कोपिलाको क्यान्सर कथा : ‘उच्च आत्मबल पनि एक किसिमको उपचार नै हो’
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मुहारमा मन्द मुस्कान छ, जीवनको आशा र भरोसाको पालुवा पलाइरहेका छन् । किमो दिँदा झरेको कपाल पनि बिस्तारै पलाउँदैछ । ‘अब त मलाई कति पनि डर छैन । मेरो सम्पूर्ण उपचार सकिएको छ । ‘म ठीक हुन्छु’ भन्ने आत्मविश्वास छ ।’ क्यान्सर विजेता कोपिला गौतम आफ्नो जीवनमा क्यान्सर हुँदाको कथा सुनाउनुहुन्छ र भन्नुहुन्छ—‘विगतकै जस्तो स्वस्थ्य अवस्थामा फर्किएकी छु । तर फलोअपमा भने बस्नैपर्छ ।’ उहाँलाई गत साउनमा ओभरियन क्यान्सर देखिएको रहेछ । गत पुषमा सम्पूर्ण क्यान्सर उपचार पनि सकिएको छ ।
क्यान्सर उपचारको क्रममा कोपिला विगतलाई यसरी नियाल्नुहुन्छ—‘राति ८ बजे फोन गरेर शल्यक्रिया गर्नुपर्ने केस भएकाले नाम लेखाइदिनुहोला भनेँ । रिसेप्सनबाट भोलि फोन गर्न भन्नुभयो । बिहान फोन गरेँ । भोलिपल्ट ११ बजेका लागि समय पाएँ । पालो चाँडै आयो । डाक्टरले सबै रिपोर्ट हेर्नुभयो । रिपोर्ट हेरेपछि सिस्ट फास्ट बढिरहेकाले तत्काल शल्यक्रिया गर्न सुझाव दिनुभयो । के गरौं त डाक्टर साब ? भनेँ । स्त्री क्यान्सर विशेषज्ञ डा.अञ्जु श्रेष्ठले आजै भर्ना हुनुस् र भोलि शल्यक्रिया गर्नुपर्छ भन्नुभयो ।’
शुरुमा त कोपिला आत्तिनुहुन्छ । के गर्ने भन्ने कुराले उहाँ रनभूल्ल हुनुभयो । भन्नुहुन्छ—‘चेक गर्न आएको मान्छे, म त के गर्ने गर्ने भएँ । त्यसपछि तयारीका लागि आधा घण्टाको समय मागेँ । कोटेश्वरमा बस्ने भएकाले एकपटक घर पनि जानुपर्ने बताएँ । बेलुका आउनुहोला भन्नुभयो । अस्पतालमा धाउन थालेको दिनदेखि श्रीमान साथ मै हुनुहुन्थ्यो । घरमा पुगेर आफूलाई आवश्यक पर्ने सामान बोकेर आएँ । बेलुकै अस्पताल भर्ना भएँ । भोलिपल्ट मेरो अप्रेसन सफल भयो ।’
कोपिलाको यो चौथो मेजर अपरेशन थियो । तीनवटै बच्चा जन्माउँदा अप्रेसन गरिएको थियो । उहाँ क्यान्सरदेखि नभई अप्रेसन गर्दा बेहोस बनाएपछि बिउँझिने हो कि होइन भन्ने कुरादेखि डराउनुभयो । भन्नुहुन्छ—‘तर डाक्टरले आफूले पाँचौसम्म सफल शल्यक्रिया गरेको बताएपछि विश्वस्त भएँ । बाँच्ने रहेछु भन्ने विश्वास भयो ।’
‘२०७८ साल असारतिर मेरो पेट बढ्न थालेको थियो । मोटाएर होला भन्ठानेँ । बच्चाबच्ची भइसकेका व्यक्तिको पेट बढ्छ भन्ने लाग्यो । खासै ख्याल गरिनँ । मलाई केही पनि भएको थिएन । महिनावारी पनि समयमा हुन्थ्यो । मोटोपन घटाउन बिहान एक्सरसाइज गर्ने र बेलुका रोटी मात्र खान थालेँ । त्यो बेलामा लगभग ओभरीमा सिष्ट आइसकेको रहेछ । सिस्टको बढ्नेक्रम रोकिएनछ । हल्का दाहिने खुट्टा दुख्न थाल्यो । युरिक एसिडको आशंका भयो । परीक्षण गर्दा युरिक एसिड पनि देखिएन ।
गत साउनको मध्यतिर अब एकपटक डाक्टरलाई देखाउँछु भनेर उहाँ नेपाल मेडिसिटी हस्पिटल पुग्नुभयो । कोपिला भन्नुहन्छ—‘जाँचपश्चात् डाक्टरले ओभरीमा सिस्ट भएको र सामान्य साइज भन्दा अलि ठूलो भएकाले शल्यक्रिया गर्नुपर्ने बताउनुभयो । सिटी स्क्यान पश्चात् क्यान्सरको डाक्टरकहाँ रिफर भएँ । क्यान्सर पहिचानका लागि एक दुईवटा टेष्ट गराउनुभयो । मलाई अलि सानी देखेर तपाईंका बच्चाबच्ची कति जना छन् भनेर डाक्टरले सोधेपछि मलाई क्यान्सर हो कि भन्ने शंका लाग्यो । डाक्टर साब तपाई कुरा नलुकाइदिनुस् किनभने मेरो छोरा छोरी अनि घरको जिम्मेवारी छ । मैले सबै घरको व्यवहार मिलाउनुपर्छ भनेँ । यति भनेपछि ‘तपाईंले बुझिहाल्नुभयो यो क्यान्सर हो’ भन्नुभयो । ‘यदि क्यान्सर नै हो’ भने क्यान्सर हस्पिटल नै जाने निर्णय गरें किनभने भोलिका दिनमा पनि नियमित उपचारका लागि क्यान्सर कै उपचार हुने हस्पिटल जानुबाहेक अर्को विकल्प थिएन ।’ मैले नेपाल क्यान्सर हस्पिटल हरिसिद्दी जाने निधो गरेँ ।
मेरो आमालाई पनि क्यान्सर थियो । तर उहाँ पनि ठीक हुनुभएको थियो । मलाई पनि त्यही समस्या । साना बच्चा छन् । मेरो ठूलो छोरी एसईई दिएर बसेकी थिईन् । सानो बाबु अनि अर्को सानी छोरी पनि । हिम्मत हार्न नहुने लाग्यो । रुन थालेँ भने त घरपरिवार रबच्चाबच्चीले के सोच्लान् जस्तो लाग्यो । जसरी पनि क्यान्सर जित्छु भन्ने हिम्मत लिएँ ।
यसअघि म कहिल्यै पनि नेपाल क्यान्सर हस्पिटलमा पुगेकी थिइनँ । बिरामी भेट्न जाने अवसर पनि जुरेको रहेनछ । हरिसिद्धिमा क्यान्सर हस्पिटल भएको थाहा थियो । मेरो आमालाई क्यान्सर हुँदा यो हस्पिटल भर्खर बन्दै थियो । त्यतिबेला हामीले भक्तपुर क्यान्सर हस्पिटलमा उपचार गरेका थियौं ।
‘मेरा ३ जनै बच्चाहरु अप्रेसन गरेर जन्मेका हुन् । पहिला क्वालाम्पुरमा बस्थेँ । त्यतिबेला त्यहाँ पत्रकारिता गर्दै थिएँ । पढ्दै पनि थिएँ । मेरा २ बच्चा त्यतै जन्मेर हुर्किसकेको थिए । सानी छोरी जन्मिने बेला नेपालमा थिएँ । मनमा डर लागिरहेको थियो । ‘एक दुईपटक अप्रेसन गरिसकेको ? भनेर डाक्टरले सोध्दा झन हतास भएँ । अप्रेसन गर्दा पेटभित्रै सामान छुट्यो रे, के के भन्ने समाचारहरु पढ्थेँ । मनमा डर भएर हो कि नराम्रै समाचारमा आँखा पुग्थ्यो । परिवारको बच्चा जन्मिएर अलि आफ्नो स्याहार गरेर फर्कियोस् भन्ने चाहना थियो तर मेरो मानसिक अवस्था बुझेर श्रीमानले मलेसिया नै जाने निर्णय गर्नुभयो । तेस्रो बच्चा जन्माउन मात्र भनेर मलेसिया गएकी थिएँ ।
कति दिनसम्म त मलाई क्यान्सर भएको परिवार बाहेक कसैलाई पनि भनिनँ । आफ्नो अप्रेसन गर्नुपर्ने, श्रीमान म सँगसँगै अस्पतालमा । मेरो घरमा खाना पकाएर दिने मान्छे पनि थिएनन् । मेरो माइती इलाम हो । त्यहाँबाट कान्छो भाइबुहारीलाई अप्रेसन गर्नुपर्ने भएकाले काठमाडौं आउन भनेँ ।
ममी क्यान्सरलाई जितेर पनि हृदयघात भएर बित्नुभयो । क्यान्सर भन्दा माइतीमा पनि सबै आत्तिनु होला जस्तो लाग्यो । सबैकुरा फोनमा भन्ने कुरा पनि थिएन । भन्नुहुन्छ—‘आएपछि क्यान्सर भर्खर शुरु हुन लागेको बताएँ । अप्रेसन गरेपछि निको हुन्छ भनेर बुबालाई पनि सम्झाएँ ।’
क्यान्सर भएको थाहा भएपछि ९० प्रतिशत आफन्तहरुले नै माया मार्दा रहेछन् । ‘ए क्यान्सर भएछ, अब के हो के हो ? बच्चाहरु पनि सानै छन् भन्ने । अनि सबैले आएर डिस्करेज मात्र गर्ने । बरु आफन्तले भन्दा टाढाका अनि साथीभाइले निको हुन्छ भनेर आत्मबल दिन्थे । बच्चा र परिवारका लागि निको हुनुपर्छ भन्ने लाग्थ्यो । आफू भइनँ भने के गर्छन् होला भन्ने भइरहन्थ्यो जहिले पनि ।
