Logo
|
Monday 3rd October 2022
Logo

epaper

धेरैलाई नहुने तर घातक लुपस बाथ




जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो समय लुपस वाथरोगीहरुको पहिचान हुने क्रम बढेको छ । प्रारम्भिक लक्षण देखिनासाथ परीक्षण गर्न आउन थालेको पाइन्छ । नेसनल बाथ रोग सेन्टरमा दैनिकजसो दुइ/तीन जना लुपस बाथका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । लुपस वाथ अन्य बाथको तुलनामा धेरैलाई नहुने भएपनि घातक मानिन्छ । लुुपसको समयमै उपचार नगरेमा बिरामीको ज्यान समेत जानसक्छ । यो रोग विशेषगरी १५ देखि ४५ वर्ष उमेर समूहका महिलाहरूमा देखिन्छ ।

महिलाको शरीरमा एस्ट्रोजेन हर्मोन बढी हुने कारण महिलालाई लुपस वाथ हुने सम्भावना पुरुषको तुलनामा ९ गुणा बढी हुन्छ । परिवारमा कसैलाई लुपस वाथ भएमा अरुलाई सो रोग हुने सम्भावना बढी रहन्छ ।

लुपस वाथ पूर्णरुपमा निको पार्न सकिदैन । तर सही पहिचान गरी समयमा चाँडो उपचार शुरु गरेमा सम्बन्धित अङ्ग बचाउन सकिन्छ । लुपसको उपचार लक्षण शुरु भएको ३ महिनाबाट १ वर्षभित्र गरिएमा यसबाट हुने नकारात्मक असरलाई न्यूनीकरण गर्न सकिन्छ ।

लुपस कारण
लुपस अन्य वाथहरुजस्तै एउटा अटोइम्यून रोग हो । यसले तपाईंको शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै शरीरका तन्तु र अंगहरूमा आक्रमण गर्छ ।

जटिलता
लुपस वाथले तपाईंको जोर्नी, छाला, मिर्गौला, रक्त कोशिकाहरू, मस्तिष्क, मुटु र फोक्सोसहित धेरै अंगहरूलाई असर गर्न सक्छ । लुपस वाथ छिप्पिसकेपछि मात्र भित्री अंगलाई असर गर्ने भन्ने होइन ।

यसले कुनै पनि समय भित्रि अंगलाई अक्रमण गर्न सक्छ । कतिपय बिरामी मिर्गौलामा परीक्षणको क्रममा लुपस पहिचान हुनसक्छ । कतिपय बिरामीहरु बारम्बार मुटु र फोक्सोमा पानी जम्ने समस्या लिएर अस्पताल आउँछन् । यसले शरीरका जुनसुकै अंगलाई आक्रान्त पार्न सक्छ ।

मिर्गौला – लुपसले मृगौलालाई गम्भीर क्षति पु¥याउन सक्छ । मिर्गाैला फेल हुनु लुपस भएका मानिसहरूको मृत्युको प्रमुख कारण हो ।


मस्तिष्क र केन्द्रीय स्नायु प्रणाली– यदि तपाईंको मस्तिष्क लुपसबाट प्रभावित छ भने, तपाईंले टाउको दुख्ने, चक्कर लाग्ने, व्यवहार परिवर्तन, दृष्टि समस्या, र स्ट्रोक पनि अनुभव गर्न सक्नुहुन्छ । लुपस भएका धेरै व्यक्तिहरूले मेमोरी समस्याहरू अनुभव गर्छन् र उनीहरूलाई आफ्ना विचार व्यक्त गर्न गाह्रो हुनसक्छ ।


रगत र रक्तनलीहरू – लुपस वाथले रक्तअल्पता र रगत बग्ने वा रगत जम्ने जोखिमसहित रगतसम्बन्धि विभिन्न समस्या निम्त्याउन सक्छ ।


फोक्सो– लुपस भएकोले छातीको गुहाको अस्तर (प्ल्युरीसी) को सूजन हुने सम्भावना बढाउँछ, जसले सास फेर्न गाह«ो बनाउन सक्छ। फोक्सोमा रगत बग्ने र निमोनिया पनि हुनसक्छ ।


मुटु– लुपस वाथले तपाईंको मुटुको मांसपेशी, धमनी वा मुटुका झिल्ली (पेरिकार्डाइटिस) को सूजन गराउनसक्छ । हृदयघातको जोखिम पनि बढ्छ ।


संक्रमण – लुपस भएका मानिसलाई संक्रमणको जोखिम धेरै हुन्छ किनभने लुपस रोग र यसको उपचार दुवैले प्रतिरक्षा प्रणालीलाई कमजोर पार्नसक्छ ।


ड्डीको तन्तुको मृत्यु (भास्कुलर नेक्रोसिस) – यो तब हुन्छ जब हड्डीमा रगत आपूर्ति कम हुन्छ । अन्ततः हड्डी भाँचिन्छ ।
गर्भावस्थामा जटिलता– लुपस वाथ भएका महिलाहरूमा गर्भपातको बढी जोखिम हुन्छ । लुपसले गर्भावस्था (प्रीक्लेम्पसिया) र जन्म पूर्व उच्च रक्तचापको जोखिम बढाउँछ । त्यसैले ६ महिनासम्म लुपस वाथ नियन्त्रणमा नआएसम्म गर्भावस्थामा ढिलाइ गर्नुपर्छ ।


लक्षण
८० प्रतिशत लुपसका बिरामीलाई जोर्नीको दुखाई र छालामा डाबर आउने लक्षण देखिन्छ । यसका साथै जोर्नी दुख्ने, छालामा डाबर आउने, अनुहारमा पुतली आकारको डाबर आउने, घाममा जाँदा अनुहार रातो हुने, चिलाउने, शरीरमा राता÷निला डाबर आउने, चिसो पानी खेलाउँदा हातको रङ सेतो हुने, मुखमा बारम्बार घाउ आउने, आँखा बारम्बार रातो हुने, पिसावमा प्रोटिन जाने, मिर्गौलामा समस्या देखिने, फोक्सोमा पानी जम्ने, टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने जस्ता विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् ।

निदान
यदि लुपस रोग निदानमा ढिलाइ भएमा राम्रोसँग उपचार नभई शरीरका भित्री अंग जस्तैः मिर्गौला, स्नायु, मुटुलाई खराब बनाएको अवस्थामा बिरामीको मृत्यु हुनसक्छ । मानौ, लुपस नेफ्राइटिसको समयमै उपचार नभएमा विस्तारै मिर्गौला खराब हुँदै मिर्गौला फेल भएर व्यक्तिको मृत्यु हुनसक्छ । यो रोग उपचारको लागि वाथ रोग विशेषज्ञद्धारा लक्षणको आधारमा तथा रगत र अन्य परीक्षणको मद्धतले रोगको अवस्था पहिचान गर्न सकिन्छ । हुन त लुपस निदान गर्न गाह्रो छ किनभने लक्षणहरू व्यक्तिपिच्छे फरक हुन्छन् ।

लुपसका लक्षणहरू समयसँगै भिन्न हुन सक्छन् । लुपस निदान गर्न प्रयोगशाला परीक्षणअन्तर्गत पूर्ण व्लड काउन्ट, मिर्गौला र कलेजो मूल्याङ्कन, पिसाब विश्लेषण (युरिनालिसिस), एन्टिन्यूक्लियर एन्टिबडी (ए एन ए) परीक्षण गर्नुपर्छ । यसैगरी लुपसले पार्नसक्ने असरको जानकारी लिन छातीको एक्स–रे, इकोकार्डियोग्राम, बायोप्सी गर्नुपर्छ ।

उपचार पद्धति
लुपस वाथको उपचार व्यक्तिअनुसार उपचार फरक फरक हुनसक्छ । यसले कुन अंगलाई असर गर्छ भन्ने थाहा हुँदैन । त्यसैले जुन अंगलाई असर गरेको छ सोही अनुसार उपचार गर्नुपर्छ । यस रोगमा प्रायजसो बिरामीलाई हाइड्रोक्सीक्लोरोक्विन
वा क्लोरोक्विन नामक औषधि प्रयोग गरिन्छ । लुपस वाथका बिरामीहरु जसको मुटु, कलेजो, मिर्गाैला र नसाहरुमा असर गरिएको अवस्थामा ग्लुकोकोर्टिकोइड्स र अन्य ईम्युन सप्रेसिभ औषधिहरु अजाथियोप्राइन, माइकोफेनोलेट मोफोटिल, साइक्लोफोस्फामाइड, रितुक्सिमब आदि औषधिद्वारा उपचार गर्नुपर्छ ।

सुझाव
लुपस रोग लक्षण देखिएपछि मात्र परीक्षण गराउनुपर्छ । लुपसको उपचार अंग संलग्नताको आधारमा गर्नुपर्छ । जोर्नी दुखाई, छालामा डाबर आउने, अत्यधिक कपाल झर्नेमध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य परीक्षण गराउनुपर्छ । लक्षण नभएका स्वस्थ व्यक्तिले लुपस वाथ परीक्षण गराउनुपर्दैन । जोर्नी दुख्यो भने पहिलो दिनमै आउनुस् , कुरेर नबस्नुस् ।

सन्तुलित भोजन
लुपस वाथका बिरामीले कुनै प्रकारको विशेष भोजन खान जरुरी छैन । तर सन्तुलित भोजनका लागि निम्न कुराहरुमा ध्यान दिन अनिवार्य हुन्छ । बिरामीले चिल्लो कम भएको खाना, फलफूल, हरियो सागपात, तरकारी, रङ नहालिएको खैरो चामल र थोरै मात्रामा माछामासु खानुपर्दछ । नुन कम मात्रामा खानुपर्छ । कोलेस्टेरोल पनि भएका बिरामीले कम चिल्लो पदार्थ भएको खाना खानुपर्छ । क्याल्सियम र भिटामिन डी, स्टोराईड औषधि खाने बिरामीमा दिनुपर्दछ ।

बिरामीले ध्यान दिनुपर्ने कुराहरु

यो रोग लागेका बिरामी घामको किरणबाट बच्नुपर्दछ । यसका लागि छाता, लोसन वा घामबाट बच्ने क्रिम ३० भन्दा बढी एसपिएफको क्रिम लगाउने र घाम छेक्ने गरी लुगा लगाउनुपर्छ । बिरामीले सक्रिय जीवनका लागि नियमित व्यायाम गर्नुपर्दछ । यो रोग लागेको व्यक्तिलाई निमोनिया र फ्लु भ्याक्सिन लगाउनुपर्दछ ।

यो रोग लागेका गर्भवती महिलामा गर्भपतन हुने सम्भावना बढ्छ । शरीरमा एन्टीफोसफोलिपिड नामक प्रोटिनको मात्रा बढी भएमा गर्भपतन हुने बढी जोखिम हुन्छ । गर्भवती हुनुअघि चिकित्सको सल्लाह लिनुपर्दछ । लुपस वाथ नियन्त्रणमा आएको ६ महिनापछि मात्र गर्भवती हुने सल्लाह दिइन्छ । गर्भवती अवस्थामा नियमित जाँच गराइरहनुपर्दछ र अन्य औषधि पनि नियमित खाने गर्नुपर्दछ ।

नियमित जाँचको समय व्यक्ति अनुसार फरक पर्दछ । रोग साधारण भएमा डाक्टरलाइ तीनदेखि ६ महिनामा भेट्नुपर्दछ । रोग नियन्त्रण नभएमा डाक्टरको सल्लाह अनुसार अनिवार्य जाँच गराउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्