुसन्धानले देखाएको छ । मध्यम उमेरमा मोटोपनाको समस्या भएमा मस्तिष्कलाई बढी प्रभाव पार्ने अध्ययनले देखाएको छ । त्यस्तै सानो उमेरमा मोटोपनाको समस्या भएमा मस्तिष्कमा त्यति धेरै प्रभाव नपर्ने अनुसन्धानकर्ताले बताएका छन् ।


मोटोपनाले उच्च रक्तचाप र इन्सुलिनको समस्या हु्नसक्ने प्रोफेसर लुसी चेक बताउछन् । उनका अनुसार मोटोपनाले खाने बानीमा फरक पार्छ, जसले मास्तिष्कलाई प्रत्यक्ष असर पुर्याउँछ । इन्सुलिन एक महत्वपूर्ण न्यूरो ट्रांसमिटर हो । मोटोपनाले इन्सुुलिनलाई असर पुर्याउने भएकाले व्यक्तिको नयाँ कुराहरु सिक्ने क्षमता र स्मरणशक्तिमा ह्रास आउन सक्ने प्रोफेसर चेकको भनाइ छ ।


अमेरिकाको एरिजोना विश्वविद्यालयका एक मनोवैज्ञानिकले अनौठो अनुभव गरेका छन् । उनले सन् १९९८ देखि २०१३ सम्म करिब २० हजार मानिसको मेमोरी, बीएमआई र सी–रिएक्टिभ प्रोटिनको नमूना लिएका थिए । उक्त अध्ययनले अनि बडी मास इन्डेक्स र स्मरणशक्तिबिच सम्बन्ध रहको देखाएको छ । साथै, इन्फ्लेमेटरी प्रोटिन पनि धेरै हदसम्म जिम्मेवार छन् । तर, उनीहरूलाई प्रत्यक्ष रूपमा जिम्मेवार ठहराउनु उचित नहुने अनुसन्धानकर्ताले बताएका छन् ।


मस्तिष्कले खाना खाने आदेश दिइसकेपछि मात्र हामीलाई भोक लाग्छ । जब दिमाग आफैले खाना खाने आदेश दिए नदिएको भुल्न थाल्छ तब बारम्बार खाना खाने आदेश दिन थाल्दछ र हामी केही न केही खाइरहन्छौँ । फलस्वरुप तौल बढ्छ ।
बेलायतको लिभरपुल विश्वविद्यालयका मनोवैज्ञानिक डा एरिक रोबिन्सनले केहि समय अघि एउटा रोचक अध्ययन गरे । उनले करिब ४८ जनालाई आफ्नो प्रयोगशालामा खाना खान बोलाए । सहभागी सबैलाई दुई भागमा विभाजन गरियो । एक समूहलाई खाना खानेबेला केही रेकर्डिङहरू सुन्न भनियो, जसमा खानाबारे उल्लेख थिएन । त्यस्तै अर्को समूहलाई दिइएको अडियोमा खानेकुरा खाँदा ध्यान दिनुपर्ने कुराहरु उल्लेख गरिएको थियो । दोस्रो दिन दुबै समुहलाई हाई इनर्जी भएको खाना खुवाइयो । खानामा ध्यान दिनुपर्ने रेकर्डिङ सुनेर अघिल्लो दिन खाना खाएको व्यक्तिले यसपटक कम खाए । जबकि दोस्रो रेकर्डिङ सुनेर खाना खानेहरूले भने बढी खाना खाए । ध्यान र स्मरण दुवै फरक हुन तर यी एकआपसमा सम्बन्धित छन्।

हामीले ध्यान नदिने कुराहरू प्रायः याद गर्दैनौं । त्यसैले हामीले खाना खानुपर्छ भनेर सम्झँदा, समयमै खाना खान्छौं र कम खान्छौं । यदि हामीले एक पटकको खानाबाट आफूलाई टाढा राख्यौँ भने अर्को पटक खाने बेला अगाडि खाना नखाएको विचार स्वतः मनमा आउँछ । त्यसैले, जब खाना उपलब्ध हुन्छ, तब भोक भन्दा बढी खाना खाइन्छ ।


दिनमा खाना कति खाने, कुन समय खाने, कस्ता खानपान र जीवनशैली अवलम्बन गर्ने भन्ने बारे जनचेतना फैलाउन जरुरी रहेको डा. रोबिन्सन बताउँछन् । यसका लागि रोबिन्सन र उनका सहकर्मी मिलेर एक स्मार्ट फोन एप बनाएका छन् । जसले मानिसलाई खानामा ध्यान दिन झकझक्याउँछ ।


डा रोबिन्सन भन्छन् –‘धेरै खाना खानु र स्मरणशक्ति कमजोर हुनु दुबैले एक अर्कालाई असर पारिरहेको हुन्छ । सायद कमजोर स्मरणशक्तिका कारण कसैले धेरै खान्छन् । त्यसैले तपाईंले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ । राम्रो खाना खानुहोस् र समयमै खानुहोस् ।’


प्रोफेसर लुसी चेक र उनका सहकर्मीहरूले पनि मानिसहरूको जीवनशैली र रहनसहन बारेमा जानकारी लिन मोबाइल एप प्रयोग गर्दै आइरहेका छन् ।


मोटोपन वंशाणुगत पनि हुनसक्छ । कोही व्यक्ति धेरै खाना खान्छन् तर शारीरिक व्यायाम गर्दैनन् । त्यसैले खानपान र जीवनशैली परिवर्तन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्