तर घरमा आउने व्यक्तिहरुले सानैमा क्यान्सर भयो भनेर डर देखाइदिन्थे । बिरामी परेको बेलामा पनि कतिजना सँग यस्तै कुराले झगडा पनि पर्यो । यस्तै कुरा भन्ने हो भने मलाई भेट्न नआउनुस् सम्म भनेँ किनभने म आफू ठीक हुन्छु भनेर सोच्थें । एकथोपा पनि आँशु झारेको थिइनँ । पहिचान भएको पहिलोदिन जति आँशु झारेँ झारेँ । त्यसपछि एकथोपा पनि खसालेको छैन । मान्छेहरु आएर कसरी रुवाउने भन्ने मनसायले कुरा गर्दिने । तर मेरो परिवारले दिएको हिम्मत, आड, भरोसाले बिरामी छु भन्ने नि विर्सिन्थेँ । श्रीमान, भाइहरु, बुहारीहरुले मलाई म स्वस्थ अवस्थामा रहँदाकै जस्तो व्यवहार गरेकाले पनि होला मनमा बिरामी छु भनेर दुःख लाग्नै पाएन । अस्पतालमै भएको बेला पनि बिरामी जस्तो गरेर झोक्रेर कहिल्यै बसिनँ ।
किमो दिन आउने बेलामा चाँहि मलाई अलि डर लाग्यो । सबै जनाले किमो लिन गाह्रो हुन्छ भन्थे । कसैकसैको शरीरमा त किमो एसेप्ट नै हुँदैन । किमो दिँदा दिँदै मर्छन् भन्ने बिङ्गा लगाउँथे ।
आउँदा डराउँदै आएँ । मलाई मात्र हो कि यस्तो पर्ने जस्तो लाग्थ्यो । यहाँ आएपछि क्यान्सर भएका धेरै मान्छे देखेँ । साना साना बच्चाहरुमा पनि क्यान्सर भएको देखेँ ।
शुरुको किमो दिँदा डरले क्याबिनमा बसेँ । १ दिन बस्नुप¥यो । पहिलो दिनमा स्लाइनबाट किमो दिइयो । पहिलो र दोस्रो दिन किमो लगाएपछि डिस्चार्ज भएर घर गएँ । एउटा इन्जेक्सन हानेपछि दुई दिनजति अलि गाह्रो हुनेरहेछ । त्यसपछि भएन । मलाई त ओभरियन क्यान्सर हुन्छ भन्ने बारे थाहा थिएन भने गाउँमा कतिजना दिदी बहिनीहरु पीडित होलान् जस्तो लाग्छ । मलाई पेटमा कतै केही दुःखेको थिएन । अस्पतालमा आउँदा मात्र थाहा भयो । गाउँका कति महिलाहरु पेट दुखेर पेन किलर खाएर बसेका होलान् । सानैमा हामी पनि पेट दुखेमा पेन किलर खान्थ्यौं । पेन किलर खानुहुँदैन भनेर धेरै पछि मात्र थाहा भयो ।
डाक्टरले ठीक हुने बताउनुभएको छ । केमो दिएर आएपछि दिनभर त विभिन्न कुरामा व्यस्त हुने भएकाले ख्याल हुँदैनथ्यो । तर सुतेको बेलामा ठीक भएको छ कि छैन होला भनेर मनमा कुरा खेल्दथ्यो । अहिले पनि सामान्य कुरामा पनि कता कता डर त लाग्छ । पेट दुख्यो भने पनि दौडेर अस्पताल पुग्छु । डाक्टरले आत्तिन नपर्ने बताउनुहुन्छ ।
क्यान्सर भए पछि एउटा कुरा थाहा भयो कि हामी सबै डाक्टर झैँ सल्लाह दिँदा रहेछौं । ए यो खानु, त्यो नखानु । सबैले सबै कुरा जानेका छौं जस्तो । मेरो एउटा खुट्टा सुन्नियो । कुरा गर्दै जाँँदा भन्यो भने ला किड्नी पो बिग्रिएछ भन्दिने । यस्ता सल्लाहलाई सुन्ने तर डाक्टरको सल्लाह मान्ने हो । यसलाई सकारात्मक रुपमै लिन्छु, मलाई राम्रै होस् भनेर सल्लाह दिएको जस्तो लाग्छ । तर अहिले म जे भए पनि परिवार बाहेक अरुलाई सुनाउँदिन । केही भएमा अस्पताल पुग्छु ।
कोपिला भन्नुहुन्छ—‘मान्छेहरुले त कति डर देखाउँदा रहेछन् क्यान्सर भएको मान्छेलाई । रोगले भन्दा पनि मान्छेका अफवाहले आधा मार्दो रहेछ क्यान्सर रोगीलाई त । मलाई त्यस्तै लाग्यो ।’ क्यान्सर उपचार गरे निको हुने रोग हो । आफुले हिम्मत हार्नु भएन । उच्च आत्मबल पनि एक किसिमको उपचार नै हो ।