Logo
|
Saturday 27th April 2024
Logo

epaper

चिकित्सकहरुका लागि सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार माध्यम उपयोग आचारसंहिता जारी



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुलाई सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार माध्यम उपयोग आचारसंहिता लागू गरेको छ ।


सामाजिक सञ्जालमा आचारसंहिताविपरीतका सामग्री राख्ने गरेको पाइएपछि काउन्सिलले उक्त आचारसंहिता जारी गरेकोे हो ।

आचारसंहितामा दर्तावाला चिकित्सकले आफूले नेपाल मेडिकल काउन्सिलमा दर्ता रहेका बाहेकका उपाधि प्रयोग गर्न गराउन हुँदैन, सामाजिक सञ्जालमा कुनै पेशागत विवरण राख्नुपर्ने भएमा काउन्सिल दर्ता प्रमाणपत्रमा उल्लेखित उपाधि मात्र लेख्न पाइनेछ ।
नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरुले सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार माध्यममा लेख्दा तथ्यपरक सान्दर्भिक विषयवस्तु राख्नुपर्ने छ ।

उपचारजन्य कुनै पनि जानकारी दिनुपर्ने भएमा वैज्ञानिक रुपमा स्थापित तथ्य मात्र लेख्न पाइनेछ । साथै सम्भव भएसम्म उक्त तथ्यको पछिल्लो सन्दर्भ सामाग्री (रिफरेन्स) उल्लेख गर्नुपर्नेछ ।


कुनैपनि बिरामीसँग सम्बन्धित विषयवस्तु बारे जानकारी दिनुपर्ने भए निजको वा निजको हकवालाको सुसूचित मञ्जुरी लिन अनिवार्य छ । तर बिरामीको परिचय खुल्नेगरी कुनै पनि उपचारजन्य भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न पाइने छैन ।


उपचारसँग सम्बन्धित रहेर दिइने अनलाइन सुझाव तथा परामर्शको हकमा निम्नानुसार व्यवस्था लागू हुनेछ ।
अनलाईन परामर्शमा समेत कानुनी पक्ष आकर्षित हुने हुँदा अनिवार्य रुपमा लिखित अभिलेख राख्नुपर्ने, अनलाईन परामर्श तथा सुझाव प्रदान गर्दा कुनैपनि रोगको निदान तथा उपचार असहज हुने देखिएमा अनिवार्य रुपमा बिरामीलाई भौतिक चेकजाँच गरेर मात्र उपचारजन्य सुझाव तथा सल्लाह दिनुपर्ने, अनलाईन परामर्श र भौतिक परामर्श दुवैको कानुनी दायित्व बराबर हुने हुँदा सोही अनुरुप गर्न गराउन अनिवार्य, कुनै पनि समस्याकाबारे अनलाइन छलफल गर्दा आफ्नो धारणा प्रकट गर्न पाइनेछ । तर अन्य व्यक्ति तथा संस्थाका धारणाहरुको आलोचना गर्दा तथ्यपरक ज्ञान तथा जानकारी आवश्यक पर्नेछ ।

आलोचनात्मक अभिव्यक्तिमा समेत अपमानजनका शव्द प्रयोग गर्न पाइने छैन ।


अनलाइन परामर्शबारे अन्य व्यवस्था नेपाल मेडिकल काउन्सिलको टेलिमेडिसिन गाइडलाइनमा उल्लेख छन् ।

प्रतिक्रिया दिनुहोस्