बालबालिकामा एन्टिबायोटिक रेजिसटेन्सका कारण र प्रभाव
आफै जान्ने भएर औषधि पसलमा गई एन्टिबायोटिक किनेर खुवाइदिने बानी पनि प्रमुख समस्या
एन्टिबायोटिकको आविष्कारको युगले विभिन्न उपचारात्मक चिकित्सीय उपचारमा धेरै नै सहयोग गर्दै आएको छ । जस्तैः सर्जिकल, सुरक्षित बच्चा जन्माउने प्रक्रिया, अंग प्रत्यारोपण, क्यान्सर उपचार आदि । एन्टिबायोटिकको सहि प्रयोगले बालबालिकाहरुमा निमोनिया, मेनिन्जाइटिस, टाइफाइड, क्षयरोग आदिको संक्रमणले हुने मृत्युमा एकदमै कमी आएको छ ।
तर एन्टिबायोटिकको सहि समयमा सहि प्रयोग सँगै गलत प्रयोग बढ्दै जाँदा किटाणुहरु पहिलेको भन्दा बलियो हुँदै गएर सामान्य एन्टिबायोटिकले काम गरेर मर्ने किटाणुहरु कडा एन्टिबायोटिकको प्रयोग गर्दा पनि काम नगर्ने अवस्था सिर्जना हुँदै गएको छ । यसलाई एन्टिबायोटिक रेजिसटेन्स भनिन्छ ।
एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) विश्व स्वास्थ्य संगठनको प्राथमिकतामा रहेको जटिल समस्या हो । यो विश्वव्यापी रुपमा सार्वजनिक स्वास्थ्यको प्रमुख चिन्ताको बिषय बनेको छ ।
सन् २०१९ मा अमेरिकाको सेन्ट्रल डिजिज फर कन्ट्रोल (सीडीसी) ले प्रस्तुत गरेको रिपोर्टमा अमेरिकामा प्रति वर्ष २.८ लाख एन्टिबायोटिक रेजिसटेन्सका घटना दर्ता हुने गरेका छन् । करिब ३५ हजार मृत्यु एन्टिबायोटिक रेजिसटेन्सका कारण हुने गरेको छ । बहुऔषधिय प्रतिरोधी (एमडीआर) ब्याक्टेरियाको संक्रमणले सबै उमेरका ७ लाखको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अनुमान गरेको छ । जसमध्ये लगभग २ लाख नवजात शिशु रहेका छन् । सन् २०५० सम्म एएमआरको परिणामको रूपमा प्रत्येक वर्ष १० लाख मानिसको मृत्यु हुनसक्ने एन्टिमाइक्रोबियल प्रतिरोधमा सन् २०१६ को समिक्षाले अनुमान गरेको छ ।
एन्टिबायोटिक रेसिसटेन्सको कारण
एन्टिबायोटिकको खोजलाई २० औं शताब्दीको मेडिकल विज्ञानको धेरै नै ठूलो उपलब्धि मानिन्छ । सन् १९२८ मा अलेक्जेन्डर फ्लेमिङले पहिलो पटक पेनिसिलिन पत्ता लगाएका थिए ।
ब्याक्टेरियाको आनुवांशिक परिवर्तन
ब्याक्टेरियाहरू केहि हदसम्म समयका साथ वातावरण अनुकूलन परिवर्तन हुन सक्षम हुन्छन् । अनियमित (रेन्डम) आनुवंशिक परिवर्तन र एन्टिमाइक्रोबियल प्रतिरोधी तत्वको स्थानान्तरणद्वारा कहिलेकाँही त्यस्ता जीनहरू प्राप्त गर्न सक्छन् जसले तिनीहरूलाई मार्ने उद्देश्यले बनाइएका औषधिहरूविरुद्ध बाँच्न सक्षम बनाउँछ । प्राकृतिक चयन सिद्धान्तमार्फत नयाँ प्रतिरोधी भेरियन्टहरू फस्टाउन र फैलिन सक्छन् ।
डाक्टरको सिफारिसअनुसार औषधि सेवन नगर्ने प्रचलन
कुनै पनि कारणले आफ्ना बालबालिकालाई ज्वरो आउँदा वा सामान्य रुघाखोकी, झाडाबान्ता, पेट दुख्ने समस्यामासमेत आफै जान्ने भएर औषधि पसलमा गई एन्टिबायोटिक किनेर खुवाइदिने बानी पनि प्रमुख समस्या हो । अझ त्यसमाथि कति अभिभावकहरु डाक्टरले सल्लाह दिएरै एन्टिबायोटिक प्रयोग गरिरहेको अवस्थामा पनि आवश्यक एन्टिबायोटिक दिँदैनन् ।
७ दिनका लागि दिनुपर्ने एन्टिबायोटिक २ दिनमा ज्वरो कम भयो भनेर २ दिनपछि एन्टिबायोटिक नदिने धेरै पाइन्छ । बाँकि औषधि पछि काम लाग्छ भनेर राख्ने र पछि पनि त्यसैगरी दिने वा अर्को बालबालिका बिरामी हुँदा त्यहि एन्टिबायोटिक दिने चलन पनि छ ।
रुघाखोकी भाइरल नै छ भने पनि एन्टिबायोटिक दिनुपर्ने, यसले समस्या चाँडो निको हुने जनमानसमा अर्को ठूलो भ्रम छ । सबै डाक्टरले पनि दिने त्यहि नै हो । एन्टिबायोटिकले भाइरल ज्वरो, रुघाखोकी, झाडाबान्तामा केहि काम गर्दैन । बरु शरीरमा विभिन्न नकारात्मक असरहरु गर्न सक्छ र एन्टिबायोटिक रेजिसटेन्सको कारण बन्न सक्छ ।
यसले भविष्यमा एन्टिबायोटिकको प्रयोग गर्नैपर्ने अवस्थामा काम नगरिदिनाले बालबालिकाको मृत्यु समेत हुनसक्छ भन्ने एथार्थ ज्ञानको कमीले एन्टिबायोटिकको गलत प्रयोग भइरहेको छ ।
औषधि पसलेहरुको कमिसनको खेल
सबै औषधि पसलमा हरेकपटक फर्मासिष्ट नहुनु, डाक्टरको प्रेस्क्रिप्सनबाहेकनै पनि एन्टिबायोटिकको बेचबिखन, साधारण एन्टिबायोटिक भन्दा नयाँ शरीरभर जहाँ संक्रमण भएपनि एउटैले काम गरोस् भन्ने उद्धेश्यले ठूला ग्रुपका एन्टिबायोटिक २–३ दिनलै दिंदै गाह्रो भएमा अस्पताल जानुहोला भन्ने बानीले पनि एन्टिबायोटिक रेजिसटेन्सको समस्यालाई बढाएको छ । घाँटी दुखेमा अजिथ्रोमाइसिन र पखाला लागेमा मेट्रोन चलाउने बानी छुटाउनु पनि चुनौती नै छ ।
जिम्मेवारबिहीन डाक्टर
डाक्टरले पनि बिरामी र औषधि पसलेलाई मात्र दोष दिने तर आफू जिम्मेवार नहुने पनि अर्को एथार्थ हो । अस्पतालमा बिरामीको चाप होस वा भरपर्दो ल्याब सेवा नभएको वा बिरामी जसरी पनि ठिक हुनुपर्यो भन्ने होस् वा औषधि कम्पनीका सदस्यहरुको विज्ञापनको विश्वास मात्र गरेर आफु अध्यन नगरी नयाँ भन्दा नयाँ एन्टिबायोटिक लेख्ने बानी होस वा एउटा एन्टिबायोटिकले पुग्ने अवस्थामा सबै कभर गर्ने भन्दै २–३ वोटा एन्टिबायोटिक एकै पटक दिने चलन होस्, यी सबै गलत अभ्यास हुन् र एन्टिबायोटिक रेजिसटेन्सको कारण बन्न सक्छन् । कति डाक्टरहरुकै प्रेस्क्रिप्सनमा रोगको डायग्नोसिस नलेख्ने वा भाईरल लेख्ने अनि तल औषधिमा एउटा न एउटा एन्टिबायोटिक झुण्ड्याइदिने बानी देखिन्छ, त्यो पनि गलत अभ्यास हो ।
अझै कुनै औषधि कम्पनीको प्रलोभनमा आएर धेरै औषधि बिक्री गरिदिने चक्करमा कुनै डाक्टरले नचाहिएको बेलामा समेत एन्टिबायोटिक लेखिरहेको हो भने त त्यो मानवीय र कानुनी अपराध अनि एन्टिबायोटिक रेजिसटेन्सको कारण बन्न सक्छ ।
अस्पतालको अनुगमनको अभाव
अस्पताल प्रशासनले आफ्नो अस्पतालमा कुनै पनि डाक्टरले कस्ता एन्टिबायोटिक कस्तो रोगका लागि लेखिरहेको छन् ? चलाउनुअघि आवश्यक जाँचहरु गरेका छन् कि छैनन् ? सामान्य भन्दा ठूला एन्टिबायोटिक लेख्नुपर्दा आफू भन्दा सिनियर डाक्टरसँग परामर्श गरेका छन् कि छैनन् ? भन्ने जानकारी राखी सही समयमा सहि रोगका लागि सहि एन्टिबायोटिक मात्र चलाउन नियम र गाइडलाइन बनाउनुपर्छ ।
मेडिकल कलेजहरुमा सिनियर डाक्टरले जे लेख्छन् जुनियरले पनि त्यही सिक्ने भएकाले एन्टिबायोटिक लेख्ने बेलामा एकदमै ध्यान दिन जरुरी हुन्छ । हरेक अस्पतालमा जटिल किसिमका रोग जहाँ ठूला एन्टिबायोटिक प्रयोग गर्नु पर्ने हुन्छ त्यसका लागि विज्ञहरुको कमिटी निर्माण गर्नुपर्छ । त्यस्तै हरेक अस्पतालमा एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) सर्विलेन्स गठन भएको हुनुपर्छ ।
सरकारद्धारा कडाइ नगर्ने परिपाटी
देशका सरकारी प्रशासकहरुले चुस्त दुरुस्त अवस्थामा नहुने नियमहरु लागु गर्न हुँदैन । यसबारे बेलाबेलामा अनुगमन गरेको पाइँदैन र एन्टिबायोटिकको बेचबिखनमा कडाइन नगर्ने, सरकारीस्तरबाट भरपर्दो अध्ययन र तथ्यांकहरु सार्वजनिक नगर्ने परिपाटी एन्टिबायोटिक रेजिसटेन्सलाई मल जल गर्नु सरह नै हो ।
एन्टिबायोटिक रेजिसटेन्सको प्रभाव
बालबालिकाहरू रेजिसटेन्स प्रतिरोधी ब्याक्टेरियाको संक्रमणको खतरामा बढी संवेदनशील हुन्छन् किनभने तिनीहरूको प्रतिरक्षा प्रणाली पूर्ण रूपमा विकसित हुँदैन । यसले रेसिस्टेन्ट निमोकोकल संक्रमण (निमोनिया, कानको संक्रमण, साइनस संक्रमण र मेनिन्जाइटिस), छालाको संक्रमण र क्षयरोग जस्ता गम्भीर संक्रमणहरू निम्त्याउन सक्छ ।
सामान्य एन्टिबायोटिकले केहि दिनमै निको हुने संक्रमणहरुको कारणले बालबालिकालाई धेरै दिन अस्पताल भर्ना हुनुपर्ने, निको हुन गाह्रो हुने वा कुनै जटिल नै संक्रमणमा एन्टिबायोटिकले काम नगरी मृत्यु समेत हुन सक्ने जोखिम बढाउँछ ।
एन्टिबायोटिक रेजिसटेन्सबाट बच्ने उपाय
अभिभावकले आफैँ जान्नेबुझ्ने भएर अनावश्यक एन्टिबायोटिक आफै किन्दै खान दिने बानी बन्द गर्नुपर्छ । डाक्टरले एन्टिबायोटिक लेखिदिएको अवस्थामा राम्रोसँग के को लागि ? किन ? दिनुपर्ने आधारहरु के के छन् ? एन्टिबायोटिक दिनुपर्ने भए सामान्य दिनुभएको छ कि ? एउटा मात्र हो कि जोडिएको २–३ एन्टिबायोटिक दिइरहनुभएको हो ? त्यसका नकारात्मक असरहरु के हुन सक्छन् ? अरु दिनुभएको औषधि र खाने कुरासँग त्यसको केहि सम्बन्ध छ वा छैन ? सँगै लिनुहुन्छ वा हुन्न ? भन्ने सल्लाह लिने बानी सुरु गर्नुहोस् ।
रुघाखोकी बिग्रिएर निमोनिया होला कि भन्ने डरले पहिले नै एन्टिबायोटिक खाने सल्लाह दिने साथीभाइको सल्लाह एउटा कानबाट सुन्ने र अर्को कानबाट निकाल्ने बानीले गर्दा राम्रो, डाक्टरको सल्लाह बिना एन्टिबायोटिक कहिले प्रयोग गर्न हुँदैन ।
औषधि पसलहरुमा जहिलेकहिले फर्मासिस्ट उपलब्ध रहनुपर्छ । उनीहरु औषधिका विज्ञ भएकाले बिरामीका अभिभावकलाई राम्रो सल्लाह सुझाव दिन सक्छन् । घाँटी दुख्दा अजिथ्रोमाइसिन र पखाला लाग्दा मेट्रोन दिने औषधि पसलेहरुलाई पढेलेखेको फर्मसिस्टहरुले विस्थापित गर्दै जानुपर्छ ।
डाक्टरहरु जिम्मेवार हुनुपर्छ । कतिपय डाक्टर आफ्नै बलाबालिका बिरामी भएपनि थाहा भएर पनि घरमा भनेकै मान्दैनन् भनेर आफ्नो बालबालिकालाई एन्टिबायोटिक दिने गर्छन् । आफ्नो बुबा आमा कराउनुभयो भनेर विरोध गर्न नसक्ने बालबालिकालाई नचाहिएको बेलामा पनि एन्टिबायोटिक दिनु एकदम गलत हो
। अस्पतालमा अरुको बालबालिकालाई समयको कमी वा आफ्नो व्यस्तताको कारणले मात्र अन्दाधुन्द एन्टिबायोटिक लेखिदिने बानीबाट कति डाक्टरहरु ग्रसित भएको पाइन्छ । त्यसले दीर्घकालीन पर्ने समस्याको बारेमा सचेत भई बिरामीको राम्रो जाँच गरी सबै आधारले एन्टिबायोटिक चलाउनुपर्ने देखिएमा मात्र सिफारिस गर्नुपर्छ । औषधि कम्पनिको विज्ञापन र प्रलोभनमा कोही हुनुहुन्छ र त्यहि कारणले धेरै एन्टिबायोटिक लेखिरहनुभएको छ भने अब सुध्रिन जरुरी छ । (डा. महेश गौतम प्याइप्सनका अध्यक्ष हुनुहुन्छ ।)