Logo
|
Friday 26th April 2024
Logo

epaper

योग अनुभव र अनुभूतिः शरीर, मन, मस्तिष्कमा धैर्यसँग शारीरिक उर्जा बटुल्ने माध्यम



रेखा घिमिरेको सानै उमेरदेखि योगमा रुची रहेको छ । उहाँका लागि हरेक दिन आफ्नो शरीर, मन, मस्तिष्कमा धैर्यसँग शारीरिक उर्जा बटुल्ने माध्यम बनेको छ योग । योगबारे रेखाको अनुभव र अनुभूति यस्तो छ । जानौं उहाँको आफ्नै शव्दमा ।

रेखा घिमिरे

उर्जाको उपयोग
योगको माध्यमबाट प्राप्त भएको उर्जालाई दिनभरको काममा लगाउँछु । तपाईको कार्यक्षमतामा बृद्धि गर्नुछ भने योग गर्नुस् । फूर्तिवान शरीर हुन्छ । एकअर्काबीच सुमधुर सम्बन्ध कायम राख्न मद्धत गर्छ ।

अत्यधिक सहनशीलता र संयमशिलता हुन्छ । व्यक्तिगत, पारिवारिक, सामाजिक र आर्थिकलगायत चौतर्फी विकासमा मद्धत पुग्छ ।

सोचमा परिवर्तन
वास्तवमा ध्यान र योग गर्ने व्यक्तिमा शारीरिक उर्जाको पर्याप्तता, नहडबडाउने, सँधै खुशी रहने, नझर्किने, अरुलाई राम्रो सोच्नेलगायत सकारात्मक सोचको विकास हुने गरेको पाइन्छ ।

योगप्रतिको संस्कार
यसमा म पारिवारिक पृष्ठभूमिको जरो र मूल समात्न जरुरी ठान्छु । मेरो जिजुहजुरबुवा अग्नीहोत्री हुनुहुन्थ्यो । बाल्यकालमा संयुक्त परिवार थियो । तीन जना काका र तीन वटी फूपुहरुसँगै हुर्केकी थिएँ । २१ वर्षमा विवाह हुँदासम्म एउटै घरमा बस्थ्यौं । बुबा कलकत्तामा हुँदा अध्ययनका लागि नेपाल आएको थिएँ । उमेरले ३—४ वर्षकी सानी नानी थिएँ । त्यो बेला हजुरआमाको साथी जस्तै थिएँ । हजुरआमाले पूजापाठ गरेको निकै ध्यान दिएर हेर्थेँ । उहाँले भनेका कुरा सुन्थेँ । नबुझेका कुरा सोध्थेँ । उहाँले भागवत किताव पढेर सुनाउहुन्थ्यो । चित्रहरु देखाएर बुझाउनुहुन्थ्यो । बेलाबेलामा हजुरआमा आफ्नो पूजाकोठामा ध्यानमा बस्नुहुन्थ्यो । धेरैबेरसम्म घोरियर हेरिराख्थेँ । त्यहाँबाट सायद संस्कार बस्यो कि ?

बाहिर देखिने सबै वस्तुहरु ध्यानको कारणले भएको क्वान्टम साइन्सले बताउँछ । त्यसका अनेकौं प्रमाणहरु छन् । तर त्यो बेला मैले जे शुरु गरेँ पटक्कै थाहा नपाइकन शुरु गरेँ । रुची त्यसमै भयो ।

कक्षा ६ बाट शरीर तन्काउने योग
ध्यान त मैले पहिला बेसरी गरेँ । अनेक तरिकाले आफैंमा प्रयोगहरु गरेँ । गुरुहरुकहाँ गएर पनि योगका धेरै कुरा सिकेँ । एउटा त्राटकदेखि अनेक किसिमका प्रयोगात्मक अभ्यासहरु गरेकी छु । शरीरलाई तन्काउने योगा कक्षा ६ मा सेन्टमेरिज स्कुलमा अध्ययन गर्दादेखि शुरु गरेको थिएँ ।

सांकेतिक तस्विर

दुई वर्षपछि स्कुलको २५ औ सिल्भर जुब्लीमा बडामहारानी ऐश्वर्या आउने कार्यक्रम भएकाले २ वर्षअघिदेखि नै योगाको तालिम सिकाइएको थियो ।

खुशी र आनन्द
भौतिक शरीरमा योग अभ्यासले सकारात्मक प्रभाव पार्छ । कुनै पनि सामाग्रीलाई धोइपखाली गर्दा टल्किएजस्तै शरीरलाई तताउँदा र तन्काउँदा लाइफ एक्स्पेक्टेन्सी बढ्ने रहेछ । प्राणायामले मन परिष्कृत हुँदै जान्छ । मनमा आनन्द दिने भावको विकास हुन्छ । खुशी र आनन्दतिर अग्रसर गराउँछ । एउटा बोटबिरुवालाई मलजल गर्दा जसरी मिठो फल आफैं पाक्छ, त्यसरीनै योगाभ्यास प्राणायाम र ध्यान गर्दा स्वभावहरु आफैंभित्र कल्टिभेट हुँदै जान्छन् । योगाभ्यास गर्दा शरीर निरोगी र फूर्तिलो हुन्छ र आयु बढ्छ । सानातिना कुराले पनि छिटो मन विचलित हुँदैन ।

सम्बन्ध र परिस्थितिबाट उब्जने भावका ज्वारभाटाहरु नियन्त्रणमा राख्न सजिलो हुन्छ । मनमा आउने रिस, राग, लोभ, मोह, क्रोधका वेगहरुलाई आफ्नो वसमा मद्धत मिल्छ ।

उच्चकोटीको चेतना
वास्तवमा योगले शरीर, मन, भावना र चेतना सबैमा सकारात्मक प्रभाव पार्ने भएकाले म यो भन्न चाहन्छु कि ‘योग गर्ने व्यक्तिहरुको शरीर स्वस्थ्य हुन्छ, मन सन्तुलित रहन्छ, भावहरु सकारात्मक रहन्छन् र चेतना सँधै उच्चकोटीको हुन्छ ।’

गलत बुझाइ
धेरैजसो योगीहरुलाई देखाउँदा जोगीको चित्रण गरिएको देख्छु । मलाई लाग्छ—‘यो चित्रणले सामान्य मनलाई गहिरोसँग झस्काउँछ र योगप्रति वितृष्णा जगाउँछ ।’ मेरो नजरले हेर्ने हो भने ‘योगले मानिसलाई स्मार्ट बनाउँछ ।’

प्रतिक्रिया दिनुहोस्