Logo
|
Thursday 25th April 2024
Logo

epaper

लाइसेन्स परीक्षा फेल भएका एमबीबीएसका विद्यार्थीले अन्य पेसा गर्न पाउने व्यवस्था गरिँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस उत्तीर्ण तर लाइसेन्स परीक्षामा अनुत्तीर्ण विद्यार्थीले भविष्यमा चिकित्सा पेसा नगर्ने गरी अन्य पेसा अपनाउने व्यवस्था गर्न लागेको छ।

हाल एमबीबीएस पास गरेका विद्यार्थीले लाइसेन्स परीक्षा पास नगरी अन्य कुनै संकायमा थप अध्ययन गर्न पाउँदैनन्। काउन्सिलका अनुसार उनीहरूले बिरामी जाँच्न पाउँदैनन्। यसैकारण एमबीबीएस तथा बीडीएस पास गरेका डाक्टरलाई बिरामी जाँच्नबाहेक अन्य पेसा अपनाउन काउन्सिलले बाटो खोलिदिन लागेको हो।

काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले एमबीबीएस पास गरेका विद्यार्थीलाई अन्य विषय अध्ययन गर्दा पनि अनिवार्य लाइसेन्स परीक्षा पास गर्नुपर्ने व्यवस्था हटाउन खोजिएको बताउनुभयो । उहाँले एमबीबीएस उत्तीर्ण गरेकाले डिग्री लिएको भन्दै उनीहरूले लाइसेन्स परीक्षा पास नगरेको अवस्थामा भने बिरामी जाँच्न नपाउने बताउनुभयो ।

‘लाइसेन्स पास गरेको भए त क्लिनिकल प्राक्टिस गर्न पाउँथे’, डा कोइरालाले भन्नुभयो–‘धेरै पटक लाइसेन्स परीक्षामा फेल भएका विद्यार्थीका लागि एमबीबीएसलाई डिग्रीको मान्यता दिन लागिएको हो।’

उहाँले अनुसार लाइसेन्स फेल हुनेहरूका लागि पब्लिक हेल्थ, व्यवस्थापन, शिक्षालगायतका संकायमा अध्ययन गर्न पाउने व्यवस्था गर्न लागिएको छ। हालको व्यवस्थाअनुसार एमबीबीएस उत्तीर्ण भएकाहरू लाइसेन्स परीक्षा पास नभएसम्म अन्य संकायमा अध्ययन गर्न पाउँदैनन्। डा कोइरालाले १२ पटकसम्म लाइसेन्स परीक्षा अनुत्तीर्ण भएको विद्यार्थी (डाक्टर)ले बिरामी जाँच्न नसक्ने भएकाले उसलाई एमबीबीएस उत्तीर्ण भएसँगै डिग्रीको मान्यता दिन लागिएको बताउनुभयो ।

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा कृष्णप्रसाद अधिकारीले डाक्टरहरू धेरै पटक अनुत्तीर्ण भएपछि उनीहरूले बिरामी जाँच्नबाहेक अन्य संकाय वा पेसामा योग्य हुने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो। उहाँले मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा फेल भएका विद्यार्थीका लागि विश्वविद्यालय, मेडिकल कलेजलगायतका निकायसँग समन्वय भइरहेको बताउनुभयो ।

हाल एमबीबीएस पास गरेका डाक्टरले अन्य कुनै विषय अध्ययन गर्न चाहेमा मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण भएकै हुनुपर्छ। उनीहरूले एमबीबीएस उत्तीर्ण गरेर लाइसेन्स परीक्षामा अनुत्तीर्ण छन् भने पनि अन्य कुनै विषयमा थप अध्ययन गर्न पाउने व्यवस्था छैन।

नेपालमा ३०–३५ पटकसम्म लाइसेन्स परीक्षा दिएर पनि अनुत्तीर्ण भएका एमबीबीएस धेरै छन्। उहाँले पटक–पटक परीक्षामा अनुत्तीर्ण हुने डाक्टरका लागि उसले चाहेको अवस्थामा अन्य संकायमा अध्ययन गर्न पाउने व्यवस्था गर्न लागिएको बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्