नेभिगेशन

काठमाडौं क्यान्सर सेन्टरद्धारा भक्तपुरमा सुर्तिविरोधी वाकथुन सम्पन्न, ३०० भन्दा बढीको उत्साहजनक सहभागिता

जनस्वास्थ्य सरोकार, भक्तपुर । विश्व सूर्तिजन्य पदार्थरहित दिवसका अवसरमा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले भक्तपुरको दरवार स्क्वायर क्षेत्रमा वाकथुन कार्यक्रमको आयोजना गरेको छ ।

सूर्तिजन्य पदार्थको नकारात्मक असरबारे किशोरावस्था र युवावस्थाका व्यक्तिहरुलाई सचेत गराउन वाकथुनको आयोजना गरिएको अस्पताल व्यवस्थापक वर्षा कोइरालाले बताउनुभयो। सेन्टरले क्यान्सरका कारण हजारौंको मृत्यु हुने गरेको कुरालाई दृष्टिगत गरी धुम्रपानबाट हुने हानिबारे गल्ली समुदायमा जनचेतना डिस्प्ले गरेको थियो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, मिसेस वल्र्ड नेपालकी दीक्षाश्री केसी, प्रकाश सुवेदीलगायतका व्यक्तिको सहभागितामा भएको सो वाकथुन कार्यक्रममा स्वास्थ्यकर्मी, विद्यार्थी, कलाकार, पत्रकार, समाजसेवी, राजनीतिज्ञ गरी ३ सय भन्दा बढीको सहभागिता रहेको थियो।

च्यामासिंहबाट शुरु भएको सो वाकाथुन भक्तपुरका गल्लीहरु परिक्रमा गर्दै भक्तपुर दरवारस्क्वायर हुँदै पाँचतले मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो । काठमाडौं क्यान्सर सेन्टर भक्तपुर च्यामासिंह चोकबाट ३ किलोमिटर टाढा पर्छ । यो ५० वेडको क्यान्सर हस्पिटल हो । रेडियोथेरापीबाट सेवा शुरु गरेको सेन्टरले अहिले ६ वर्ष पूरा गरेको छ ।

नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हरेक वर्ष मे ३१ मा धुम्रपान र त्यसको उद्योगसँग सम्बन्धित एक विशेष मुद्दालाई लिएर विश्व सूर्तिजन्यपदार्थ रहित दिवस मनाउँदै आएको छ । विश्व सूर्तिजन्यपदार्थ रहित दिवस २०२२ को नारा ‘वातावरणको संरक्षण गरौं’ भन्ने रहेको छ ।

सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ । सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी ऐन, कानुन र निर्देशिका पारित भई लागू भइसकेको स्वास्थ्य मन्त्रालयले जनाइएको छ ।


विश्व स्वास्थ्य संगठनले सन् १९८७ मा सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने मृत्युको संख्यामा निरन्तर र तीव्र वृद्धिलाई ध्यानमा राख्दै ७ अप्रिल १९८८ मा विश्व धुम्रपान रहित दिवस मनाउन थालेको थियो । तर त्यसपछि सन् १९८८ को अर्को संकल्पपछि हरेक वर्ष मे ३१ मा यो दिवस मनाउन थालियो ।


विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ ।

डब्लुएचओका अनुसार, हरेक वर्ष चुरोट बनाउन ६० करोड रुख काटिने, २२ अर्ब लिटर पानी प्रयोग हुने र ८४ करोड टन कार्वनडाइअक्साइड उत्सर्जनले हावामा विश्वव्यापी तापक्रम बढाएको उल्लेख गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट