Logo
|
Friday 26th April 2024
Logo

epaper

रोग लाग्नुभन्दा पहिला नै बच्ने उपाय योग




जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले निकालेको पछिल्लो तथ्याङक अनुसार नसर्ने रोगबाट प्रत्येक १० जनामा ७ जनाको मृत्यु हुने गरेको छ । यसलाई रोक्न स्वस्थ जीवनशैली र योगाभ्यासलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ । विश्व स्वास्थ्य संगठनले मधुमेह, मुटुरोग, उच्च रक्तचाप जस्ता दीर्घ रोेगबाट बच्न स्वस्थकर जीवनशैली अवलम्वन गर्न वारम्वार सुझाउँदै आएको छ ।

मुलुकमा आयुर्वेद केन्द्रको संख्या सीमित भएकाले सबैको पहुँचमा योग पुग्न सकेको छैन । यद्यपि जनचेतनामूलक अभियानका लागि गाउँटोलमा ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने अभियान चलाइरहेका छौँ । हामीले नियमित योग अभ्यास र खानपानमा विशेष ध्यान दिनुपर्छ ।

कम नुन, चिल्लो कम भएका खाद्यान्न, बोसो नभएको मासुको सेवन, नियमित योगाभ्यास र सरसफाईमा विशेष ध्यान दिनुपर्छ । धुम्रपान र मद्यपानको सेवन गर्न हुँदैन । आफ्नो स्वास्थ्यका लागि स्वयम् जिम्मेवार हुनुपर्छ । आम सर्वसाधारणले दैनिक ३० मिनेटजति प्रवद्र्घनात्मक योग अवलम्वन गर्नसकेमा नसर्ने रोगको रोकथाममा ठूलो टेवा पुग्नसक्छ ।

विद्यालयस्तरबाटै विद्यार्थीहरुलाई योग र आयुर्वेदबारे ज्ञान दिनुपर्छ । यसले उनीहरुमा योगप्रति चासो बढ्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयस्तरीय पाठ्यक्रममा योगाभ्यासलाई स्वेक्षिक विषयको रुपमा राखेको छ । त्रिभुवन विश्वविद्यालयले पनि योग अभ्यासका केही पाठ्यक्रम सञ्चालन गरिरहेको छ । तर योग विशेषज्ञबाट नै अध्यापन हुन सकेको छैन । शिक्षा मन्त्रालय र सम्बन्धित विश्वविद्यालयहरुको समन्वयमा योगका दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ ।

नेपालमा योगसम्बन्धि विभिन्न तहका विज्ञ रहेका छन् । भारत वा अन्य मुलुकबाट तालिम लिएका, योगको राम्रो अभ्यास गरेका, नेचुरोप्याथी अध्ययन गरेका, बीएसी योगिक साइन्स पढेका सबैले आफूलाई योगगुरु मान्छन् । तर यी सबै आयुर्वेद काउन्सिलमा दर्ता नभएकाले जनशक्तिको वर्गिकरण र संख्या एकिन हुन सकेको छैन ।

दक्ष जनशक्तिको अभावमा पठनपाठन हुन सकेको छैन । शिक्षा मन्त्रालयमार्फत यसलाई अगाडि बढाउन आवश्यक देखिन्छ । त्यसैले योग एक दिन मात्र गरेर हुँदैन । प्रत्येक नागरिक जिम्मेवार हुनुपर्छ । साथै खानपानमा विशेष ध्यान दिनुपर्छ । शरीरलाई क्रियाशिल बनाउनुपर्छ । तनाव लिन हुँदैन । अनि मात्र रोग लाग्नुभन्दा पहिला नै बच्न मद्घत गर्छ । (डा. उपाध्याय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्