बीमा बाहेक अर्को उपाय छैन
प्रा.डा. अर्जुन कार्की ह्याम्स हस्पिटलमा पल्मोनरी तथा क्रिटिकल केयर विभागको पल्मोनरी क्रिटिकल केयर एण्ड स्लिप मेडिसिनका प्रमुख तथा चिफ कन्सल्यान्ट हुनुहुुन्छ । मध्यपूर्वी पहाडि जिल्ला सिन्धुपाल्चोकको पेट्कुमा जन्मिनुभएका डा. कार्कीले सन् १९८५ मा महाराजगञ्जस्थित इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) बाट एमबीबीएस सक्नुभयो । त्यसपछि विशेषज्ञ डाक्टर बन्न सन् १०९३ मा अमेरिकामा जानुभयो र स्टेट युनिभर्सिटी अफ न्युयोर्कबाट इन्टरनल मेडिसिनमा एमडी तथा ब्राउन युनिभर्सिटीबाट पल्मोनरी एण्ड क्रिटिकल केयरमा तीन वर्षको तालिम हाँसिल गरेर सन् १९९९ आफ्नै देश नेपाल फर्किनुभयो । डा. कार्कीले विशेषज्ञको रुपमा काम गरेको पनि करिब २१ वर्ष भयो । यो बीचमा हजारौं बिरामीले लाभ लिन सफल भएका छन् । डा. कार्कीको बुबा नेपाल पुलिसको इन्स्पेक्टर हुनुहुन्थ्यो । परिवारको भन्दा पनि डाक्टर बन्ने आफ्नै चाहना हो डा. कार्कीको । जानौं पल्मोनरी क्रिटिकल केयर एण्ड स्लिप मेडिसिनबारे उहाँको आफ्नै शव्दमा ।
मुलुकमा मद्धत गर्नुपर्छ भनेर म नेपाल फर्किएको हुँ । बिरामीलाई कष्ट हुँदाहुँदै पनि खपेर, सहेर, जाँच्न दिएर हामीले सैद्धान्तिक ज्ञानलाई उतार्न एवं व्यवहारिक र सैद्धान्तिक पक्षलाई सुदृढ गर्न पायौं । यस कारण म बिरामीहरुप्रति कृतज्ञ र आभारी छु । जुन पुस्ताका बिरामीले हामीलाई सिकाए । उनीहरुलाई भेटेर आफूले जानेको ज्ञानको व्यक्तिगत रुपमा गुन तिर्न त नसकिएला तर हामीले त्यही समाजका मान्छेलाई आफ्नो ज्ञान र सीपले स्वास्थ्यमा परेको समस्या समाधान भने पक्कै गरिरहेका छौं । अमेरिकामा म नभएर केही फरक पर्दैन । तर मेरो देशमा मैले धेरै बिरामीलाई मद्धत गर्न सक्छु । नेपाली जनताप्रतिको ऋण चुक्ता हुन्छ । नेपाली जनताकै कारण मैले मेरो ज्ञान सुदृढ गर्न सकेको हो ।
पल्मोनरी मेडिसिन
स्वासप्रश्वास प्रक्रियासँग सम्बन्धित अंगमा लाग्ने रोग, त्यसको पहिचान र उपचारसम्बन्धि अध्ययन गर्ने विधा पल्मोनरी मेडिसिन हो । जस्तोः फोक्सोको समस्याले शरीरमा अक्सिजनको मात्रा नपुगेको अवस्थामा भेन्टिलेटरमा राखेर मेसिनबाट श्वासप्रश्वास गराउनुपर्छ ।
बिरामीको संकटमोचन गर्न क्रिटिकल केयर मेडिसिन अध्ययन गरेका व्यक्ति र पल्मोनरी अध्ययन गरेका दुवैको बराबरी जिम्मेवारी हुन्छ । यी दुवै विषयलाई जोडेर यसको व्यवस्थापन गर्ने विश्वव्यापी प्रचलन बढेको छ ।
पहुँचभित्र स्वास्थ्य सेवा
आईसियूमा उपचार खर्च निकै खर्चिलो छ । सार्वजनिक वा सरकारी क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाइ सुदृढ र गुणस्तरीय बनाउन सकेमा मात्र आम नेपाली नागरिकको पहुँचभित्र स्वास्थ्य सेवा पुग्नसक्छ । निजी क्षेत्रमा त आम्दानीका लागि लगानी गरिएको हुन्छ । हुने खानेहरुले उपचार गराउन सक्छन् ।
बीमाको व्यापकता
मुलुकमा बीमा कार्यक्रम सृदृढ, उपयुक्त र प्रभावकारी हुनुपर्छ । बीमाबाट पैसा तिर्नुपर्दा बिरामी सरकारीमा मात्र जानुपर्छ भन्ने हुँदैन । बीमा कार्यक्रमको असली कुरा भनेको बिरामी पर्दा आफूले तिर्नुनपर्ने, बीमाले तिरिदिने र आफू बिरामी नभएपनि हरेकपटक तिरिरहनुपर्ने सिद्धान्तमा आधारित प्रणाली हो ।
मुलभूत रुपमा बीमा कम्पनिहरुले हरेक सदस्यहरुबाट निश्चित रकम उठाउने र त्यसबापत् बिरामी परेको बेलामा लगानी गर्नुपर्छ । उपचारमा लाग्ने खर्च थेग्न हाम्रो मुलकमा बीमा भन्दा अर्को उपाय छैन । त्यसैले गतिलो बीमा योजना ल्याउनुपर्छ । निजी क्षेत्रबाट प्रदान हुने सेवाको गुणस्तरीयता, पारदर्शीताको नियमन र खर्चको मूल्यांकन हुनैपर्दछ ।
स्वास्थ्य सेवा प्रणाली
संविधानले स्वस्थ्य भएर बाँच्न प्रत्याभूत गरेको अधिकारलाई व्यवहारिक रुपमा उतार्नुपर्छ । हरेक नेपाली नागरिकलाई अकाल मृत्युबाट जोगाउने खालको स्वास्थ्य सेवा प्रणाली लागू हुन जरुरी छ ।
डाक्टरहरुको धर्म
हामीले बिरामीलाई अनावश्यक रुपमा भर्ना लिएर मात्र हुँदैन । रोगको अवस्थालाई दृष्टिगत गरेर थेग्न सक्ने अवस्था भएमा अस्पताल राख्ने र नसक्ने अवस्था भएमा रिफर गर्नुपर्छ ।
यो आईसियूमा काम गर्ने डाक्टरहरुको धर्म पनि हो । हामी सबैले बिरामीको ज्यान र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ ।