Logo
|
Saturday 27th April 2024
Logo

epaper

जनैपूर्णिमा अर्थात क्वाँटी खाने दिन :  यस्ता छन् क्वाँटी खानुका फाइदै फाइदा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज जनैपूर्णिमा अर्थात क्वाँटी खाने दिन। बिहान ब्राह्मणले जपेको डोरो हातमा बाँध्ने, जनै फेर्ने, दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई राखी बाँध्ने र नौ प्रकारका गेडागुडी मिश्रित क्वाँटी खाने गरिन्छ।

हिन्दू धर्मावलम्बीहरुले देशभर जनैपूर्णिमा अर्थात् ऋषितपर्णी पर्व मनाउने गर्दछन् । तागाधारीहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरो बांधी रक्षाबन्धन पनि गरिन्छ । बाधिएको डोरो गाइ तिहारका दिन गाइको पुच्छरमा बांधेमा मृत्युपछि बैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ ।

चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खानेचलन छ ।

यस्ता गेडागुडीको मिश्रण खानु अघि यस्लाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ । चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो ।


क्वाँटी पौष्टिक तत्वको खानी मानिन्छ। यसमा प्रशस्त प्रोटिन, भिटामिन र मिनरल्स रहेको हुन्छ। जुन शरीरका लागि आवश्यक तत्व हुन्। शरीर तन्दुरुस्त राख्न पौष्टिक तत्वको आवश्यकता पर्छ। ती पौष्टिक तत्व विभिन्न खानामा पाइन्छ।

यिनै पौष्टिक तत्वको मात्रा अंकुरित गुडागुडीमा रहेको हुन्छ। अंकुरित गुडागुडी जनैपूर्णिमा मात्र होइन अघिपछि पनि खान सकिन्छ। बढ्दो उमेरका केटाकेटी र बुढाबुढीलाई थप पौष्टिक तत्वको आवश्यकता बढी हुन्छ। जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो ।

क्वाँटी नौ थरी गेडागुडी मिसाएर तयार गरिन्छ, जसमा चना, मस्यांङ, मुगी, बोडी, मास, भटमास, सीमी, ठूलो केराउ, सानो केराउ पर्दछन ।

क्वाँटी विशेष गरि नेवारी परिकार हो । नेवारी भाषामा क्वाँ भनेको तातो हो भने टि भनेको झोल हो । क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ ।

क्वाँटीको फाइदा अनेक

बर्खाको समयमा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहेको छ । केराउ, चना, मुगी, मास, सिमी, भटमासलगायतका गेडागुडी मिसाई पानीमा भिजाएर टुसा निक्लिएपछि क्वाँटी तयार पारिन्छ ।

मधुमेह, पायल्स, कब्जियत, रुघाखोकी, लिभरसिरोसिस, सुत्केरी महिला, वृद्ध वृद्धाका लागि समेत क्वाँटीले फाइदा गर्छ । तर प्रोटिनको मात्रालाई सन्तुलनमा राख्नुपर्ने मृगौला रोगी, युरेनिया तथा युरिक एसिडका बिरामीले भने क्वाँटी खाँदा विचार पुर्‍याउनु पर्ने पन्तको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्