Logo
|
Thursday 25th April 2024
Logo

epaper

उफ ! मलाई रिंगटा लाग्यो

भिडियो नाइट्याग्मोग्राफीमा आँखाको नानीको मुभमेन्टहरु हेरेर टाउको वा कानको समस्या आइडेन्टिफाइ गरिने



डा. संज्ञा पौडेल, नाक, कान, घाँटी विशेषज्ञ, उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल

रिंगटाबारे हरेकको फरक सोचाइ रहेको पाइन्छ । यसमा तपाईं र तपाईंको वरपरको संसार घुमिरहेको जस्तो लाग्छ । कसैलाई पृथ्वी नै घुमेजस्तो लाग्छ । कतिपयलाई बसिरहेको बेला झुम्म हुन्छ । कोही धरमर भएर हिँड्न गाह्रो भएमा रिंगटा भनेर बुझ्छन् । कसैलाई बसेर जुरुक्क उठ्दा भनन्न घुमाएर समात्नुपर्ने अवस्था आउँछ । चिकित्सकीय भाषामा यसलाई भर्टाइगो भन्ने गरिन्छ । व्यक्तिलाई सन्तुलन नभएको अनुभूति हो । भर्टाइगो समस्या भएका बिरामीहरुलाई पृथ्वी हल्लिएजस्तो महसुस हुन्छ । भुइँचालो आएजस्तो लाग्छ ।

रिंगटालाई सामान्य रुपमा लिन हुँदैन किनभने यसले धेरै गाह्रो पार्नसक्छ । अवस्था अनुसार अपाङ्ग गराउनेदेखि ज्यान समेत लिनसक्छ ।

फिजियोलोजीकल कारण
टाउको, आँखा, कान, हाडजोर्नी, मांशपेशीमध्ये कुनै एकमा समस्या आएमा रिंगटा लाग्नसक्छ । मुटुको समस्याले पनि रिंगटा लाग्नसक्छ । यसको छुट्टै किसिमको लक्षण हुन्छ । कानको कारणले हुने रिंगटामा धेरै गाह्रो हुन्छ । तर बिरामी शारीरिक असक्षमतामा जाँदैन ।

लक्षण
तपाईंको टाउकाको स्थितिमा आएको परिवर्तनले प्रायः भर्टाइगो शुरु हुन्छ । चक्कर लाग्ने, सन्तुलन गुमाउने जस्ता समस्याहरूको सामना गर्न सक्छ । वर्टिगो अन्य अवस्थाहरूको लक्षण हुनसक्छ । सन्तुलनमा समस्या र चक्कर आउनसक्छ । वाकवाकी र उल्टी हुनसक्छ । टिन्निटस र कान सुन्निने समस्या हुनसक्छ ।

रिंगटाका प्रकार

भर्टाइगो सेन्ट्रल र पेरिफेरल गरी २ प्रकारका हुन्छन् । सेन्ट्रल भनेको टाउकोबाट असर गरेर भएको समस्या हो । पेरिफेरल भनेको आँखा, कान, मांसपेशीबाट भएको समस्या हो । भर्टाइगोमा ८० प्रतिशत फेरिफेरल कारण हुन्छ । यसमा पनि ८० प्रतिशत कानकै कारणले हुन्छ । २० प्रतिशत सेन्ट्रल कारणले हुन्छ । टाउकाको कारणले धेरै रिंगटा लागेमा स्ट्रोक हुनसक्छ । यस्तो अवस्थामा तुरुन्त उपचार नभएमा ज्यान जाने वा अपाङ्ग हुनसक्ने सम्भावना रहन्छ ।

कारण

वीपीपीः भर्टाइगो कानको भित्री समस्याको कारणले हुनसक्छ । भर्टाइगो गराउने बेनाइन पेरोक्सिज्मल पोजिशनल (बीपीपी) साना क्याल्सियम कणहरु (क्यानालिथ अर्थात ओटोकोनिया) सामान्य स्थानबाट विस्थापित भई भित्री कानमा जम्मा हुन्छन् । यसले शरीरको संकेतहरु मस्तिष्कमा पठाउन अवरोध गर्छ र रिंगटा लाग्छ । यो उमेर र कुनै अज्ञात कारणले पनि हुनसक्छ । वास्तवमा ओटोकोनियाले शरीरलाई सन्तुलनमा राख्न मद्धत गर्छ ।


मेनियर्स रोगः यो भित्री कानको विकार हो जुन तरल पदार्थको निर्माण र कानमा दवाव परिवर्तनका कारणले हुन्छ । यो समस्यामा कानमा घण्टी बज्ने (टिनिटस), श्रवण शक्तिमा ह्रास हुनका साथै चक्कर लाग्ने समस्या निम्त्याउन सक्छ ।


भेस्टिवुलर न्युराइटिसः यो एक भित्री कानको समस्या हो । जुन सामान्य तया भाइरल संक्रमणसँग सम्बन्धित छ । संक्रमणले भित्री कानको स्नायुको वरिपरि सुजन निम्त्याउँछ जुन शरीरलाई सन्तुलनमा राख्न मद्धतका लागि महत्वपूार्ण हुन्छ । यसका साथै टाउको वा घाँटीमा चोट, मस्तिष्कको समस्या जस्तोः स्ट्रोक वा ट्युमर, कानलाई क्षति पुर्याउने केही औषधि, माइग्रेनको टाउको दुखाइ आदि


अन्य कारणहरुमा भित्री कानको संक्रमण (ल्याबरिन्थाइटिस) ले पनि हुनसक्छ । यो भाइरल वा ब्याक्टेरियल दुवै कारणले हुनसक्छ । यस प्रकारको संक्रमणमा कानको श्रवण शक्ति पूर्ण रुपले जान्छ । सेन्ट्रल कारणअन्तर्गत भेस्टुवुलर माइग्रेनका कारण पनि रिंगटा लाग्नसक्छ । यस प्रकारको माइग्रेनमा बेलाबेलामा रिंगटा लाग्नसक्छ । तर श्रवणशक्ति जँदैन । रिंगटा लाग्नुमा भावनात्मक तथा शारीरिक उत्तेजनासँग पनि जोडिएको हुन्छ ।

डायग्नोसिस

पहिलो डायग्नोसिस बिरामीको क्लिनिकल मूल्याङ्कबाट नै हुन्छ । समय दिएर बिरामीको विगतको इतिहास सोध्नुपर्छ । यसमा पहिलोपटक कसरी रिंगटा लाग्यो ? त्यसपछि रोकियो कि लागिरहेको छ ? छिनछिनमा लाग्छ कि २—४ हप्ता वा एक महिना वा एक वर्षको अन्तरमा रिंगटा लाग्छ ? भनेर प्रश्न गर्नुपर्छ । यसरी बिरामीको कुरा सुनिसकेपछि करिब ७०—८० प्रतिशत समस्या पहिचान गर्न सहज हुन्छ ।

भिडियो नाइट्याग्मोग्राफी प्रविधि
कानको कारणले हुने रिंगटामा फिजियोलोजिकल टेष्ट गर्नुपर्छ । यसमा अत्याधुनिक भिडियो नाइट्याग्मोग्राफी परीक्षण गर्नुपर्छ । यस प्रविधिले रिंगटा लाग्नुको सही कारण पत्ता लगाउन मद्धत गर्छ । शारीरिक सन्तुलनका लागि टाउको, आँखा, कान, मांसपेशीका काराण रिंगटा लागेको अवस्थामा आँखामा मुभमेन्टहरु हुन्छ । रिंंगटा नलाग्नुको कारण हाम्रो भिज्युअल सेक्सन भन्छ कुनै पनि अव्जेक्टको भिजन हाम्रो आँखामा फोविया सेन्ट्रालिष्ट भन्ने ठाउँमा फिक्स्ड हुनुपर्छ । फोविया सेन्ट्रालिष्टमा फिक्स्ड भएन र त्यहाँबाट स्पेक भइरहेको छ भने रिंगटा लाग्ने हुन्छ । टाउको, कान, मांसपेशी आदि सबैको कोअर्डिनेसन भिज्युएल फिक्सेनमा हुन्छ । भिज्युएल फिक्सेसन नुहँदा रिंगटा लाग्छ ।

केहीगरी कान वा आँखामा डिफेक्ट भएर भिज्यएल फिक्सेसन नभएमा रिंगटा लाग्छ । भिडियो नाइट्याग्मोग्राफीमा आँखाको नानीको मुभमेन्टहरु हेरेर टाउको वा कानमा समस्या हो भनेर आइडेन्टिफाइ गर्न सक्छौं ।


(डा. संज्ञा विगत ६ वर्षदेखि उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्